Logo

समाचार

‘काठमाडौ प्रेस’ न्युज पोर्टल ह्याक गरेको असगर अलिकै कम्पनीद्वारा स्वीकार



‘काठमाडौ प्रेस’ न्युज पोर्टलको सिस्टममा अनधिकृत रूपमा प्रवेश गरेर कन्टेट ह्याक गरेको सिरान टेक्नोलोजीले आफूबाट गल्ती भएको स्वीकार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार असगर अलिको निर्देशनमा उनका प्राविधिकहरूले न्युज पोर्टलको नयाँ एड्मिन सिर्जना गरेको समेत सार्वजनिक भएको छ ।

सोही आइडिबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र उनका छोरासँग सम्बन्धित समाचार डिलिट गरिएको थियो ।

उक्त समाचारमा प्रधानमन्त्री ओलीका आइटी सल्लाहकार तथा ई-सेवाका सिईओ अलीको नाम जोडिएको छ । सार्वजनिक रूपमा चौतर्फी दबाब भएपछि सिरान टेक्नोलोजीले गल्ती स्वीकार गरेको हो ।

काठमाडौ प्रेसका सम्पादक र सिरान टेक्नोलोजिजको व्यवस्थापनबीच संवाद चलिरहेको वेला गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टिमले न्युज पोर्टलबाट सो समाचार हटाएको छानबिनको क्रममा पाइयो,’ सिरान टेक्नोलोजिजद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एउटा जिम्मेवार कम्पनीका रूपमा हामी हाम्रो त्रुटिलाई स्वीकार गर्दै हामी काठमाण्डू प्रेस, सम्पूर्ण प्रेस जगत् र हाम्रो शुभचिन्तकसँग क्षमायाचना गर्दछौँ । साथै, यस्ता किसिमका त्रुटि दोहोरिन नदिन हामी नियन्त्रणका उपायलाई बलियो बनाउँदै पूर्वाधारलगायतका संयन्त्र निर्माण गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।’

अनधिकृत रूपमा अर्काको सिस्टममा छिरेर डाटा म्यानुपुलेट गर्ने कामलाई ह्याकिङ भनिन्छ । यस्तो साइबर अपराधमा संलग्नलाई दण्डित गर्ने कानुनी प्रावधान छ । तर, प्रधानमन्त्रीले आफ्ना आइटी सल्लाहकारलाई संरक्षण गर्छन् कि कानुनी कारबाही गर्छन् ? समाजले अवलोकन गरिरहेको छ । जब कि यही देशमा फेसबुकमा कमेन्ट लेख्नेलाई जेल पठाउने गरिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार १०:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।