काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख हटाउने विषयमा कुनै छलफल नभएको बताएका छन् । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जानुअघि सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन् ।
भदौ २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे छलफल भएको सूचना बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आपत्ति जनाएको थियो । सोहीबारे संसद्लाई जानकारी दिँदै उनले अनावश्यक कुरा नउचाल्न आग्रह गरे ।
‘प्रस्तावै नगरको विषयमा कसरी छलफल भयो ? संसदमा छलफल गरेको विषयमा पनि होइन । कसैले कुरा गरेको भनेको विषयमा उत्पातै मच्चाए । संसदमा के भएछ भनेर सोध्न पनि नहुने ? जातियता, लिंग वर्गको कुरा उछालेका छन् । यस्ता अनावश्यक कुरा नउचाल्न म माननीयजूलाई आग्रह गर्दछु’, उनले भने ।
प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा उठेका प्रश्नबारे बालुवाटार बैठकमा छलफल भएको संकेत गरे । उनले प्रश्न गरे, ‘उठेका विषयमा कहिँ कसैले कुरा गरे रे भनेर के कुरा गर्यौ, किन कुरा गर्यौ भन्ने, ए बाबा कस्तो हो, संसदमा कुरा उठ्छ, के रहेछ भनेर सोध्न पनि नआउने ?’
उपसभामुखको कुरा उठ्दा जातीयता र लिंगीय विभेदका कुरा उठाएर गालीगलौच गरिएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए ।




















प्रतिक्रिया