सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा मंगलबार भव्य मेला लागेको छ । स्थानीय भाषामा ‘देहिजाँत’ को रुपमा मानिने सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा यस दिन भव्यताका साथ मेला लाग्ने गर्दछ ।
हरेक वर्ष कात्तिक शुक्लपूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ । रतेडी भनेको जात लाग्ने दिनको अघिल्लो रातलाई बुझाउँछ । सोमबार रतेडीका दिन साँझ देवी उग्रताराको पूजाअर्चना गरेर रातभर भक्तजनहरु जग्राम बस्ने गर्दछन् । उनीहरु मध्ये केहि रातभरि देवीको किर्तन भजन गरेर त केहि देउडा खेलेर रात विताउने गर्दछन् ।
‘निकै रमाइलो लागेको छ । हिजो रातभर रतेडीको आनन्द आज देउरो (देवता निकाल्नु)को आनन्द लिइरहेका छौं’ उग्रताराको मेला हेर्न धनगढीबाट डडेल्धुरा पुगेका दिपेन्द्र भट्टले रमाइलो मुद्रामा भने, ‘मेरो पूख्यौंली घर डडेल्धुरा हो । हरेक वर्ष यो मेला हेर्न यहाँ आउने गर्दछु ।’
देहिजाँतमा राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । सोमबार बेलुकादेखि शुरु भएको मेला मङगलबार बेलुकीसम्म लाग्नेछ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आइ दिउसेडी मेला शुरु हुने गरेको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।
देहिजाँतको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए । उनले कतिपय मनोकामन पुरा हुने विश्वासले, कतिपय रमाइलोका लागि उग्रतारा मन्दिर पुग्ने गरेको बताए ।
डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित उग्रतारा भगवती मन्दिर छ । ‘बिहान भगवती माताको पुजा गरिन्छ । त्यसपछि देउरो निकालिन्छ । जहाँ धामीझाँक्री अनेक प्रकारका रुपमा प्रदर्शन गर्दछन्’ डडेल्धुराकै महेन्द्र पन्तले भने ‘म यो मेलालाई छुटाउन सक्दिनँ । धामीहरुले अद्भूत शक्तिहरु प्रदर्शन गरेको हेर्न साह्रै रमाइलो लाग्छ ।’
उग्रतारा मेलामा हजारौंको संख्यामा दर्शनार्र्थीहरुको भीड लाग्ने गर्दछन् । धेरै संख्यामा भक्तजन मेला भर्न अघिल्लो रात नै डडेल्धुरा सदरमुकाम पुग्नेगर्छन् । उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष साँकीका अनुसार बिहानैबाटै विभिन्न जिल्लाका भक्तजनहरु आउने क्रम सुरु हुन्छ ।
किम्वदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातिका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो । रगतलाई आफूले खानाका रुपमा प्रयोग गर्न खोज्दा खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा कात्तिक शुक्लपूर्णिमाका दिन पूजा गर्ने र मेला लाग्ने परम्परा रहेको छ । उग्रतारा मन्दिर शुदुर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेलधुरादेखि चार किलोमिटर पश्चिमपट्टि पर्छ ।
यो डडेलधुरा–बैतडी राजमार्गको पश्चिम पट्टिको अग्लो र विशाल तथा रमणीय फाँटमा अवस्थित छ । यहाँ पुग्न एउटै मात्र बाटो छ, जहाँ उक्लेर जानु पर्दछ । यसलाई सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।





















प्रतिक्रिया