Logo

सम्पादकीय

मन्त्री फेरिए : विचौलियाको रजगज र भद्रगोल उही



केहि दिनदेखि कालीमाटी स्थित फलफूल तथा तरकारी बजारमा एउटा हल्ला फैलिएछ, ‘पहिलेका मन्त्रीभन्दा अहिलेका मन्त्री कति सजिला सजिला । बल्ल हाम्रै खुशीले बेच्न पाइएको छ ।’ विचौलियाबीचको यो भरोसाले तरकारी बिक्रेता र उपभोक्ता फेरि मारमा पर्ने संकेत देखाएको छ । निकै आलोचना र खरो टिप्पणीकारको परिचय बनाएका कृषिमन्त्री घनश्याम भुसालबाट बिचौलियाको यो आशाले तमाम कृषक र उपभोक्ता ठगिने भएका छन् ।

‘मन्त्री भुसाल अरुलाई विरोध गर्न मात्र सिपालु छन्, तर माखो मार्दैनन् । पाए आँफै खान्छन् ।’ यो भन्दै आएका भुसाल विरोधीहरुको आरोप कतै पुष्टि हुने त होइन, शंकाहरु बढ्दै गएका छन् । भुसाल मन्त्री भएको दुई साता पुग्यो । उनले केहि राम्रो गर्ने संकेत देखाएका छैनन् । अर्का मन्त्री लेखराज भट्ट पनि भुसालसँगै मन्त्री भएका हुन् । आपूर्ति मन्त्री भट्ट पनि विचौलियाकै चंगुलमा परेर घुसाखोरीहरुसँग मिलेको आरोप लाग्न थालेको छ । कृषि र आपूर्ति दुवै मन्त्रालयको समन्वयमा खाद्यान्न र कृषिजन्य सामग्रीको महंगी घट्न सक्छ । तर, केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि यी दुवै मन्त्रालय विचौलिया र कालावजारीको अखडा बनेका छन् । भुसाल र भट्टले यसैलाई निरन्तरता दिने संकेत देखाइसकेका छन् ।

यहि असोजदेखि अचाक्ली महंगी बढेको हो । दशैंअघि विचौलियाले मौका छोपेर तरकारीमा ३ सय प्रतिशतसम्म बढाएको महंगी अझै घटेको छैन । खाद्यान्नमा बढेको १ सय ५० प्रतिशत महंगी घटाउन आपुर्ति मन्त्रालय मौन छ । यहि महंगीको आरोप खेपेका अघिल्ला मन्त्रीहरुले सजिलै आफ्नो पद छोडिदिए । प्रधानमन्त्री ओलीले मन्त्रीको कार्यक्षमताको आधारमा उनिहरुलाई हटाएर भुसाल र भट्टलाई ल्याएका थिए । तर, अवस्था झन निराशाजनक देखिएको छ । हुन त पदवहाली भएको महिनादिन नपुग्दै यो आलोचना गर्नु बेकार हुन सक्ला । तर, पद्दति र प्रणालीको शुरुवात त पहिलो दिनबाटै कार्यान्वयन गर्न सक्नुपर्छ । ठूला निर्णय गर्न अध्ययन, जानकारी र तारतम्य मिलाउन समय लाग्छ । महंगीको मारमा परेका जनतालाई राहत दिन त एकैदिन पनि काफी हुन सक्छ भन्ने मन्त्रीहरुले बुझेनन् वा बुझ पचाए । यो गंभिर बिषय हो ।

चार वर्षअघि ओली पहिलोपटक प्रधानमन्त्री हुँदा यस्तै मंहगीले जनताको ढाड सेकिएको थियो । दोस्रो पटक ओली प्रधानमन्त्री हुँदा पनि उही शिलशिला दोहोरिएको छ । यसको मुख्य कारण विचौलिया र माफियाहरुको सोझै साँठगाँठ मन्त्रीहरुसँग हुनु हो । पहिले झैं अहिले पनि यिनै विचौलिया र माफिया मन्त्रीद्वय भुसाल र भट्टसँग मिलेको संकेत स्पष्ट देखिन थालेको छ । यदि यो साँचो हो भने ओली सरकार यिनै मन्त्रीहरुकै कारण फेरि आलोचनाको शिकार बन्ने निश्चित छ । बेलैमा यो कुरा प्रधानमन्त्रीले बुझ्न जरुरी छ ।

