Logo

कर्पोरेट फोकस

नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क कार्यान्वयनमा, पहिलो चरणमा १२ कम्पनीलाई इजाजत



नेपाली अर्थोडक्स चियाले आफ्नै ट्रेडमार्क लोगो कार्यान्वयनमा आएको छ । चिया तथा कफी विकास बोर्डले आजदेखि नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो । 

लोगोसहितको ट्रेडमार्कका लागि आवेदन दिएका ४२ चिया उत्पादक कम्पनी आवेदन दिएका थिए । सोहीमध्ये १२ वटाले पहिलो चरणमा उक्त ट्रेडमार्क प्रयोगको इजाजत पाएका हुन्।

इलामका गोर्खा टि स्टेट, हिमालयन सांग्रिला टि प्रोड्युसर्स प्रालि, जस्बिरे टि स्टेट, नेपाल स्मल टि, ओएएचआईएस टि स्टेट, तारागाउँ टि स्टेट, उच्च पहाडी चिया सहकारी र साखेजुङ टि स्टेट लगायत १२ उद्योगले उक्त ट्रेडमार्क प्रयोगको अनुमति पाएका छन् । उक्त टे«डमार्क २०७४ चैतमा सार्वजनिक गरिएको थियो ।

नेपाली चिया बजारमा पठाउँदा अबदेखि ‘नेपाल टि क्वालिटी फ्रम दि हिमालयज’ नामको नेपाली लोगो टाँस हुनेछ । ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ निर्देशिकाले तय गरेको मापदण्ड पूरा गरेका उद्योगलाई मात्र लोगो हस्तान्तरण गरिने बोर्डले जानकारी दिएको छ । उक्त लोगो प्रयोगका लागि उद्योग र व्यवसायीलाई शर्त समेत राखिएको छ । व्यवसायीले उत्पादन गरेको चियाको परिमाण, हरियो पत्ती र तयारी चियाका परिमाण बोर्डलाई देखाउनुपर्नेछ । कुन व्यवसायीले कति चिया निकासी गरे भन्ने सबै तथ्यांक बोर्डमा रहनेछ ।

निर्देशिकाले लोगो कार्यान्वयनका सन्दर्भमा एउटा समिति गठनको व्यवस्था गरेको छ ।
उक्त निर्देशिकामा भएका विषय र आचारसंहितालाई उल्लंघन गरे दिएको लोगो खोस्न पनि सकिने बोर्डले बताएको छ । लोगो प्रयोग गरेबापत व्यवसायीले प्रतिकिलो ५० पैसा बोर्डमा जम्मा गर्नुपर्ने छ । बोर्डका अनुसार इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुमसहित १४ जिल्लामा ८ हजार ८३८ हेक्टरमा चियाखेती हुँदै आएको छ ।

प्रकाशित : ६ आश्विन २०७७, मंगलबार