Logo

प्रमुख समाचार

सुनुवाइ समितिको बैठक स्थगित, प्रस्तावित राजदूत भट्टराईबारे भएन निर्णय



काठमाडौं । संसदीय सुनुवाइ समितिको सोमबार तोकिएको बैठक बस्दै नबसी स्थगित भएको छ ।

सोमबार श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बोलाइएको बैठक आवश्यक सांसदहरुको अनुपस्थितिले स्थगित भएको हो ।

समितिका सदस्य श्यामकुमार घिमिरेले प्रस्तावित राजदूतको नाम स्वीकृत वा अस्वीकृत गर्न बैठकमा दुई तिहाइ अर्थात् १० जना सदस्य आवश्यक पर्नेमा त्यो नभएपछि बैठक निर्णयमा नपुगी स्थगित भएको जानकारी दिए ।

प्रस्तावित राजदूत भट्टराईका विषयमा निर्णयमा पुग्नुअघि समितिले उनीसँग स्नातक तहको शैक्षिक योग्यताको माग गरेको थियो। उनको स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नआइपुगेका कारण समितिको अघिल्लो बैठक पनि निर्णयमा पुग्न सकेको थिएन। हालसम्म उक्त पत्र परराष्ट्र मन्त्रालयमै उपलब्ध नभएको बताइएको छ।

समितिको मङ्गलबारको बैठक अघिसम्म पनि प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र उपलब्ध गराएमा अनुमोदन हुने अन्यथा नाम स्वीकृत गर्न नमिल्ने सदस्य घिमिरेले स्पष्ट पारे। समितिले यही असोज ३ गते उनका सम्बन्धमा आवश्यक काजजात परराष्ट्र मन्त्रालयसँग माग गरेकामा उपलब्ध नगराएको विषय सभापति इश्वरी न्यौपानेले बैठकको प्रारम्भमै समितिलाई जानकारी गराएकी थिइन्।

बैठकको प्रारम्भमै सभापति न्यौपानेले प्रस्तावित राजदूतको उपयोगिता वा अनुपयोगिताबारे समितिको राय सम्बन्धित निकायमा पठाउनुपर्ने व्यवस्था रहेकाले सदस्यहरुको राय माग गरिन्।

सरकारले विभिन्न १७ मुलुकका लागि राजदूतको नाम सिफारिस गरी संसदीय समितिमा पठाएकामा १६ जनाको नाम यसअघि नै समितिले अनुमोदन गरिसकेको छ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार १७:०८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।