Logo

राजनीति

उपसभामुखको चरित्र हत्या गरियो : सांसद श्रेष्ठ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाको चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा श्रेष्ठले अमुक मान्छेलाई भिसा दिनुपर्छ भनेर सदन र सडकमा आन्दोलन भएको स्मरण गरिन् ।

तर अहिले उपसभामुखमाथि प्रश्न उठाइएको भन्दै उनले भनिन्, ‘आचरणको कुरा गर्छौं भने ल गरौं । सबै जनाको लेटरप्याडबाट के–के निस्किएको छ हेरौं र साच्चै पद्धति बनाऊँ ।’

उपसभामुखको विषयमा अनावश्यक मिडिया ट्रायल भएको उनले बताइन् । सहजै मानव तस्करीको आरोपसमेत लगाएको भन्दै उनले भनिन्, ‘यति सजिलै मानव तस्करी डिक्लियर गर्न मिल्छ । ल डिक्लियर गर्नुस् त भुटानी शरणार्थी कसले गरेको हो भनेर ?’

साँच्चै छानबिन गर्ने हो भने रास्वपा तयार रहेको उनले बताइन् । तर निरन्तर मिडिया ट्रायल गरेर एउटा भाष्य बनाउन खोजिएको भन्दै सुमनाले भनिन्, ‘एउटा मान्छेको चरित्र हत्या गर्ने, त्यो पनि संवैधानिक परिषद्मा एमालेको दुईटा, माओवादीको दुईटा, रास्वपाको एउटा । अल्पमतमा पर्‍यो भनेर हो भने माग्नुस् न माग्नुस्, दिउँला ।’

आफ्नो भएभरको जायजेथा अनाथ आश्रममा दिने महिलाको चरित्र हत्या गर्न खोजिएको भन्दै रास्वपा सांसद सुमनाले भनिन्, ‘विधि पद्धति बसाउने हो भने सबैका लागि बनाऊँ । हामी त्यसका लागि तयार छौं । तर चरित्रहत्याका लागि पटक्कै तयार छैनौं ।’

प्रकाशित मिति : ६ श्रावण २०८१, आईतवार १४:११   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।