काठमाडौं । सहकारी संस्थाको बचत अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको संलग्नता पुष्टि भएको निष्कर्षमा संसदीय विशेष छानबिन समिति पुगेको छ ।
आइतबार दिउँसो २ बजेदेखि सोमबार बिहान ३ बजेसम्म बसेको समितिको बैठकले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई कारबाहीका लागि सिफारिस गरेको एक सदस्यले जानकारी दिए । ती सदस्यले भने ‘सहकारी बचत अपचलनमा होइन, सहकारी हुँदै गोर्खा मिडिया नेटवर्कमा गएको करोडौँ रकममा रविजी दोषी रहेको पुष्टि भएको हो।’
उक्त समितिलाई तीन महिना कार्यावधि दिइएकोमा प्रतिनिधि सभाले थप १५ दिनको समय पनि दिएको थियो । समितिले साेमबार प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्ने भएको छ ।
सात सदस्यीय संसदीय छानबिन समितिको सभापति नेकपा (एमाले) का सांसद सूर्य थापा छन् । समितिमा कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाका सांसदहरू छन् ।
साेमबार दिउँसो प्रतिनिधि सभामा संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन पेस गर्ने तयारी रहेकाे समितिका एक सदस्यले जानकारी दिए ।
प्रतिवेदनमा सहकारी बचत रकम अपचलनमा रास्वपा सभापतिसमेत रहेका लामिछाने दोषी देखिएको र कारबाही सिफारिस गर्ने कुरा लेखिएको ती सदस्यले जानकारी दिए ।




















प्रतिक्रिया