Logo

विचार / ब्लग

रित्तिएका रहर र विरक्तिएका सपनाहरु



गाडी, मोटरसाइकल बसको लामो लर्को देखेर गाउँले छक्क पर्दै हेर्देछन् । अचम्म भयो आज त । यति धेरै मान्छे सायद साह्रै ठूलै मान्छेका लाम रहेछन् । नेता उद्योगपति होला सायद । अर्को एक गाउँले भन्दै थिए यही जन्मे हुर्किएको यति धेरै मान्छे यो ठाउँमा यसरी मलामी आएको देखेको थिइनँ । घर घरबाट निस्किएर हेर्ने मान्छेको पनि ठूलै जमात थियो । एक महिलाले फ्याट्टै सोधिन् कहाँको हो लास ! मोटरसाइकल पछाडि बसेकी अनुपाले जवाफ फर्काइन् कावासोती । त्यो लामो मानिसको लर्को केउरेनी दिव्य धाममा गएर रोकियो ।

खुल्ला ठाउँ नारायणी आफ्नै गतिमा बगिरहेको छ शान्तसँग । धमिलो बनेको मौसम सायद मौसमले पनि दुख मनाउदैछ मृत्युको । धेरैका आँखा रसाएका छन् । धेरैले भन्दै पनि थिए दुःख लुक्यो । आखिरमा संसारको सबैभन्दा ठूलो सत्य नै त त्यही रहेछ मृत्यु । शव लगेर नदीको छेउमा राखियो धार्मिक विधिअनुसार सुरु हुँदै थियो अन्तिम संस्कारको तयारी । केही चिता बनाउँदै थिए । केही गाडीमा लगिएका दाउरा निकालेर लग्दै थिए भने धेरै आफ्नै सुरमा थिए ।

महिलाहरुको पनि ठूलै जमात थियो तिनैमध्ये एक अनुपा गम्भीर बनेर पालैपालो शव र चितालाई नियाल्दै थिई । आजकल खुब घाटमा देखिन थालिएकी छे उ । चिनेको मान्छेको शव यात्रामा सकभर पुग्ने गरिके छे । जलेको चितालाई एकोहोरो नियाल्छे । आकाशमा हराउँदै गएको धुवाँलाई मज्जाले हेर्छे, अनि के के सोच्छे खै ! लामो सुस्केरा तान्छे अनि मनमनै गुन्छे म कहिले यसरी धुवाँ बन्ने हाेला, अनि आकाशमा मडारिदै क्षणभरमै विलिन बन्नेहाेला यो संसारबाट सधैंका लागि ।

शवलाई चितामा राखेर दागबत्ती दिन थालिइन्छ तर उ एकटकले हेरिरहन्छे आँखा झिमिक्क पनि नगरी कतै शून्यतामा हराउँदै । केही समयदेखि उ मलामी बनेर घाटसम्म पुग्ने गरेको धेरै भइसकेको छ । गाउँघरका सामान्य मान्छेदेखि समाजका ठूलावडा र प्रतिष्ठित व्यक्तिहरुको शव यात्रामा सहभागी भएकी छे । हेरेकी छे सानादेखि ठूलाबडाको अन्तिम दाहसंस्कार सायद चितामा जल्दै गरेको लासमा त फरक पाउँदिन तर मलामी गएका मान्छे र मलामीको संख्यामा भने फरक पाउँछे ।

हुन त भन्ने गरिन्छ, बाँच्दाको जन्ती र मर्दाको मलामी जसले उसको पहिचान दिन्छ समाजमा उसको स्थान । खै कस्तो मोह बसेको छ अनुपालाई यो मलामी जाने । भन्थे महिला मलामी जानु हुदैन, तर समयको गतिसगै समाजको सोचमा पनि परिवर्तन भएको छ । अहिले धेरै शवयात्रामा महिलाको उल्लेख्य सहभागित देखिने गर्छ । तिनै मलामीबीच देखिने गर्छे अनुपा । चिता जल्दै गर्दा सायद सबैले सोच्छन् होला आखिर जिन्दगी केही रहेनछ ।

किन गर्नु पर्यो र तेरो मेरो किन दुखाउनु पर्यो र अर्कोको चित्त, चित्ता जल्नु जेल सम्म त साच्चै नै लाग्छ बाँचुन जेल सम्म हासी खुशीसँग बाँचौं, सबैसँग समान व्यवहार गरौं तर चिता जलिसकेर घर नआइपुग्दै फेरि सुरु हुन्छ मेरो र तेरो । यी सायद मानवीय स्वभाव होला । तर ती सबैबाट अनुपा भने फरक बनेकी छ । समयले दिएको चोटको असिनाले उसको सुन्दर फुलबारी उजाड बनाएपछि भने उ जीवनको यथार्थसँग परिचित बनेकी छे ।

अनि उसको लागि मृत्युको पर्खाई बेजोड छ । मान्छे मरेको घरसम्म पुग्न साहु नगर्ने उसलाई समयले यसरी पत्थर बनायो कि कसैको मृत्युमा आँसु नै खस्न छोड्यो । उसका आँखामा रहेको आँसुको ताल आँखैमा सुक्यो या पोखिएर सकियो त्यसको अनुमान कसैसँग छैन । मात्र उसको आँखा मरूभूमि समान छन् । जहाँबाट पानी हैन खरानी उडछ ।

