नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी घोषण गर्ने क्रम बढिरहेको छ । नेता उत्तम चापागाईले पनि केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गर्नुभएको छ । केन्द्रीय सदस्यमा उमेदवारी दिनुको एजेण्डाहरु के—के छन्, महाधिवेशनको तयारी कस्तो भैरहेको छ, आउदा दिनमा राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको भूमिका कस्तो हुन्छ, लगायत समसामयीक विषयमा चापागाईसँग अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानी सम्पादित अंश :
नेपाली कांग्रेसको महाधिवेशनको तयारी कस्तो भैरहेको छ ?
हामी महाधिवेशनको तयारीमा जिल्लाको अधिवेशनमा आइपुगेका छौँ । ४३ वटा जिल्लाहरूमा अधिवेशन सम्पन्न भैसको छ । बाँकी जिल्लाहरूमा अधिवेशन हुँदैछ । प्रदेशको अधिवेशनको तयारीमा हामी लागि पर्दैछौँ । यसरी नै महाधिवेशनको तयारी प्रक्रियागत रुपमा क्रमशः अगाडि बढिरहेको छ ।
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । तपाइले जित्ने एजेण्डा र आधारहरू के—के छन् ?
मेरो एजेण्डा भन्नुपर्दा खासगरी ३४ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेको छु । नेपाल विद्यार्थी सङ्घ हुँदै तरुण दलको जिल्ला अध्यक्ष, केन्द्रीय समितिको कार्यकाल पनि थाहा पाइसकेको छु । पुराना पुस्तासँग ज्ञान लिएर पार्टीलाई युवा पुस्ताले गतिशील बनाउन पर्छ भन्ने उदेश्यले म अगाडि बढेको छु । त्यसो हुनाले केन्द्रीय सदस्य हुनको लागि चाहिने योग्यता क्षमता भएकोले मैले उम्मेदवारी घोषणा गरेको छु । देशभरका साथीभाइहरूले मलाई सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु । यीनै आधारहरूले गर्दा मैले जित्छु ।
नेपाली कांग्रेसको यो महाधिवेशनबाट नयाँ नेतृत्व आउने सम्भावना कति छ ?
युवा साथीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम जारी नै रहेको छ । यसपटक ठूलो सङ्ख्यामा युवा प्रतिनिधिहरू छनोट भएका छन् । यस पटकको महाधिवेशनमा केन्द्रीय पदाधिकारी र नेतृत्वमै पनि नयाँ पुस्ता हावी हुने देखिएको छ । नयाँ पुस्ता आएर पार्टीलाई नयाँ मार्गमा लैजान पर्छ भन्ने पक्षमा हामी छौँ ।
नेपाली कांग्रेसको अधिवेशनहरूमा धेरै विवादहरू हुने भएको छ । किन कांग्रेसले शान्तिपूर्ण ढङ्गले महाधिवेशन गर्न सकिरहेको छैन् ?
यसमा कतिपय साथीहरू स–साना विषयलाई लिएर उत्साहित देखिएका छन् । स्वच्छ प्रतिस्पर्दा गर्दा यस्ता कुराहरुलाई शाथीहरुले एकदम सम्यमता अपनाउनु पर्ने हुन्छ । हामीले तरुण दलका शाथीहरुलाई पनि निरन्तर भनिरहेका छौं कि यस्ता गतिविधिहरु नहोस भनेर । कतिपय साथीहरुको धेरै महत्वकांक्षको कारणले गर्दा यस्तो असान्ती भैरहेको छ । यस्ता गतिविधिहरूलाई रोक्न पार्टीले निरन्तर पहल गरिरहेको छ । कांग्रेसमा धेरै गुटहरू भएकोले गर्दा पनि यस्ता गतिविधिहरू भैरहेको छ त्यसलाई निरुत्साहित गर्न हामी लागि परेका छौँ ।
नेपाली कांग्रेस विभिन्न गुटहरूमा विभाजन भएको छ । महाधिवेशन पछि हार्ने गुटहरूले पार्टीलाई विभाजन गर्ने सम्भावना कति छ ?
त्यतिसम्मको परिस्थिति यो महाधिवेशनले ननिम्त्याओस् भन्नेमा हामी छौँ । लोकतान्त्रिक पार्टीको महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा हुनु, एउटै पदमा धेरै मान्छेको प्रतिस्पर्धा हुनु त स्वभाविक हो । सबैभन्दा ठूलो र पुरानो पार्टी भएकोले यस्ता आन्तरिक प्रतिस्पर्धालाई स्वभाविक रुपमा लिनु पर्दछ । विगतका महाधिवेशनहरूमा पनि यस्तै प्रतिस्पर्धा हुँदै आएको हो ।
जति जना सभापतिको उम्मेदवार हुन्छ त्यति नै गुट हुन्छ भन्ने बुझाई छ तर त्यस्तो होइन । यस्ता गुटहरूलाई निस्क्रिय गर्दै निरुत्साहित गर्दै लैजान पर्छ । लोकतान्त्रिक पार्टीमा आन्तरिक पतिस्पर्धा हुँदा त्यसलाई एउटा तिक्तताको रुपमा लिन हुँदैन । यसमा स्वच्छ पतिस्पर्धा हो । मै हारे पनि अर्कोपटकको तयारीमा जान्छु भन्ने सोच्नुपर्छ ।
गठबन्धनको सरकारमा नेपाली कांग्रेसले नेतृत्व गरिरहेको छ । सरकार असफल भएको भन्ने चौतर्फी आवाज सुनिन्छ । यस्तो भएपछि आगामी चुनावमा नेपाली कांग्रेसलाई जनताले भोट हाल्लान् ?
