सरकारले असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने बताएको छ । चीनको वुहानमा उत्पत्ति भएको कोरोना महामारी नियन्त्रणका लागि सरकारले २०७७ चैत ११ गतेदेखि लकडाउन जारी गर्यो । जसले गर्दा विद्यालयहरु बन्द भए पनि विद्यार्थीहरु घरमै थन्किए । लकडाउन लम्बिएसँगै विद्यार्थीहरुको अध्ययन अन्योल बन्दै गयो । सरकारले बिना योजना अनलाइनमार्फत अध्ययनअध्यापन गराउन निर्देशन दियो । सरकारले दिएको निर्देशन संघीय राजधानी काठमाडौंलगायत सहरी क्षेत्रमा त्यो सम्भव भए पनि अन्य क्षेत्रमा भने सम्भव हुन सकेन ।
अहिले कोरोना महामारीको दोस्रो लहर सुरु भएको छ । मुलुककमा अधिकांश जिल्लामा लकडाउन जारी छ । यसैबीच सरकारले नयाँ शैक्षिक सत्र सुरु गर्ने घोषणा गरेपछि थप अन्योलता पैदा भएको छ । कोरोना महामारीको लहरहरु थप हुँदै गएसँगै शिक्षा क्षेत्रमा थप ठूलो असर पर्ने र अझै निकट भविष्यमा झन् बढी प्रभावित हुने जाने देखिन्छ । अहिले कोरोना महामारीकै कारण देशभरका विद्यालयदेखि विश्वविद्यालयहरु भौतिक उपस्थितिमा सञ्चालन नभएको एक वर्षभन्दा बढी भइसकेको छ ।
कोरोनाले गर्दा सहरी क्षेत्रको विद्यालय र विद्यार्थीमा खासै ठूलो असर नगरे पनि गरिब र सीमान्तकृत वर्गका विद्यार्थीमा ठूलो असर गरेको छ । सङ्क्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गएका कारण बन्द भएका विश्वविद्यालय र विद्यालय तहका शैक्षिक क्षेत्रहरु अस्तव्यस्त छन् । सरकारको गति र मतिलाई हेर्दा यो क्षति तत्कालै न्यूनीकरण भइहाल्ने र शैक्षिक गतिविधिहरू सामान्य अवस्थामा फर्किने स्थिति पनि देखिँदैन । जस्तोसुकै कठिन परिस्थितिमा पनि बालबालिकाहरू शिक्षा लिन पाउने अधिकारबाट वञ्चित हुनुहुँदैन भन्ने विश्वव्यापी मान्यता भए पनि सरकारले यसमा ध्यान दिन सकेको छैन ।
शैक्षिक संस्थाहरु बन्द हुँदा विद्यार्थीमा मनोवैज्ञानिक असर परेको छ । विद्यार्थीहरूलाई लामो समयसम्म घरमै राखेर सिकाइबाट अलग राख्दा उनीहरूमा अनेक सामाजिक र मनोवैज्ञानिक समस्याहरू आउनसक्ने भन्दै मनोविद्हरुले चिन्तासमेत व्यक्त गरिरहेका छन् । विभिन्न विद्यालयहरूले भाइबर, म्यासेन्जर, फेसबुक, गुगल, जुमलगायतमा विभिन्न अनलाइन प्लेटफर्ममार्फत पठनपाठ भइरहेको छ । कोरोनाले हाम्रा विद्यालयलाई भर्चुअल कक्षाहरूमा जानुपर्ने पाठ सिकाएकै छ । अब सरकार र विद्यालयहरूले प्रविधिलाई नकार्न सक्ने अवस्था पनि छैन । तर पनि नेपालजस्तो भौगोलिक विकटता र ग्रामीण परिवेश भएको मुलुकमा यसको उपयोगिता र सार्थकता त्यति प्रभावकारिता भने देखिएको छैन ।
यथार्थमा भन्नुपर्दा नेपालका धेरै शिक्षकलाई कम्प्युटर नै चलाउन नआउने अवस्था, कतिपय अभिभावकलाई मोबाइलमा फेसबुकभन्दा बाहेक अरू कुराहरू हुन्छ भन्ने पनि थाहा नभएको अवस्थाकोले गर्दा पनि अनलाइन कक्षालाई कसरी सर्वव्यापी, प्रभावकारी र परिणाममुखी बनाउन सकिएला भन्नेतर्फ सरकार गम्भीर बन्न सकेको छैन । सरकारले असार १ गतेदेखि नयाँ शैक्षित्र सत्र सुरु हुने घोषणा गरे पनि कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा भने कुनै योजना बनाएको पाइँदैन ।
कसरी सुरु हुन्छ नयाँ शैक्षिक सत्र ?
