Logo

अनलाइनपाना खोज

हत्या आरोपितलाई सभामुख नबनाउन भन्दै प्रदर्शन



१६ बैशाख २०६२ मा काभ्रेको छत्रेबाँझ स्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामाको अपहरण पछि हत्या गर्न निर्देशन दिएको आरोप लागेको नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन नहुने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

कर्तव्य ज्यान मुद्दाको गम्भीर आरोप खेपिरहेका व्यक्तिलाई सभामुख जस्तो गरिमामय पदमा नियुक्त गर्न लागेको भन्दै सत्तारूढ नेकपा र सापकोटा विरुद्ध नागरिक अगुवाहरुले नारावाजी समेत गरेका थिए ।

मानवअधिकार र कानुनी शासनको सम्मान गर, पीडितलाई थप अपहेलित र अपमानित नगर, हत्याको घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ जस्ता नारा प्रदर्शनकारीले लगाएक थिए ।

१६ बैशाख २०६२ मा अपहरणमा परेका लामालाई दुई महिनापछि काभ्रेकै बूढाखानी गाविसको चारकिल्लामा गाडेको अवस्थामा शव फेला परेको थियो । घटनामा तत्कालीन माओवादी नेताहरू अग्निप्रसाद सापकोटा, सुर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानको संलग्नता रहेको भन्दै लामाकी श्रीमती पुर्णिामाया लामाले जिल्ला प्रहरी कार्यलय काभ्रेमा किटानी जाहेरी दिएकी थिइन ।

सापकोटा प्रतिवादी रहेको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजाजतमा विचाराधीन अवस्थामा रहेको छ । फौजदारी अभियोगमा सुनुवाइ चलिरहेका व्यक्तिलाई सभामुख चयन गर्न खोज्नु लोकतान्त्रिक व्यवस्था प्रतिकै उपहास भएको जानकारहरुको भनाइ छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार १८:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।