Logo

सूचना/प्रविधि

नेपालको पहिलो मोबाइल एप ‘नेपाली पात्रो’को सिइओमा सन्तोष कुमार देवकोटा नियुक्त



काठमाडौं । डिजिटल मेडिया तथा स्मार्ट कम्यूनिटी प्लाटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोष कुमार देवकोटा नेपालको प्रथम मोबाइल एप्लिकेशन ‘नेपाली पात्रोको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका छन् ।

विक्रम सम्वत् २०५६ साल वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’बाट सञ्चार जगतमा प्रवेश गरेका देवकोटाले मध्य तराइको पहिलो एफएम ‘रेडियो वीरगञ्ज ९९ मेगाहर्ज’मा विद्युतीय सञ्चारको लामो अनुभव संगालेका छन् ।
रेडियोको अग्रणी संस्था ‘इक्वल एक्सेस नेपाल’मा रेडियो नेटवर्क व्यवस्थापन तथा रेडियो कभरेज नक्शांकन विज्ञको रुपमा छवि बनाएका देवकोटा पछिल्लो एक दशकदेखि डिजिटल मेडिया तथा कम्यूनिटि प्लाटफर्म विज्ञको रुपमा सक्रिय रहँदै आउनुभएको छ । देवकोटाले यही फेब्रुअरी १३ तारिख २०२२ ‘विश्व रेडियो दिवस’का दिन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुनुभएको हो ।

“हाम्रो समय, हाम्रो गौरव” मूलमन्त्र बोकेको नेपाली पात्रो र हाम्रा ९० लाख प्रयोगकर्ता, हाम्रा अनलाइन तथा प्रिन्ट मेडिया, टेलिभिजन, देशभरीको रेडियो तथा स्वतन्त्र कन्टेन्ट उत्पादकहरुसँगको अबको यात्रालाई अझ प्रत्यूदपादक, अझ नविन बनाउनका लागि हामीसँग सिइओको भूमिकामा सन्तोष कुमार देवकोटा आवद्ध हुनुभएको हो । नेपाली तथा अंग्रेजी भाषा समेतका नेपालका महत्वपूर्ण अनलाइन समाचार स्रोत आवद्ध ‘नेपाली पात्रो’ नेपाली सञ्चार सामाग्रीहरुलाई प्रभावकारी ढंगले धेरै भन्दा धेरैको पहूँचमा जोडिरहने पावर टुल्सको रुपमा परिचित नेपालमैं उत्पादित पहिलो कम्यूनिटि एप हो । आउँदा दिनहरुमा हामी नेपाली प्रयोगकर्ताहरुका लागि आवश्यक ति तमाम कोशिषहरु गर्नेछौं जसले नेपाली पात्रोलाई नेपालीहरुको आधिकारिक तथा विश्वासिलो कम्यूनिटी एप बनाइरहन सहयोग गर्नेछ । हामी हाम्रो एप्लिकेशन ‘नेपाली पात्रो’ मार्फत् देश तथा विदेशमा बस्ने हरेक नेपालीहरुलाई जोडिरहने एउटा पुल बन्न चाहन्छौं ।

लाखौं नेपालीले माया गर्नुभएको यस साझा पुलमा सन्तोषजीलाई स्वागत छ ।ू जिनियस सिस्टम्स सह-संस्थापक तथा नेपाली पात्रोका परिकल्पनाकार विरीजन महर्जनले बताउनुभयो ।
नेपाली पात्रोले हाम्रो मौलिक चाडपर्व, तिथि/मिति, पञ्चाङ, उत्सव तथा सांस्कृतिक गतिविधि मात्र समेटेको छैन, यो सबै उमेर समूहका लागि उपयोगी स्मार्ट एप्लिकेशन हो । यो क्यालेण्डर बाहेक, भिडियो, रेडियो, कुण्डली, दैनिक विदेशी मुद्राको विनिमय दर, सुन चाँदिको दैनिक दररेट, मौसम, एकाइ रुपान्तरण शुभ साइत तथा मुहूर्तहरु, ज्योतिष सेवा, ब्लग, मिति परिवर्तन लगायतका सुविधाहरुले युक्त छ ।
“पछिल्ला वर्षहरूमा नेपालबाट विदेश बसाइँ सर्ने क्रम बढेको छ । विशेष गरी नयाँ पुस्ताको विदेश मोह र बाह्य सांस्कृतिक अन्तरघुलनले मौलिक सभ्यता बिर्सने जोखिम रहन्छ नै। त्यसैले नेपाली पात्रोले आम नेपाली मूलका जनसमुदायलाई समेट्दै आफ्नो जरो तथा मौलिक धर्म-संस्कृतिका विशेषताहरूलाई उनीहरूसम्म पुर्याउने प्रयास गर्दै आएको छ । अहिले ‘स्वधर्मे निधनं श्रेयं परधर्मो भयावह: भन्ने मान्यतालाई मनन गर्ने समय आएको छ । नेपाली पात्रो परिवार यही मान्यतालाई स्थापित गर्न सदैव क्रियाशील रहन्छ । नेपाली पात्रोको अभियानलाई शिखरमा पुर्याउने कर्णधारका रूपमा यस परिवारको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको कार्यभार सम्हाल्न नेपाली पात्रो परिवारमा जोडिनुभएका अनुभवी व्यक्तित्व एवं मेरा आत्मीय मित्र श्री सन्तोष देवकोटाजीलाई स्वागत गर्न पाउँदा हाम्रो टिम उत्साहित भएको छ । हाम्रो सहयात्राले नेपाली पात्रो थप उचाइमा पुग्ने छ भन्नेमा म पूर्ण विश्वस्त छु ।” नेपाली पात्रोका प्रमुख सम्पादक तथा फलितज्योतिषाचार्य उपप्रा. लक्ष्मीप्रसाद बरालले बताउनुभयो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार १९:१२   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।