१०–११ वर्षको हुँदा होला सायद पल्लो घरकी काकी पर्नेको निधनमा साथीको लहैलहैमा लाग्दा संयोगले भोलिपल्टदेखि नै ज्वरो आएपछि मान्छे मरेको ठाउँमा जाने प्रयास प्राय विफल भएका थिए उसका । धेरैपटक मरेको मान्छेको शव बाटोमा भेट्दा समेत उ मुन्टो बटारेर अर्को बाटो लाग्ने गर्थी । समयको खेल भनौ या भाग्यको लीला आज त्यही मृत्यु अंगाल्न चाहान्छे तर मृत्यु उभन्दा कोशौं टाढा भाग्छ ।

सायद त्यही भएर आफ्ना आँखाले देखेकाको मृत्युलाई नजिकबाट हेर्छे, अनि सोध्छे मलाई लिन कहिले आउँछस् ? नजवाफ छ त्यो मृत्यु पनि । अच्चम छ मृत्यु पनि, जो बाँच्न चाहान्छ उसलाई टपक्क टिपेर लैजान्छ, तर जो बाँच्नै चाहँदैन उसको लागि काल नै आउँदैन ।

दुनियाँले सोच्ला त्यति धेरै मर्ने मन भए अरु बाटा पनि छन् मर्ने । आफ्नो घाँटीमा पासो लगाउन सकिन्छ, बिष पिउन सकिन्छ, खोलातिर हाम फाल्न पनि त सकिन्छ नि हैन र । मन मनै सोच्छे हो बाटो छ धेरै त्यो चितासम्म पुग्ने तर उसलाई संसारको अगाडि कातँर र लाच्छी बन्नु छैन आफै मृत्यु अंगालेर । जीवन जिउँदाको लामो यात्राको थकान शरीरभरि छ, उजाडिएका खुशी । रित्तिएका रहरहरु, अनि विरक्तिएका सपनाहरु बाहेक के नै छ र जीवनमा ।

जर्बरजस्ती हाँसेका ओठहरु, देखाउनलाई देखाइएका खुशीहरु कति दिन टिक्लान र । मनै बेखुशी बनी मञ्चिएको नाट्क कति दिन चल्ला खै ? आँखा चिम्म गर्छे अन्धकार छ जीवन जस्तै । आँखा खोल्छे टाढासम्म नियाल्छे छ त केवल शून्यता छ । जीवन जिउँने न आधार देख्छे नत रहर बुन्छे ।

धेरैको आँखा नियाल्छे, धेरैको जीवन खोतल्छे अनि आफूले आफैलाई सोध्छे कति छन् म जस्तै यहा जसको खुशी लुटिएको सपना टुटेको छ अनि जीवन छुटेको छ ।आफूभित्र जसरी बाँचे पनि दुनियाँले साहसी त देखेकै छ । धेरै आफूजस्तैको लागि उदाहरण त बनेको छ जीवन ।

केही समय एकोहोरो सोच्यो भने लाग्छ अब बाँच्न हुन्न । धेरै पटक लाग्यो उसलाई बाच्न हुँदैहुन्न । त्यो चितासम्म पुग्ने बाटो नखोजेकी पनि त हैन नि । तर खै केले रोक्यो उसलाई । उसका श्वास चल्दै रह्यो । जीवन जसोतसो चल्दै गयो । तैपनि उसलाई बेजोडसँग मृत्युको पर्खाइ छ । उसलाई आफ्नाले छोडेर गएकाहरुसँग भेट्न हतार छ ।

मृत्यु अंगालेपछि उसलाई माया गर्छु भन्नेहरु चुपचापसँग चितामा जलेर खरानी बनेका छन । उसले आफ्ना खुशी, इच्छा, सपना, रहर, माया सबैलाई चितासँगै दागबत्ती दिएकी थिई ।

आज उ बाँचेकी छे त मात्र दुनियाको लागि, किनकि मृत्यु अंगाल्दा उ लाच्छी कहलिन्छे कातँर मानिन्छे यो समाजको लागि । उसलाई मात्र एक सपनाको माया छ । कसैका सपना छन जसलाई पुरा गर्नेे एक मात्र सपना छ । जसका लागि उ अझै बाँच्दछे, दुनियाको अगाडी हाँस्दै छे । मृत्यु सायद कसैको बसको कुरा पनि त रहेनछ । नजिकबाट मृत्युसँग लडेको पनि देखेकी छे उसले मृत्यु अंगालेको पनि देखेकी छे ।

धेरे मान्छे छन् यो दुनिया अझै जसले मृत्यु जितेका पनि छन कति त्यस्ता छन जसले मृत्युसग हारेका छन । जसले जसरी भएपनि मृत्यु सबैले स्वीकार्नु छ । उसको लागि मृत्यु पर्खनुछ । ताकि मृत्युपछिका उसका सपना र चाहाना पुरा होउन । अनि उ पनि आकाशमा धुवाँ बनेर विलिन होस् । उसको शरीर पनि आगोको रापले जलोस् अनि खरानी बनोस् जसरी अरु अरुका बनेका छन् । उसको जीवनको अन्तिम कामना मृत्यु जो चाँडै उसलाई लैजान आओस् ।

उसको आँखा सधैंका लागि बन्द बनोस् फेरि कहिल्यै नखुल्ने गरी । उसको श्वास सधैंका लागि बन्द होस् ताकि फेरि कहिल्यै चल्न नपाओस् । उसको मुटुको गति बन्द होस् फेरि कहिल्यै नधड्कियोस् । उसको शरीर मुडो जस्तै बनोस् फेरि कहिल्यै नलल्बलाउने गरी । बस्, उ लास बनोस् चितामा जलाउने गरी ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार ०६:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।