Logo

प्रमुख समाचार

प्रचण्डलाई जनार्दनको प्रश्न- सबै सरकारबाट माओवादी बाहिरिनुपर्ने अवस्थाको जिम्मेवार को?



काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी शून्यतर्फ अभिमुख भएको निष्कर्षसहित १४ पाने धारणा स्थायी समितिमा पेस गरेका छन् । पेरिसडाँडामा बसेको बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित प्रस्ताव राखेका छन्।

१४ पृष्ठको धारणामा उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि प्रश्नैप्रश्न खडा गरेका छन् ।

उनले संगठन निर्माणका लागि प्राथमिक विषयमा अहिलेको राजनीतिक उथलपुथल र संघदेखि सबै प्रदेश सरकारबाट माओवादी बाहिनुको जिम्मेवार को हो भन्ने प्रश्न उठाएका छन् ।

पार्टीमा प्रचण्डले दिएको उपमहासचिव पद अस्वीकार गरेका शर्माले अब नेतृत्वबाट प्रचण्डसहितका पदाधिकारीले बिदा लिएर तेस्रो पुस्तालाई जिम्मेवारी दिन समेत प्रस्ताव राखेका छन् ।

शर्माले १५ वर्षसम्म माओवादी पार्टी निरन्तर सरकारमा रहेको अवधिमा प्राप्त भएका उपलब्धि र कमी कमजोरीको व्यक्तिगत तथा संस्थागत मूल्याङ्कन गर्न समेत प्रस्ताव राखेका छन् । उनले २०८४ सालसम्म माओवादी पार्टी प्रतिपक्षमा रहने र सरकारमा नजाने घोषणा गर्नुपर्ने समेत बताएका छन् ।

गठबन्धन बनाउने, भत्काउने र फेरि बनाउने जस्ता क्रियाकलापले गर्दा पार्टीलाई पुर्‍याएको लाभहानीबारे पनि मूल्यांकन गरिनुपर्ने उनको माग छ।

शर्माले जारी स्थायी कमिटीमा लिखित प्रस्ताव नै राखेका हुन् ।

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सरकार गठन गर्नेलगायत ७ बुँदे सहमति भएको थियो । सो आधारमा संघदेखि प्रदेशसम्म कांग्रेस-एमालेले सरकार बनाउँदा माओवादी प्रतिपक्षमा पुगेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आईतवार १३:३४   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।