Logo

प्रमुख समाचार

जसले मुखमा कलम राखेर स्नातक गरे



 

 

छोरालाई निकै महत्व दिने सुदूरपश्चिमेली समाज, जहाँ उनी जेठो सन्तानको रुपमा जन्मिएका थिए । घरमा जेठो सन्तानका रुपमा छोराको जन्म भएपछि छरछिमेकी, आफन्त, नातागोताका सबैजना बधाई दिन उनको घर आए । तर, उनको बुवाआमाको मुहारमा भने छोरा पाउनुको खुशी झल्किन सकेको थिएन् ।

उनी अर्थात नन्दराज भट्ट । विसं २०४५ सालमा बैतडीको सुर्नया गाउँपालिका –३, मा जन्मेका नन्दराज जन्मदै शारीरिक रुपमा अपांग जन्मे । उनका दुवै हातखुट्टा थिएनन् । शारीरिक रुपबाट कमजोर जन्मेका नन्दराज मानसिक रुपबाट निकै बलिया थिए । उनमा दृढ आत्म विस्वास थियो ।

उनले शारीरिक अपाङ्ता हुँदैमा मानिसको सफलताको रोकिन्छ भन्ने कुरा गलत प्रमाणीत गरेका छन् । उनी अहिले अपांगता भएका ब्यक्तिका लागि मात्रै होइन्, सपांग भएकाहरुका लागि पनि उदाहरण बनेका छन् । हातखुट्टा नभएर पनि उनले स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका छन् । अहिले उनि अपाङ्गता भएका व्यक्तिको हकअधिकारको क्षेत्रमा क्रियाशील छन् । उनकोे सक्रिय जीवनशैली हेर्दा लाग्छ उनमा कुनै पनि किसिमको शारीरिक अपाङ्गता छैन ।

‘म जन्मदा मेरा बाआमाका अनुहारमा सन्तान जन्मनुको कुनै खुशि थिएन अरे’ नन्दराजले भने ‘साथिभाइ र छरछिेमेकीका कुरा सुन्दा आमाबुबा चिन्तित बन्नुहुन्थ्यो ।’ नन्दराजका बुवाआमालाई छरछिमेकले यस्तो सन्तान पालेर के गर्छौ, ? बरु कहिँ लगेर जिउदै गाडि देउ भनि सुझाएको कुरा उनलाई अहिले सम्म स्मरण छ ।

उनी जन्मदै देखि शरीरमा हात र खुट्टाको कुहीनोसम्मको आकारमात्र थियो । जन्मिदा धेरैको हेयको पात्र बनेका तिनै नन्दराज अहिले धेरैका लागि प्रेरणा बनेका छन् । दुवै हातखुट्टा नभएर पनि उनले गरिरहेको संघर्ष र प्राप्त गरेको सफलता सबैका लागि अनुकरणीय छ ।

‘म जन्मेको केही दिनसम्म त गाउँमा अनौठो बालक जन्मियो भनेर हेर्नेहरुको घुइँचो नै लागेको थियो अरे । हेर्न आएकामध्ये अधिकांशले आमाबुवालाई पाल्न भन्दा मलाई फाल्न सुझाव दिए ।’ नन्दराज भने ‘बुवाआमाको मन हो, जे जस्तो जन्मेपनि आफ्नै सन्तान कसरी जिउदै मार्न सकुन ?’ बुवाआमाकै माया र सहयोगका कारण आफू यो अवस्थासम्म आइपुगेको उनी बताउँछन् ।

दवै हातखुट्टा नभएर पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल, अपाङ्गताको हक अधिकारका लागि क्रियाशीलता र अपाङ्गता भएका व्यक्तिमा जीवन उत्प्रेरणा जगाउने कार्यमा सक्रिय नन्दराजले सामाजिक रुपमा पनि आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

‘दुवै हातखुट्टा नहुदा शारीरिक कठीनाइ त थियो नै, संगै कतिपय आफन्त, साथीभाइले हेलाको दृष्टिले हेरिदिदा साह्रै मन दुख्थ्यो । तर मैले अपंगतालाई कहिले आफ्नो कमजोरी साबित हुन दिएन्’ नन्दराजले भने ‘मलाई धेरैले अपांग भनेर चिन्थेः म उनिहरुलाई आफ्नो वास्तविक परिचय दिन चाहन्थे त्यसैले मैले संघर्षको बाटो रोजे ।’ जिवनमा जति नै बाधा ब्यवधान आएपनि जीवनदेखि हार नमानेर अघि बढेको उनले बताए । बरु शारीरिक चुनौतिलाई स्वीकार गरी पढाइसंगसंगै अन्य कार्यहरुलाई पनि निरन्तरता दिएको उनले बताए ।

