पछिल्लो समय नेपाली राजनीतिमा महिलाहरु पनि क्रमशः अगाडि बढिरहेको देखिएको छ । महिलाहरू कार्यकर्ता मात्र होइन नीति निर्माणको स्थानमा पुग्न पर्छ भनेर युवा महिला नेताहरू क्रियाशिल भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा युवाहरू र महिलाहरू पनि नेतृत्वमा आउन पर्छ भनेर युवा महिला नेता प्रतिमा गौतमले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँसँग महाधिवेशनमा युवा र महिलाहरूको सहभागिता कति हुन्छ ? महाधिवेशनको तयारी कस्तो हुँदैछ ? एजेण्डा के छन् ? जित्ने आधार के छ ? लगायतका महाधिवेशनसँग सम्बन्धित रहेर अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको सम्पादित अंश :
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी कस्तो हुँदै छ ?
हाम्रो महाधिवेशन पालिका तहबाट हुँदै आएर जिल्लासम्म आइपुगेको छ । कतिपय जिल्लाहरूमा महाधिवेशन सम्पन्न भैसकेको छ र बाँकी जिल्लामा भैरहेको छ । अब हामी प्रदेशको अधिवेशनको तयारीमा लागेका छौँ । त्यसपछि केन्द्रको महाधिवेशनमा लाग्ने छौँ । यसरी नै हामी अगाडि बढिरहेका छौँ ।
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । तपाईँको एजेण्डाहरू के—के हुन् ?
हामीले धेरै कुरा बोलेर गर्छु भनेर नगर्नुभन्दा ठिक्क बोल्ने र त्यो कुरालाई लागु गर्नेतर्फ लाग्नु नै उचित हुन्छ । हाल नेपाली कांग्रेस विधिसङ्गत ढङ्गबाट अगाडि बढ्नलाई छाडेर विधि र विधानलाई बिर्सेको छ । पार्टीलाई विधिसङ्गत रुपमा सञ्चालन गर्न हामी लागि पर्ने छौँ । किनकि विधानभित्र नै पार्टी चल्नुपर्छ । विधिलाई वास्ता नगर्दा पार्टी राम्रो ढङ्गले सञ्चालन नहुने हामी पार्टीलाई विधि अनुसार चलाउने अभियानमा छौँ । अर्को कुरा महिलाहरू तल जगबाट नै उत्साहपुर्वक आउनुभएको छ । महिलाहरू पार्टीमा समावेश मात्र हुने हुनाले निर्णायक भूमिकामा जानुपर्छ भन्ने हाम्रो मान्यता हो । नीति निर्माण गर्ने स्थानमा पुग्ने हाम्रो धेय हुनेछ ।
तपाइले जित्ने आधार के—के छ ?
हामीले निरन्तर रुपमा नथाकिकन २०४६ सालको आन्दोलनबाट आजसम्म आइपुगेका छौँ । धेरै आरोहअवरोह व्यहोरेका छौँ । म २०४९ सालमा विद्यार्थी युनियनको सदस्य, सचिव, उपसभापति, ५५ सालमा सभापति हुँदै नेविसंघको केन्द्रीय महामन्त्री पनि भैसकेकी छुु । विभिन्न आन्दोलनहरूमा जेल पर्ने, कुटाई खाने त सामान्य जस्तै भएको छ । यसरी हामीले पार्टीलाई दिने योगदानहरू राम्रोसँग दिएका छौँ । २०७० सालको निर्वाचनमा माधवकुमार र लिलामणी पोखरेलसँग निर्वाचन लड्ने मौका पाएँ । अब नेपाली कांग्रेसमा देशभरबाट युवा साथीहरू अत्याधिक रुपमा आउनुभएको छ । त्यसैले युवाहरूको प्रतिनिधित्व गरेर म केन्द्रीय सदस्यमा जान्छु भन्ने लागेको छ ।
महाधिवेशनमा महिलाहरूको सहभागिता कति छ ? पदाधिकारीमा पनि जित्ने सम्भावना कति छ ?
यो महाधिवेशनमा महिलाहरूको मत निर्णायक हुनेछ । अत्याधिक मात्रामा महिलाहरू संग्लन हुनुभएको छ । पदाधिकारीमा यो पटक विधानले नै सह–महामन्त्रीको पदलाई सुरक्षित गरेको छ । धेरै नभए पनि एक जना सह–महामन्त्री कमिटीमा छिर्नुहुन्छ । अन्य पदाधिकारीमा पनि सिनियर महिला नेताहरूले उम्मेदवारी दिने सम्भावना पनि छ ।
महाधिवेशनबाट युवा नेतृत्व आउने सम्भावना कति छ ?