असार १ गतेबाट नै शैक्षिक सत्र सुरु हुने र यो पूर्णरुपमा प्रभावकारी हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले दाबी गरेका छन् । अनलाइपानासँगको कुराकानीमा उनले भने, “हामी विद्यार्थीको सिकाइलाई सहजीकरण गर्छौं । हामीले विद्यार्थीलाई पाँच समूहमा विभाजन गरेका छौँ र पहिलो प्राथमिकता हामीले त्यस्ता विद्यार्थीहरूलाई राखेका छौँ, जो विकट ठाउँहरूमा छन् । अहिले कोरोनाको भयावह अवस्थामा भौतिकरुपमा पठनपाठन सम्भव नहुँदा अनलाइन कक्षामार्फत पठनपाठन गरिन्छ ।”
उनले काठमाडौं र इन्टरनेटको सुविधा नभएका ठाउँहरुमा टेलिफोनमार्फत कक्षा दिइने बताए । विकट ठाउँमा यसरी अनलाइन सेवासुविद्या कसरी पुग्छ भन्ने प्रश्नमा उनले भने, “जस्तोसुकै विकट ठाउँ भएपनि जहाँ नुन-चामल पुग्छ त्यहाँ अन्य सेवा सुविधा पनि पुगिहाल्छ नि । विगत वर्षमा जसरी ने विद्यार्थीको घरघरमा किताबहरू उपलब्ध गराइन्छ ।”
उनले कमजोर विद्यार्थीहरूलाई सोही कक्षामा राख्ने र पढाइको आधारमा क्षमतावान विद्यार्थीलाई कक्षा ‘जम्प’ गराउने व्यवस्था मिलाएको बताए । उनले थपे, “विद्यालय व्यवस्थापन समिति, स्थानीय तह र क्षेत्रीय कार्यलयसँग समन्यव गरि हामी विद्यार्थीको लागी सहज वातावरण बनाउँछौँ । अनलाइन कक्षाको शिक्षा गुणस्तरीय हुन्छ नै भन्न त सकिन्न तर नहुनभन्दा केही भएको नै राम्रो हो ।” उनले सबैलाई समानुपातिक हिसाबले पढाउने जिकिर गरे ।
सरकारले विद्यार्थीमाथि खेलबाड गर्दैछ
सरकारले असार १ देखि सुरु गर्ने भनेको शैक्षिक सत्रले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न लागेको शिक्षाविद् विद्यानाथ कोइरालाले बताएका छन् । उनले भने, “दुई महिनापछि शैक्षिक सत्र सुरु गरेर विद्यार्थीको जीवन र उनीहरूको पढाइमाथि खेलबाड गरिरहेको छ ।” औपचारिक मात्र पढाइ हुन्छ भन्ने सिद्धान्त भएका मानिसहरूलाई उनले ‘दूरबुद्धि’ भएको र ‘नालायक’ काम गरेको भन्दै आक्रोश पोखेका छन् ।
उनले भने, “कोरोनाको कारण सबै क्षेत्र अस्तव्यस्त भइरहेको समयमा शिक्षकलाई पढाउन आउनुभन्दा पहिला खोप चाहिन्छ । खोप शिक्षकहरूलाई मात्र दिएर भएन विद्यार्थीलाई पनि दिनै पर्यो, जुन सम्भव भएन ।” शैक्षिक सत्र सुरु भएसँगै अनलाइन कक्षाहरु सुरु गर्न सम्भव नभएको उनले बताए । उनले भने, “अहिले हरेक पालिकाहरूमा नेट छ । अनलाइनमार्फत कक्षा लिन नसक्ने भन्नु र त्यस्ता कुराहरूमा समाचार आउनु झुटको खेती भएको उनले दाबी गरे ।