 

शारीरिक अपाङ्गताका कारण शुरुका वर्षहरुमा अध्ययनलाई अगाडि बढाउन उनलाई निकै समस्या भयो । उनले सम्झेर भने, ‘हातखुट्टा नहुँदा लेख्नमात्र होइन, विद्यालय जान र कक्षाकोठामा बस्न पनि समस्या थियो ।’ समाजले जे भने पनि परिवारले दिएको साथ उनका लागि बिर्सन नसकिने थियो । कमजोर आर्थिक अवस्थाका वावजुद पनि नन्दराजका बुवाआमाले उनलाई ३ कक्षासम्म घरमै अध्ययनको व्यवस्था गरे । त्यसपछि उनी बैतडीको विरेन्द्र उच्च माविमा भर्ना भए । उच्च माविसम्मको शिक्षा उनले त्यहीँबाट राम्रो अंक ल्याएर हासिल गरे ।

पहाडमा जन्मे हुर्केका उनलाई सानो छँदा पहाडका उकाली–ओराली गर्न सहज थिएन । ‘बुवाआमाले नै काँँधमा बोकेर विद्यालय पु¥याउने, ल्याउने काम गरेका थिए’ नन्दराज भावुक हुँदै भन्छन्, ‘बीरेन्द्र मावि बैतडिबाट राम्रो अंकमा एसएलसी उत्तीर्ण गरेपछि सबैभन्दा बढि खुशी बुवाआमा नै हुनुभएको थियो ।’
नन्दराजले भने, ‘सायद त्यहि दिन पहिलो थियो, जब मेरा बाआमाले मलाई छोरो भएकोमा गर्ब गर्नुभएको थियो ।’

तराईको बिद्यालय भर्ना र सपांग साथिभाईको साथः
उनि आमाबुवाकै अनुमतिलिई उच्च शिक्षा हासिल गर्नका लागि कैलाली झरे । समथर भौगोलिक बनावट र यातायातका साधनको सुगमताले तुलनात्मक रुपमा उनलाई तराईको बसाई सहज भयो । तर तराई झरेपछि शारीरिक अवस्थाका कारण उनको अध्ययनमा कठीनाइ आइप्यो । कैलाली धनगढीका नाम चलेका बिद्यालयहरुले पनि उनलाई शारीरिक अपाङ्गताकै कारण भर्ना दिन मानेनन् । धेरै बिद्यालयले अपाङ्गमैत्री भवन नभएको भन्दै भर्ना नै नलिई फिर्ता पठाएको कुरा उनलाई झल्झली सम्झना भैरहन्छ ।

निकै कोसिस पछि धनगढीकै एक जना समाजसेवी घनबहादुर शाहको मद्दतले उनले कैलाली बहुमुखी क्याम्पसमा भर्ना हुने अवसर पाए । भर्ना पाइसकेपछि पनि उनलाई त्यो नयाँ परिवेश र वातावरणमा आफ्नो अध्ययनलाई सहजै अगाडि बढाउन भने त्यति सहज भएन् । उनले आफ्नो विगत सम्झिदै भने ‘सबै सपाङ्ग विद्यार्थीको बिचमा म एक्लो अपाङ्ग थिएँ । कहिले काहिँ उनिहरु मलाई जिस्क्याए खुब रमाइलो गर्दथे । त्यतिबेला पनि मन साह्रै अमिलो हुन्थ्यो ।’

लेखनको थालनीः
हात र खुट्टा दुवै नभएका नन्दराज भट्टले लेखनको सुरुवात मुखबाट गरे । ‘मुखमा कलम च्यापेर लेख्दा सुरुमा घाँटी साह्रै दुख्थ्यो । त्यसपछि दुवै हातको कुहिना जोडेर लेख्न थालेँ ।’ उनले हँसिलो मुहार लाउँदै भने, ‘कक्षा ५सम्म पुग्दा मुख र खुट्टा दुबैले लेख्न सक्ने भएको थिए ।’ खुट्टाले लेख्दा कापी फोहोर हुन थालेपछि भने कुहिनाले लेख्ने प्रयास थालेको उनले बताए । उनी अहिले मुख, कुहिना र खुट्टा तीनै अङ्गको सहारा कलम चलाउन सक्छन् । यति मात्र होइन्, उनि हिँड्ने, लेख्ने, पढ्ने, मोबाइल चलाउने, आफ्नो दारी खरौने सम्मका काम अहिले आफै गर्न सक्छन् । ‘कहिले काहिँ श्रीमतीले सघाउछिन्, नत्र प्रायः आफ्नो काम म आफै गर्ने गर्छु’ नन्दराजले भने ।

