Logo

विचार / ब्लग

कोरोना भाइरसले अर्थतन्त्रमा पार्ने प्रभाव



विश्वभर कोरोनाको प्रभावबाट अब कुनै पनि राष्ट्र बच्नसक्ने स्थिति छैन। यो विश्वव्यापी खतराले सबैमा आर्थिक अनिश्चितता सिर्जना गरिसकेको छ। मानिसहरु चिन्तित छन्, किनकि यस घातक भाइरसबारे धेरै थाहा छैन । आर्थिक नतिजा कति गहिरो र व्यापक हुनेछ भन्ने केवल अनुमान लगाउन मात्र सकिन्छ । स्वास्थ्य क्षेत्रभन्दा पनि यसको भयानक प्रभाव अर्थतन्त्रमा पर्ने देखिन्छ ।

विकसित देशहरु आफ्नो नागरिकको रोजीरोटी ग्यारेन्टी गर्दै पैसा दिएर घरमा बस्न आग्रह गर्दै छन् । कति देशमा व्यवसाय र रोजगारी यथास्थितिमा कायम गराउँदै विभिन्न देशका सरकारले विभिन्न सहुलियत प्याकेज दिएका छन् । नेपालमा कोरोनाको प्रभाव व्यापक नदेखिए पनि विश्वभर फैलिँदो संक्रमण र बढिरहेको मृत्युदरले व्यापक चिन्ता बढाएको छ । कोरोना भाइरसको प्रकोपका कारण नेपालले अचानक ठूलो आर्थिक क्षति व्यहोर्ने पक्का छ ।

एसियाली विकास बैंकको विश्लेषणअनुसार यस घातक रोगको प्रकोपले नेपाली अर्थतन्त्रको प्रायः सबै क्षेत्रहरूमा असर पार्नेछ। कुल गार्हस्थ्य उत्पादनमा १३ प्रतिशत ह्रास आउने उसको प्रक्षेपण छ । अर्थतन्त्रलाई गतिशील बनाउन र देशको समृद्धिमा सहयोग पु¥याएको पर्यटन क्षेत्र अहिले ठप्पप्रायः छ । सबैभन्दा धेरै प्रत्यक्ष रोजगारी सिर्जना गरेको नेपालको पर्यटन उद्योग धराशायी भएको छ ।तत्काल उठ्ने त के ब्युँतिने सम्भावना पनि छैन । कोरोनाको प्रभाव पर्यटन क्षेत्रमा मात्र नभई, व्यापार, उत्पादन, आपूर्ति र स्वास्थ्यजस्ता क्षेत्रहरूमा उलेख्य रुपमा सतहमा देखिसकिएको छ । खासगरी सम्पूर्ण सेवा सेक्टरका सेवा उद्योगहरूस् पर्यटन, उड्डयन र आतिथ्य क्षेत्र प्रकोपबाट धेरै प्रभावित छ।

जनवरी २०२० मा नेपाल भ्रमण सुरु भएपछि देशले २० लाख आगन्तुकहरूलाई आकर्षित गर्ने आशा गरिए पनि कोरोना महामारीको कारण यो अभियान रद्द भयो । अब कहिल्यै पर्यटन वर्ष नहुने देखिएको छ । पर्यटक आगमन केही महिना त लगभग शून्यमा झर्ने पक्का छ । कोभिड १९ को प्रकोप हुनुअघि सबैभन्दा ठूलो करिब ७ प्रतिशत रोजगारी दिइरहेको पर्यटन क्षेत्र बन्द भएसँगै यसमा आधारित अन्य व्यवसाय र उद्योगहरु पनि चपेटामा परिसकेका छन् ।

सगरमाथा आरोहणसहित सबै पर्वतारोहण सम्बन्धित अभियानहरू रद्द हुँदा ट्रेकिङ, होटेल, रेस्टुरेन्टलगायतका क्षेत्रले हजारौँ रोजगारी गुमाएको अवस्था छ । यसको प्रकोपले निजी जीवन र निजी क्षेत्रहरूमा पनि असर पारेको छ । कोरोनाभाइरसले पर्यटक मन्दीका कारण बैंकहरूले आतिथ्य र उड्डयनमा लगानी गुमाइरहेका छन्। यो मात्र होइन, प्रभाव निर्माण उद्योगहरूमा पनि देखिन्छ । औषधि रसायनलगायत अधिकांश कच्चा पदार्थहरू चीनबाट आएकाले यी कच्चा पदार्थहरूको आपूर्तिमा ठूलो ह्रास आएको छ ।

वैदेशिक रोजगारीले नेपालको बेरोजगारीका समस्याहरूलाई सम्बोधन गरेको छैन तर रेमिट्यान्सको रूपमा पनि देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ । सन् २०१९ मा रेमिट्यान्सले देशको जीडीपीमा २६ प्रतिशत योगदान पु¥यायो । भाइरसको बढ्दो दरले रेमिट्यान्स प्रवाह र सरकारी राजस्व संकलनमा असर पारेको छ किनकि बाहिरी श्रमका लागि आकर्षण गर्ने अधिकांश गन्तव्य मुलुक आफैँ लकडाउनको चपेटामा छन् ।

वर्तमान स्थितिमा, रेमिट्यान्समा कोरोनाभाइरसको प्रभाव विनाशकारी छ । रेमिट्यान्सको मन्दीले मुलुकको समग्र उपभोगमा गम्भीर प्रभाव पार्ने देखिन्छ । कृषिपछिको रिटेल क्षेत्र नेपालको अर्थतन्त्रमा दोस्रो ठूलो योगदानकर्ता हो । यस क्षेत्रले अर्थ व्यवस्थामा झण्डै १५ प्रतिशत योगदान पु¥याएको छ । कोरोना रोगको प्रकोपसँगै यो क्षेत्रमा पनि ठूलो ह्रास आउने देखिन्छ । फलतः उत्पादनलाई समेत ठूलो असर पर्नेछ ।

समग्रमा, यस विषम परिस्थितिबाट बच्न नेपालजस्तो अविकसित देशको लागि निकै चुनौतीपूर्ण देखिन्छ । नेपाल सरकारले समस्याको जटिलतालाई सक्दो हैसियतमा रहेर निर्णायक सम्बोधन गर्नु आवश्यक छ । जनधन र रोजगारीको सुरक्षा नै अर्थतन्त्रलाई यथास्थितिमा छिटो फर्काउने संयन्त्र हो भन्ने बुझ्नु जरुरी छ । सिलवाल युवा उद्यमी हुन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार ०७:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।