उनले थपे, “विद्यालयमा सिकाएका र सिकेका किताबी ज्ञानमात्र शिक्षा नभइ आफ्नो ठाउँमा भएका हिमाल, चरा, कोदालोको बारेमा सिकाइ दिनु पनि शिक्षा नै हो । यदि यस्तै शिक्षाको मान्यतालाई जोड्ने र त्यस्ता शिक्षालाई मान्यता दिने हो भने बालबालिका मनस्थितिमा असर पर्दैन ।” उनले प्रकिया फरक भए पनि ज्ञान फरक नहुने भएकोले जीवनोपयोगी शिक्षा दिनुपर्ने उनको भनाइ छ । विकसित ठाउँहरूमा सिकेका कुरा विकट ठाउँहरूमा पुर्याउने र विकट ठाउँहरूमा सिकेको ज्ञान आदानप्रदान गर्नाले पनि ज्ञान बढ्ने उनको भनाइ छ । उनले भने, “हामी पेट चलाउने मान्छे, शिक्षालाई कसरी र कुन तरिकाले लैजान पर्ने भन्ने कुरा देश चलाउनेलाई थाहा हुनुपर्ने हो तर यहाँ त फोकटको गफ मात्र चलिराखेको छ ।”
“देश चलाउनेसँग बुद्धि हुनुपर्छ त्यो नै नभएसी के होला र ? अर्हाएको काममात्र गर्ने मानसिकता भएका मानिसहरू छन्- प्रधानाध्यापकदेखि कुचीकारसम्म । कर्मचारीहरूले अर्हाएको मात्र काम गर्छन्,” उनले भने, “कुनै एक शिक्षकलाई आफ्नो विषय पढाउनैपर्छ भन्ने चुनौती दिऊ न ! काम नगरि सुख ?” आफ्नो व्यक्तिगत स्वार्थको कारण विद्यार्थीको भविष्यमा खेलबाड गरेको उनले दाबी गरेका छन् । उनले भने, “शिक्षामन्त्री र प्रधानमन्त्री ल्याएको नितिनियम र विद्यार्थीहरूको जीवमाथि गरिएको खेलबाड हेर्दा म आफैँ पीडाबोध गर्छु । अनलाइनका पनि विभिन्न एप्सहरु छन्, पुराना प्रविधिहरूलाई उपयोग गरेर पनि पढ्न सकिन्छ । सम्भव भएकाहरुलाई अनलाइन प्रयोग गरौँ, असम्भव ठाउँमा अफलाइन प्रयोग गरौँ । असम्भव केही छैन । एसईई परीक्षा हुने भनेर गफमात्र लगाए । कक्षा१२ को अझै मतलब छैन । यतीमात्र होइन, अहिले त हुँदा हुँदै विद्यार्थीको दुई महिना चोरियो । शिक्षाको लागी रोकिन र रोक्नपर्ने त्यस्तो कारण केही छैन ।” मात्र नेतृत्व गर्न नसक्नु गल्ती भएको उनको जिकिर छ । यसलाई समस्या बनाउने सरकार र त्यसको मज्जा लिने शिक्षक भएको उनले बताए । उनले थपे, “मैले सबै शिक्षकलाई भन्न खोजेको होइन । यस्ता शिक्षक पनि छन् – जसले आफ्नो भूमिका र कर्तव्य राम्रोसँग निर्वाह गरेका छन् । शिक्षा दिनुपर्छ चाहे जस्तोसुकै अवस्था आओस् । यो कृत्रिम समस्या हो, यही अवस्थाको कारण हामीलाई प्रविधिले फड्को मार्ने एउटा चुनौती दिएको छ ।”

















प्रतिक्रिया