अर्का मन्त्री छन्, योगेश भट्टराई । रविन्द्र अघिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि योगेश चार महिनाअघि पर्यटनमन्त्री भएका थिए । भट्टराईको मन्त्रीमण्डलमा आगमनले धेरैलाई शंका उत्पन्न गराएको थियो । त्यो शंका धेरै नकारात्मक थियो । आखिर त्यो शंकालाई भट्टराई स्वंयले पुष्टि गरिदिएका छन् । पर्यटकका लागि नेपाल भ्रमण वर्ष २०२० शुरु हुन अब मात्र २६ दिन बाँकी छ । तर, मन्त्रालयबाट गर्नुपर्ने सामान्य तयारी शुन्य देखिन्छ । पर्यटन मन्त्रालयले देशका मुख्य शहरहरुका स्थानीय निकायसँग समन्वय गरेर केहि काम गर्न सकेको छैन । उपत्यकाकै हालत वेहाल छ ।

विमानस्थलबाट शहर पसेको पर्यटकले कहिल्यै नेपाल नफर्कने गरी सराप्ला जस्तो फोहोर, धुलो र धुँवाको सास्ती व्यहोर्दैछ । पर्यटन मन्त्रालयले अन्य मन्त्रालयसँग समन्वय गरेर तुरुन्तै भत्किएका सडक, फोहोरको व्यवस्थापन, भद्रगोल बजार र अव्यवस्थित सार्वजनिक सवारीका कामहरु गर्न सकेको छैन । मेलम्ची खानेपानी आयोजनाले दिनदिनै उपत्यकाका सडक फोरिरहेको छ । वनाउने छाँटकाँट केहि छैन । भ्रमण वर्ष आउन केहि दिन मात्र बाँकी छ । पर्यटक आएर बस्ने स्थान ठमेल नरक जस्तो धुलो र भद्रगोलले डम्पिङ साइट बनिरहेको छ । यसमा ध्यान नदिने यस्ता पर्यटन मन्त्रीबाट खै के आश गर्ने ?

भैरहवा र पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको काम कछुवा गतिमा छ । मन्त्री नै नभएपनि यस्ता निर्माणका कामहरु यहि गतिमा स्वत हुने थिए । पद नपाउँदा ठुला गफ गर्ने योगेश अहिले सबैभन्दा पंगु मन्त्री हुँदैछन् । पर्यटनमन्त्री भट्टराइकै कारण ओली सरकार फेरि पनि बद्नाम हुने स्पष्ट संकेत देखिएको छ ।

मन्त्रीत्रय भुसाल, भट्ट र भट्टराईकै कारण ओली सरकारले काम गर्न सक्ने अवस्था छैन । यी तिन ‘भ’ मन्त्रीहरु अहिले सबैभन्दा बढी असफल हुने संकेत मिलेको छ । तिनैजना मन्त्री कामचोर ठेकेदार, तरकारी खाद्यान्नका विचौलिया, माफियासँग मिलेका हुनाले प्रधानमन्त्री कार्यालयबाट सोझै हस्तक्षेपको आवस्यकता देखिएको हो । यदि प्रधानमन्त्रीबाट पनि यो कुरामा आँखा चिम्लियो भने वर्तमान सरकार पूर्ण असफल हुने अवस्यंभावी छ ।

‘रात बित्यो अग्राख पलायो’ भनेझैं महंगी बढाउने कृषि र आपुर्ति मन्त्रालयका भुसाल र भट्ट, ठेकेदारसँग मिलेर कमिसनमा रमाउने पर्यटनमन्त्री भट्टराईलाई छिटोभन्दा छिटो प्रधानमन्त्री कार्यालयबाट अन्तिम चेतावनी आवस्यक भइसकेको छ । नत्र, महिना दिन नपुग्दै विचौलियासँग मिलोमतो गर्ने मन्त्रीद्वय भुसाल र भट्ट अनि ठेकेदारसँग मिलेर जनताको पसिना खाने पर्यटनमन्त्री भट्टराईकै कारण सरकार असफल हुने निश्चित छ । अनि सरकारका लागि हुनेछ, ‘न रहे बाँस, न रहे मुरली ।’

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार ०५:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।