समाजले अपांगतालाई गलत रुपमा बुझेको नन्दराज बताउछन् । उनि हात खुट्टा नहुनेहरु भन्दा हातखुट्टा भएर पनि केही गर्न नसक्नेहरु अपाङ्ग भएको बताउछन् । उनि भन्छन् ‘यो समाजले अपाङ्गताको सही अर्थ नबुझेकै कारण हामीहरुलाई गरिखान समस्या भएको हो ।’ जीवनमा सफल हुन देखावटि हातखुट्टा भन्दा काम गर्ने दृढ इच्छाशक्ति र संकल्प हुन जरुरी छ भन्ने कुरा नन्दराजले प्रमाणित गरेका छन् ।

‘म जन्मदा मेरा आमाबुवालाई अपाङ्ग छोरा पालेर के गर्छौ, कहि लगेर फालिदेउ भन्नेहरु हिजोआज मेरो प्रशंसा गर्न थालेका छन् । मेरो सफलता पनि यहि हो ।’ नन्दराजले प्रसन्न हुँदै भने ‘पहिले म गाउँ जाँदा अनौठो गरि हेर्नेहरु अहिले मलाई भेट्न आउ“छन् र मेरा आमाबुवालाई भन्छन्, छोरा होस त तिम्रोजस्तो ।’

कम्युटरमा पनि डिप्लोमा कोर्स पूरा गरिसकेका उनी ओठ र नाकको सहायताले मोबाइल र कम्प्युटर पनि सजिलैसँग चलाउँछन् । बिसं २०७१ सालमा प्रेम विवाह बन्धनमा बाँधिएका नन्दराजकी एउटी छोरी छिन् ।

उनी अहिले अपाङ्गता भएका व्यक्तिलाई सामाजिक समायोजन गराउने काममा सक्रिय छन् । दुई महिना अघि देखि अपांगता सामाजिक समायोजनका क्षेत्रमा उनले एउटा अनुसन्धान अध्ययन सुरु गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक समायोजनको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) द्धारा ‘राष्ट्रिय स्वयंसेवक अवार्ड २०१६’ बाट उनी सम्मानित पनि भएका थिए । नेपाली साहित्यका विद्यार्थी उनी कहिले काँहि जीवनका भोगाइहरुलाई शब्दहरुमा उतार्ने कोशिस गर्ने गरेको बताउछन् ।

एक रातः
एक रात जुन रातमा जुनकिरी डुल्दै थिए
सुनसान निलो आकाशमा तारा पिलपिल खुल्दै थिए
त्यो बेलाको सेरोफेरो बिशुद्ध मजाको आभाष थियो ।
कुनै एउटा परि आइ, अनायसै कानमा आवाज दियो ।।

टुहुरो बालक
एउटा टुहुरो बालक आइरहेछ
आमाको न्यानो काख खोजिरहेछ ।
एक दाम खान उस्ले मागिरहेछ,
कोमल हृदयले स्वा स्वाँ गर्दै रोइरहेछ ।।
सडकका महिलाहरु उस्ले आमा सोचिरहेछ
अन्धकार रातमा चिसोले उस्लाई घोचिरहेछ ।

कहिलेकाँही समयसामयिक विषयमा पनि कलम चलाउने भट्ट अपाङ्गताको सवाललाई समेटेर लेखरचनाहरु पनि लेख्ने गर्छन् । उनले ‘बेलाको बोली’ विचार संग्रह प्रकाशन पनि गरिसकेका छन् । अहिले आफ्नै जीवन चरितार्थ पुस्तक प्रकाशित गर्ने तयारीमा रहेको उनी बताउछन् । ‘हातले, मुखले र खुट्टाले लेखेर आफ्नो जीवन कथा अन्त्य तिर पुर्याइसकेको छु । छिटै प्रकाशित गर्ने सोच छ’ उनले भने । अपाङ्ग भएकोमा कुनै अपसोच र दुख आफूलाई नरहेको उनको भनाइ छ । नन्दराज भन्छन ‘म शारीरिक रुपमा अपाङ्ग जन्मे भनेर मलाई कहिल्यै पिडा समसुस भएन् । बरु गर्व हुन्छ, म भित्र साङ्ग व्यक्तिमा भन्दा धेरै सामथ्र्य र अघि बढ्ने चाहना छ ।’

प्रकाशित मिति : ६ पुष २०७६, आईतवार १२:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।