नेकपा एमाले विभाजन भएर नेकपा एकिकृत समाजवादी बनेपनि आफुलाई असर नपर्ने बताउँदै आएकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्ठलक्ष्मी शाक्यको सरकार अल्पमतमा परेको छ । माधव कुमार नेपालकै सहमतिमा मुख्यमन्त्री बनेको सार्वजनिक अभिव्यक्ति दिएकी शाक्यले ३ सदस्यीय मन्त्रिपरिषदलाई अझै विस्तार गर्न सकेकी छैनन् ।
यसैबीच सामाजिक विकासमन्त्री रहेका कृष्ण खनाल शर्माले राजीनामा दिएपछि शाक्यलाई झन् समस्या थपिएको छ । खनालको राजिनामाले प्रदेश सरकार दुई सदस्यीयमा सीमित भएको छ । उनी एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् ।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय केशवराज पाण्डेले सम्हालेका छन् भने अन्य सबै मन्त्रालय मुख्यमन्त्री शाक्य मातहत नै छ ।
यस्तो परिवेषमा मुख्यमन्त्री शाक्यले के गर्लिन भन्ने सर्वत्र चासोको विषय बनेको छ । उनले आफ्नो सरकार जोगाउन एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल देखि आफ्नै पार्टी अध्यक्ष केपी ओलीलाईसमेत हारगुहार गरिरहेकी छन् । अन्तिम समयमा मुख्यमन्त्री बनाइएपछि सरकार जोगाउने जिम्मा पनि पार्टीले लिनुपर्ने भन्दै शाक्यले नेताहरुलाई दवाव दिइरहेको स्रोतको दावी छ । मुख्यमन्त्री कै दवावमा नेताहरु पार्टीभित्र गम्भिर छलफलमा जुटेको बुझिएको छ ।
नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार टिकाउन पार्टीको केन्द्रीय तहदेखि नै पहल भइरहेको बताउँछन् । सरकारले हालसम्म बहुमत नगुमाएको उनको दाबी छ । भदौ २२ गतेपछि मात्र सरकार अल्पमतमा पर्ने भन्दै उनले त्यसअघि पार्टीको केन्द्रीय तहबाट शाक्य नेतृत्वको सरकार टिकाउन पहल हुने बताए ।





















प्रतिक्रिया