सम्भावना एकदमै व्यापक छ । किनभने युवाहरूलाई समेटनै पर्ने बाध्यात्मक अवस्था भएको छ । देशभरि नै धेरै ठाउँमा सभापतिहरू युवा आउनुभएको छ । त्यसकारणले पनि युवाहरू नेतृत्वमा आउने विश्वास हामीले गरेका छौँ ।
कांग्रेसभित्र गुटको प्रभावले धेरै ठाउँमा अस्वभाभिक घटनाहरू भैरहेका छन् । कांग्रेस आफ्नो आन्तरिक व्यवस्थापनमा चुकेको हो ?
यस्तो विवादहरू सबै पार्टीहरूमा हुन्छन् । यस्तै हुनाले नेकपा अहिले ३ टुक्रा भएको छ । लोकतान्त्रिक पार्टीको महाधिवेशन निर्वाचनमा गुट उपगुटहरू हुन स्भाविक हो । कुनै कुनै ठाउँमा गैर–राजनीतिक गतिविधिहरू भैरहेका छन् । यो दुर्भाग्य हो । यसलाई सुधारेर आउने दिनमा यस्तो वातावरण सृजना हुन नदिन हामी सबै युवाहरू लाग्ने छौँ । पार्टीभित्र देखिएका विकृति र विसंगतीको विरुद्ध हामी युवाहरू लडने छौँ । यसको लागि सबै युवाहरूलाई एक हुन म आह्वान गर्छु । गुट उपगुटको प्रभाव आगामी निर्वाचनमा नपार्नको लागि महाधिवेशन सकिएको भोलिपल्ट नै गुटलाई निष्क्रिय बनाएर पार्टी निर्माणमा लाग्नु पर्छ ।
सरकारले काम गर्न नसकेको आवाज उठिरहेको छ । यो सरकार असफल भएकै हो ?
सरकारलाई विवादहरुको सामना त गर्नैपर्छ । विरोधका आवाजहरू पनि सुन्नपर्छ । धेरैको मन बुझाउन गाह्रो छ । पूर्व प्रधानमन्त्री केपी ओलीको सरकारले संविधानभन्दा बाहिर गएर धेरै लथालिङ्ग बनाएको थियो । त्यसलाई यो सरकारले समालेको छ । नेपाली कांग्रेस महाधिवेशनमा होमिएकोले पनि सरकारमा क्रियाशिल हुन नसकेको जस्तो देखिएको छ । अझै पनि समय छ सरकारले यो मुलुकको लागि राम्रो काम गरेर सुधारेर जान्छ भन्ने हामीले आस राखेका छौँ ।
आगामी निर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गरेर बहुमत ल्याउने भनेको छ । के—के आधारमा कांग्रेसले बहुमत ल्याउन सक्छ ?
नेपाली कांग्रेस पुरानो पार्टी हो सबैलाई थाहा नै छ । जनताको विश्वास बोकेको पार्टी हो । यस अघिको कम्युनिस्ट पिर्टीको सरकारले संविधानलाई कुल्चेको थियो । कांग्रेसको नेतृत्वमा सरकार बनाएर संविधानको रक्षा गरेको छ । कम्युनिस्ट पार्टीहरूले आफ्नो भित्रको आन्तरिक विवादलाई बाहिर ल्याएर सारा नेपालीलाई राजनीतिक असभ्यताको पराकाष्ट देखायो ।
लोकतन्त्रलाई नै धरापमा पुरायो । नेपाली कांग्रेसले त्यस्तो जनताको अहित हुने काम गर्ने छैन भन्ने जनताले बुझेका छन् । यसले गर्दा कम्युनिस्ट प्रतिको जनविस्वास गुमिसकेको छ । त्यसको आधारमा पनि नेपाली कांग्रेसले स्पष्ट बहुमत ल्याउछ । त्यसैले यो देशलाई कांग्रेसले नै समृद्ध बनाउँछ भन्ने कांग्रेसको भावना छ । त्यही नै हाम्रो मुख्य आधार हो ।
अन्त्यमा, महाधिवेशनको सन्दर्भमा के भन्न चाहानुहुन्छ ?
म समग्र नेपाली जनतालाई नेपाली कांग्रेसमात्रै यस्तो पार्टी हो जसले जनताको पक्षमा काम गर्न सक्छ । हामीसँग विचार बलियो छ । युवा नेताहरू छन् । त्यसैले हामीले यो मुलुकको भविष्य निर्माण गछौँ र विधान अनुसार अगाडि बढाउँछौं त्यसैले हामीलाई साथ दिनुस् भन्न चाहान्छु । त्यसैगरी महाधिवेशन प्रतिनिधिहरूलाई युवाहरूलाई नेतृत्वमा पुर्याउनुस्, युवाहरूले यो पार्टीलाई गतिशील बनाउन सक्छ । पुरानो पुस्ताको साथमा हामी अगाडि जान चाहान्छौँ, यसमा सबैले सहयोग गर्न अनुरोध गर्छु ।



















प्रतिक्रिया