काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न टेकुस्थित अपराध अनुसन्धान कार्यालय प्रवेश गर्न प्रहरीले रोक लगाएको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आयोगको संवैधानिक तथा कानुनी दायित्वअनुसार अनुगमनका लागि कार्यालय पुगेको टोलीलाई प्रवेश दिइएको थिएन।
आयोगको टोली करिब ४५ मिनेटसम्म कार्यालयको गेटमै बसेर पर्खिए पनि जबरासँग भेट गर्न नपाएपछि फर्किएको थियो।
आयोगले घटनाप्रति आपत्ति जनाउँदै प्रहरीबाट भएको व्यवहार संवैधानिक तथा कानुनी अधिकारविपरीत रहेको जनाएको छ। आयोगले आफ्नो दायित्व पूरा गर्ने क्रममा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षणसमेत गराएको छ।
‘निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न’ आयोगले सरकारको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ।
यसैबीच, पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति पनि आयोगले ध्यानाकर्षण भएको जनाएको छ।



















प्रतिक्रिया