चीनमा कोरोनाभाइरसको महामारीबाट एक सयभन्दा बढीको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउेको संख्या एक सय ६ जना पुगेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
उक्त भाइरसबाट एक हजार तीन सय नयाँ संक्रमित फेला परेको बताइएको छ । गत वर्षको अन्त्यमा हुबेई प्रान्तमा देखिएको कोरोनाभाइरस फैलिने क्रम अझै जारी रहेको अधिकारीहरुको भनाइ छ ।
चिनियाँ सरकारले हुबेईका सहरहरुलाई नै ‘सील’ गरेर भाइरसको उपचार गर्ने प्रयास गरिरहेको छ । यसले गर्दा ५ करोड नागरिक बाहिरी विश्वको सम्पर्कबाट टाढा रहेका छन् ।
हुबेईमा रहेको स्वास्थ्य आयोगले त्यहाँ थप २४ जनाको मृत्यु भएको जानकारी दिँदै थप १२ सय ९१ जनामा यसको संक्रमण देखिएको जानकारी दिएको छ । योसँगै देशभर यस भाइरसबाट संक्रमित हुनेको संख्या चार हजारभन्दा बढीमा पुगेको छ ।
संक्रमणको केन्द्र मानिएको उहानमा रहेको अमेरिकी कन्सुलेटबाट अमेरिकाले आफ्ना अधिकारीहरुलाई फिर्ता लैजाने तयारी गरेको छ । जापान, मंगोलिया र फ्रान्सलगायत अन्य देशका सरकारले पनि आफ्ना कुटनीतिक नियोगका अधिकारीलाई फिर्ता लिने तयारी गरेको छ । चीनले नयाँ वर्षको छुट्टी आइतबारसम्मलाई थप गरेको छ ।





















प्रतिक्रिया