काठमाडौं । नेपालमा बढ्दो संस्थागत आर्थिक अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बीच सहकार्य हुने भएको छ । यस सम्बन्धमा मंगलबार दुई निकायबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगर र सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले हस्ताक्षर गरेका हुन् । दुवै संस्थाका उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले वित्तीय अपराध अनुसन्धानमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
यो समझदारीको मुख्य उद्देश्य संस्थागत वित्तीय ठगी र आर्थिक अपराधको अनुसन्धानलाई प्रभावकारी बनाउनु हो । अनुसन्धानका लागि आवश्यक ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने, नक्कली लेखापरीक्षकविरुद्ध संयुक्त कारबाही गर्ने, लेखापरीक्षणसँग सम्बन्धित विषयमा सूचना आदानप्रदान गर्ने र आर्थिक अपराधबारे जनचेतना फैलाउने उदेश्य रहेको छ ।
समझदारीअनुसार, सीआईबीले गर्ने आर्थिक अपराधको अनुसन्धानमा आइक्यानले प्राविधिक तथा विशेषज्ञ सहयोग उपलब्ध गराउनेछ ।
साथै, आइक्यानले सञ्चालन गर्ने ‘फरेन्सिक अकाउन्टिङ एन्ड फ्रड डिटेक्सन’ तालिममा सीआईबीका कर्मचारीहरूलाई पनि सहभागी गराइनेछ, जसले उनीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्नेछ ।
त्यस्तै, आइक्यानका सदस्य (लेखापरीक्षक)विरुद्ध उजुरी परेमा छानबिनमा दुई निकायले समन्वय गर्नेछन् । यदि विषय लेखापरीक्षणको व्यावसायिक आचरणसँग सम्बन्धित भए आइक्यानले हेर्नेछ भने आपराधिक प्रकृतिको देखिएमा थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिइनेछ ।
साथै, आइक्यानले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ बमोजिम गर्ने नियमन तथा अनुगमन कार्यमा सीआईबीले आवश्यक सहयोग गर्नेछ ।
हस्ताक्षर कार्यक्रममा आइक्यानका अध्यक्ष सारु मगर र सीआईबी प्रमुख डा. केसीले पछिल्लो समय संस्थागत वित्तीय अपराध बढ्दै गएकोले यसको नियन्त्रणका लागि विशेषज्ञता र आपसी सहकार्य अपरिहार्य रहेको बताए ।
यो समझदारीले गैरकानुनी लेखापरीक्षणजस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्न, वित्तीय अपराधको अनुसन्धानलाई परिणाममुखी बनाउन र लेखा व्यवसायको मर्यादा कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास दुवै पक्षले लिएका छन् ।




















प्रतिक्रिया