दुई तिहाई हाराहारीको कम्युनिस्ट सरकारले सत्ता सञ्चालन गर्न नसक्दा संसदमा थोरै सङ्ख्या भएको कांग्रेस पार्टीको नेतृत्वमा सरकार बनेको छ । एउटै पार्टीले सरकार चलाउँदा त समस्या आउँछ तर यो त ४ तिर फर्केको गठबन्धन छ । ४ वटा फरफरक घोषणापत्र भएका पार्टीहरूबाट सरकार बनेको छ । यसमा धेरै ठूलो अपेक्षा पनि गर्नु हुँदैन ।
मुख्य कुरा यो सरकारले संविधानको रक्षा गरेको छ । संविधानले परिकल्पना गरे अनुसार संसदको अन्तिम चरणमा छ । निर्वाचनहरू नजिक नजिक आएका छन् । तुरुन्तै राष्ट्रिय सभाको निर्वाचनबाट प्रारम्भ हुँदैछ । यी सबै निर्वाचनहरू सफलतापूर्वक सम्पन्न गर्नु यो सरकारको प्रमुख दायित्व हो । विभिन्न भौतिक संरचनाहरूको निर्माण थाल्न यो सरकार आएको होइन । संविधानको रक्षा गरेर मुलुकलाई स्थायित्वमा अगाडि बढाउनु यो सरकारको मुख्य काम थियो । जनताको अपेक्षा पुरा गर्नसक्ने यो सरकारको अवधि छैन ।
एमसीसीको विषय पछिल्लो समय जनजनमा बहस हुन थालेको छ । तपाईँको विचारमा एमसीसीलाई पास गर्ने कि फिर्ता गर्ने ?
यस विषयमा बृहत छलफल हुनुपर्छ । नेतृत्व तहबाट पनि यस्तै भनिएको छ । मैले यस विषयमा धेरै अध्ययन गरेको छैन । यदि नेपाली जनताको हित हुन्छ भने पास गरौँ । होइन नेपालको राष्ट्रियता माथि नै प्रश्न उठ्छ भने यसको पछि लागिरहन कुनै जरुरी छैन फिर्ता गरिदिऊँ ।
आगामी निर्वाचनमा नेपाली कांग्रेसले एकलै प्रतिस्पर्धा गर्ने भनेर कांग्रेसका नेताहरूले एउटै स्वर बनाएका छन् । यदि कम्युनिस्टहरूको एकता भयो भने त कांग्रेसको पत्तासाफ होला नि ?
कांग्रेसलाई यो पटक जतिसुकै कम्युनिस्टहरू मिले पनि जित्न सक्दैन । पार्टीलाई बहुमत ल्याउनको लागि हामीले गर्न पर्ने भूमिका हामी सबैले निभाउने छौँ । नेपाली कांग्रेसले धेरै सिट ल्याउनको लागि गलत बाटो अपनाउँदैन । २०६४ सालको संविधान सभाको निर्वाचनमा पनि कांग्रेसले आफू हार्दैछु भन्ने थाहा पाउँदापाउँदै पनि संविधान सभाको निर्वाचन गराएको पार्टी हो । कांग्रेसले सिट धेरै ल्याउने भन्दा पनि यो मुलुकलाई स्थायित्व दिन, मुलुकलाई अगाडि बढाउन कांग्रेसले त्याग पनि गर्छ ।
अन्त्यमा, पार्टीको १४ औं महाधिवेशनको बारेमा के भन्न चाहानुहुन्छ ?
मैले कांग्रेस पार्टीलाई गरेको योगदान, जनताको समस्याहरुलाई विशेष ध्यान दिएर अगाडी बढ्ने र पार्टीको निति, सिद्धान्त, आदर, पतिस्ठामा आबद्ध रहेर संगठन र पार्टीमा योगदान गर्ने छु भन्दै मलाई मतदान गर्न अपिल गर्छु । साथीहरूसँग पनि राम्रै सम्बन्ध र सम्पर्क छ । सबैलाई विभिन्न ठाउँमा विवादहरू, गोली नै चलेको सम्म सुनिएको छ । यसलाई स्वच्छ प्रतिस्पर्धा गरेर जित हारलाई ठूलो मुद्धा नबनाउन आग्रह गर्दछु ।



















प्रतिक्रिया