रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला अदालतमा जारी थुनछेक बहस सकिएको छ । न्यायाधीशले बुधबार साँझसम्म थुनछेक आदेश गर्न सक्ने सम्भावना छ ।
रुकुम पश्चिम जिल्ला सरकारी वकिल कार्यालयले केही समय अघि मात्र दुवै पक्षको बहस सकिएको जानकारी दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार पीडितको तर्फबाट २५ जना र प्रतिवादीको तर्फबाट ७ जनाले बहस गरेका छन् । थुनछेक बहस शुक्रबारदेखि सुरु भएको थियो । सोमबारसम्म पिडितका कानुन व्यवशायीले बहस गरेका थिए । न्यायाधिशले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने र साधारण तारेखमा छाड्नेमध्ये आदेश गर्न सक्नेछन् ।
सरकारी वकिल कार्यालयले ३४ जनाविरुद्ध कर्तव्य ज्यानलगायत मुद्धामा अभियोग पत्र दर्ता गरेको छ । प्रतिवादीमध्ये २९ जना पक्राउ परेका थिए भने पाँच जना फरार छन् ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा उपल्लो जातकी प्रेमिका लिन जेठ १० गते गाउँका १९ युवा लिएर पुगेका नवराज विकलाई गाँउलेले लखेटेका थिए । नवराजसहित ६ जनाको शव भेरी नदिमा भेटिएको थियो । सोतीका गाउँलेले कुटेर भेरी नदीमा फ्याँकेको प्रहरी अनुसन्धान प्रतिबेदनमा उल्लेख छ ।
प्रहरीले नवराजकी प्रेमिका भनिएकी युवती, उसका बाआमा र दाई, वडाध्यक्षसहितलाई पक्राउ गरेको थियो । उनिहरु सबैलाई प्रतिवादी बनाएर अभियोग पत्र दर्ता भएको छ ।




















प्रतिक्रिया