अन्ततः हेटौंडा नै प्रदेश ३ को स्थायी राजधानी हुने भएको छ । बलियो दुईतिहाइ रहेको सत्तारुढ नेकपासहित मुख्य दल राजधानी हेटौंडा र नाम बागमती बनाउन एकमत भएका छन् । राजधानीलाई लिएर नेकपाका प्रदेश सांसदहरूमा तीव्र मतभेद थियो । प्रदेश ३ संसदीय दल बैठक शुक्रबार हेटौंडाका विषयमा सहमतिमा पुगेको हो ।
त्यस्तै, प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार दल राजधानी हेटौंडा बनाउन एकै ठाउँ उभिएका छन् । मुख्यन्त्री निवासमा शुक्रबार राति भएको सर्वदलीय बैठकमा नेकपा, कांग्रेस, राप्रपा र राप्रपा संयुक्त उक्त निचोडमा पुगेका हुन् । बागमती नाम राख्न भने सबै दल सहमत छन् । नेमकिपाका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले स्थायी राजधानीबारे आफूहरू सकारात्मक रहे पनि निर्णय शनिबार बिहान मात्र दिने बताए । साझा विवेकशीलका प्रदेशसभा सदस्य रमेश पौडेलले पनि शनिबार बिहान मात्र आधिकारिक धारणा दिने बताए ।
बैठकमा नेकपा प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्षी कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ, नेकपा नेता शालिकराम जम्कट्टेल, दीपक निरौला, नेमकिपाका गोसाईं, विवेकशील साझाका पौडेल, राप्रपाकी रीता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ सहभागी थिए । प्रदेशसभामा १ सय १० सदस्यमध्ये नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका १, राप्रपा संयुक्तका १ र १ स्वतन्त्र छन् । अन्न्पूर्ण पोस्टबाट




















प्रतिक्रिया