काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा आफूहरूले पदबाट राजीनामा नदिने बताएका छन् ।
मंगलबार ललितपुरमा आयोजित शहीद विकास महर्जनको सालिक अनावरण कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले आफूहरूलाई नेपाली जनताले दुई तिहाइको जनमत दिएर सरकार सञ्चालनको जिम्मेवारी दिएको बताए ।
उनले जनताले दिएको विश्वास र इतिहासलाई कसैले परिवर्तन गर्न नसक्ने दाबी गरे । ‘नेपाली जनताले दुई तिहाइ बहुमत दिएर काम गर भनेर हामीलाई दिएको विश्वास हो । फेर्न सकिँदैन,’ उनले भने, ‘राजीनामा पनि दिन सकिँदैन ।’
गुरुङले आफूहरू राजनीति गरेर शासन गर्न नभई जनताको सेवा गर्ने उद्देश्यले सरकारमा आएको बताए । जनताको विश्वास र आशीर्वादलाई सम्मान गर्दै अघि बढ्ने उनको भनाइ थियो ।
‘हामी तपाईंहरूलाई राजनीति गरेर राज गर्न आएका होइनौँ, सेवा गर्न आएका हौँ,’ उनले भने ।
गृहमन्त्री गुरुङले आगामी दिनमा गृह प्रशासनलाई पूर्ण रूपमा जनताको सेवामा परिचालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । गृह प्रशासन जनताको सेवामा समर्पित भएर काम गर्ने उनले बताए ।
















प्रतिक्रिया