Logo

स्वास्थ्य

बाग्लुङकी अर्की एक महिलाको कोरोना पोजेटिभ देखियो



बाग्लुङ काठेखोला गाउँपालिकाकी एक महिलाको र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा नतिजा पोजेटिभ देखिएको छ ।

उनका कान्छो छोराले आमाको र्‍यापिड टेस्ट गर्दा नतिजा पोजेटिभ आएको र थप परीक्षण गर्न सल्लाह भइरहेको जानकारी दिए ।

‘स्वास्थ्यकर्मीले पोजेटिभ देखिएको छ, तर फेरि परीक्षण गरेर हेर्नुपर्छ भन्नुभएको छ,’ उनले भने ।

आइतबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्नलाई स्वास्थ्यकर्मीको टोली काठखोला गाउँपालिका पुगेको थियो । आमा र दाजुभाउजू पनि एक महिनाअघि भारत तीर्थ गएर आएकाले परीक्षण गराउन पुगेको उनले बताए ।

उनले आमाको नतिजा पोजेटिभ देखिएपछि कर्मचारीले देखाएको स्वभाव ठीक नभएको भन्दै गुनासो पोखे ।

‘आमाको त्यस्तो नतिजा आएपछि त्यहाँ रहेका १० जना जति कर्मचारी छिटोछिटो काम सकेर जानुभो । कम्तिमा हामीलाई केही सम्झाएर जानुभएको भए हुन्थ्यो नी’ छोराले भने ‘अहिले आमाले कमजोर महसुस गरिराख्नु भएको छ ।’

अन्तिममा दुईजना स्वास्थ्यकर्मीले नतिजाबारे सम्झाएको र गाउँपालिका निकायसँग सहकार्य गर्न सुझाएको बताए। ‘उहाँहरुले नै वडाअध्यक्ष र गाउँपालिका अध्यक्षसँग सहकार्य गर्नुपर्छ भनेर आँट दिनुभो,’ उनले भने ।

र्‍यापिड टेस्ट गर्ने कर्मचारीलाई कम्तिमा आवश्यक तालिम र ज्ञान दिएर पठाउँदा विरामी वा सेवाग्राहीलाई सहज हुने उनी बताउँछन्। आमामा ज्वरो वा रुघाखोकी कुनै पनि लक्षण नरहेको उनले बताए,‘अहिले वडाअध्यक्ष र स्वास्थ्यकर्मीको टोली आउनुभएको छ । के गर्ने भन्ने सरसल्लाह हुँदैछ,’ उनले भने ।

काठखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले महिलालाई वडामै रहेको क्वारेन्टिनमा राख्ने तयारी भइरहेको जानकारी दिए । उनले गाउँपालिकामा विदेशबाट आएका ५७ जनाकै परीक्षण गरेको बताए । महिलाबाहेक बाँकीको भने नतिजा नेगेटिभ आएको छ ।

बाग्लुङ स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले भने महिलाको स्वाब पुन परीक्षणको लागि भोलि पोखरा पठाइने जानकारी दिए। सरकारले चीनबाट ल्याएको र्‍यापिड डाइग्नोस्टिक किटबाट सबै जिल्लामा एन्टिबडी जाँच गरिरहेको छ । यो जाँचले कोरोनाविरुद्ध लड्ने तत्व शरीरमा विकास भयो, भएन भनेर पत्ता लाग्छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आईतवार २१:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।