Logo

अर्थ

एउटै बोटको सुन्तला बेचेर २७ हजार आम्दानी



बांगलुङमा एउटा बोटमा फलेको सुन्तला विक्रिबाट किसानले २७ हजार रुपैया आम्दानी गरेका छन् ।

बागलुङ नगरपालिका-८ सिगानाका टोपबहादुर खड्काले ३९ वर्षअघि चार दिन लगाएर गुल्मी, भाडगाउँबाट ल्याएर रोपेको बोटमा यसपाली ४५० किलो सुन्तला फलेको हो ।

गाउँमा चलेको मूल्य अनुसार त्यही एउटै बोटले २७ हजार कमाएको खड्काले बताए ।

बजारसम्म आइपुग्दा सुन्तलाको मूल्य अझ बढ्छ । बगैँचाबाटै किन्दा भने प्रतिकिलो रु ५० देखि ६० सम्म पर्छ । “तीन–चार रोपनीको अन्नबालीलाई एउटै बोटको सुन्तलाले जित्यो” खड्काले भने, “यो वर्ष ३० प्रतिशतभन्दा बढीले सुन्तला उत्पादन बढेको अनुमान छ ।”

दुई वर्षअघि सोही बोटमा जम्मा ३०० किलो सुन्तला फलेको उनको भनाइ छ । “सुन्तला बाक्लो फल्यो, टेकै लगाएर अडाउनुप¥यो, केही बोटका त हाँगै भाँचिए”, खड्काल भने, रेखदेखमा पनि ध्यान दिएको थिए ।”

खड्काले २०३७ सालमा एक सय बिरुवाबाट व्यावसायिक सुन्तलाखेती शुरु गरेका थिए ।

उनको बगानमा अहिले नयाँ पुराना गरी २०० सुन्तलाका बोट छन् । सबै बोटमा गरी यो वर्ष चार टन सुन्तला फलेको खड्काले बताए ।

सुन्तलाबाट वार्षिक पाँच लाखसम्म कमाइ हुने गरेको उनले बताए ।

गाउँका झण्डै १५० किसान सुन्तलाखेतीमा लागेका छन् । यतिखेर सिगाना ‘सुन्तला गाउँ’ ले चिनिन थालेको छ ।

वडाअध्यक्ष राजन केसीका अनुसार सिगानामा झण्डै एक हजार रोपनीमा व्यावसायिक सुन्तलाखेती गरिएको छ ।

वडाले किसानलाई वर्षेनी निःशुल्करुपमा बिरुवा उपलब्ध गराउँदै आएको छ ।

वडास्तरीय कृषि समितिले यो वर्ष रु दुई करोड बराबरको सुन्तला निर्यात हुने आकलन गरेको छ । रासस

प्रकाशित मिति : २ पुष २०७६, बुधबार ०८:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।