Logo

प्रदेश

राष्ट्रियसभा सदस्य बन्न २ करोड ५० लाख घुस राजपालाई बुझाएको खुलासा



गत माघ ९ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा राष्ट्रियसभा सदस्य हुन २ करोड ५० लाख रुपैयाँ घुस बुझाएको खुलासा भएको छ । सञ्चारमाध्यममा सार्वजनिक भएको एक अडियो अनुसार प्रदेश २ बाट राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार बनेका शेखर कुमार सिंहले २ करोड ५० लाख रुपैयाँ बुझाएर सांसद बनेको खुलासा भएको हो ।

अडियो टेपमा सुरजित सिंह र ज्योति झाबीचको संवाद सार्वजनिक भएको हो । राष्ट्रियसभा सदस्य बन्न शेखर कुमार सिंहले पार्टीलाई पैसा बुझाएको कुरा सुरजीत सिंह र झाले गरेका छन् । २ करोड ५० लाख बुझाएर राष्ट्रियसभा सदस्य बनेका शेखर सिंह र सुरजीत सिंहको पारिवारिक हैसियत समान रहेपनि उनिहरूबिच तिक्ततापूर्ण सम्बन्ध रहेको बताइन्छ ।

उनिहरू बिच कुराकानी भैरहँदा पूर्व रक्षा सचीव तिलकराम शर्मा पनि मिसिएका छन् । उनिहरूको कुराकानीको आधारमा पूर्व रक्षा सचीव शर्माले शेखर कुमार सिंहलाई राष्ट्रियसभा सदस्य बन्न २ करोड ५० लाखको व्यवस्था गरेको प्रष्ट हुन्छ । उक्त कुरा स्वयं शर्माले नै अडियोमा बताएका छन् । ज्योति झा भने पूर्व सचीव शर्माको रकम उठाइदिन तत्पर देखिन्छन् । पूर्व सचीव मार्फत आफन्तको पैसा फसेकोले आफू अग्रसर हुनुपरेको उनको भनाइ छ ।

मधेसवादी दलका नेताहरूलाई योग्य नेता तथा कार्यकर्तालाई पाखा लगाएर पैसावालालाई टिकट बेच्ने गरेको आरोप लाग्ने गरेको छ । अहिले सार्वजनिक भएको अडियोले पनि उक्त कुरा पुष्टि हुन्छ । पार्टीले राष्ट्रियसभा उम्मेदवार तय गर्दा नै टिकट बेच्ने योजना बनाएको स्रोतको दावी छ ।

अडियो टेप प्रकरणमा शरदसिंह भण्डारी, राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झालाई सम्बोधन गरेर कुराकानी गरिएको छ । स्रोतको दाबी अनुसार पूर्व सचिव शर्मा अर्का राजपा नेता शरदसिंह भण्डारी निकट हुन् ।

राजपाका शेखर कुमार सिंहले ५५०२ मत ल्याएर २ नं प्रदेशवाट राष्ट्रिय सभा सदस्यमा विजय हासिल गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला पजियारले ४५१२ मत ल्याएका थिए । प्रदेश नम्बर २ मा नेकपा र राजपाको गठबन्धन रहेको थियो ।

यो सामाग्री केन्द्रबिन्दु डटकम बाट लिइएको हो

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार १३:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।