एक यस्तो सन्तानको जन्म होस जसको जन्म पछाडि अहिलेकै जस्तो सधै खाना, नाना, छाना लगाएतको अभाव र दबाब जनताले महशुस गर्नु नपरोस् । गौतम बुद्ध , सिता जन्मिएको देशमा एक सपूत जन्मन मन्दिरमा बसेको पुजारीले भगवान बेचेको र तिनै लाई फर्काउन तिनै भगवान सामु भरोसा गर्नु परेको जस्तै भएको छ । विश्वका केही देशहरू जसमा एकजनाको अग्रसरताले आफ्नो फरक अस्तित्व र पहिचान बनाएका छन ।
रसीया ( विश्व विशाल , जर्मनी ( शक्तिशाली , अमेरिका ( संयुक्त , सिङ्गापुर ( सम्पन्न गराउनुमा एक महान ब्यक्ति जसले आफ्नो राष्ट्रका लागि सुयोग्य राजनेता पाएको थियो । तर विडम्बना हाम्रो देशले त्यो सपूत पाएको छैन् । वीर सन्तानको जन्म नभएको हैन। अङ्ग्रेजको बिरुद्ध नालापानीमा बलभद्र सिंह कुँवर नेतृत्वको फौजले देखाएको साहसको इतिहास देखि अहिले बेलायत , सिङापुर, भारत लाई नेपालकै सन्तान चाहिएको छ जो आफ्नो सन्तान बाट विश्वस्त हुन सकेन ।
जर्मनीका कैइजर भन्थे सारा विश्व आओस् डटेर लड्छु तर गोर्खालीको नाम सुन्दा मेरो मुटु काम्छ । वीर छौ रत बुद्धु छौ भनौं भने बुद्धि भएका भन्ठान्नेहरु ठुस्केलान तर इतिहासमा कहिल्यै दासी नभएको पुरानो सार्बभौमसत्ता सम्पन्न देश नेपाल आफ्नै सन्तान बाट पटकपटक बलत्कृत भएको छ । पात्र फेरिएका छन परिवर्तनको बहानामा तर प्रबृत्ति एकै छ । अवस्था चाहिँ जसबाट बलत्कृत हुुन्छ उसै सामु न्याय माग्न पुग्नु परेको छ ।
मेरो देश नेपाल (आमा) कैयन पटक आफ्नै कुसन्तान हरु बाट आफू लाई जोगाउन सकिनन् । आफूलाई बुद्धि भएका भन्ठान्ने नेता भनौदा बाट रात दिन लुटिएकि छिन । मेरो देश गरिब भएर जन्मिएको थिएन । संसारका पुरानो देशमा आउने मेरो देश लङ्घडो, अन्धो, बैरो या अरु कुनै हिसाबले कमजोर छदै थिएन तर आज यस्तै अवस्थामा राखिएको छ ।
आफ्ना अङ्ग हरु काटिएका छन । टिस्टा ( काँकडा सम्म फैलिएको देश आज नक्सा हेरेर चिन्ह लगाउदै त्यहाँ सम्म थियो भन्नू परेको छ । एकै रात कैयन सिमाका खम्बा गायब हुन्छन, सुतेर उठ्दा अर्कैको देशको भएको छ तर कोही बोल्दैन ( बोल्दै बोल्दैन ।कमजोर भएर हेपिएको हुँदै हैन । हामी कमजोर छँदै छैनौं तर हामीलाई राज्य संचालन गर्ने शासकहरुले सधै कमजोर बनाए । अझै धर्म, जात, क्षेत्र, लिङ्ग सबै तिर धन्दा चलाएर बेच्छन । अझै आफूनै परिवर्तन, समृद्धिको वाहक सर्वव्यापि ठान्छन ।
के भन्नौ यार व्यक्तिले खेलाए कैले,कैले व्यवस्था ले ! अहिले व्यक्ति, व्यवस्था परिवर्तन भए तर कुप्रवृतिको नेतृत्वले खेलाइ रहेछ । जनताकै लागि भनेर गरेको परिवर्तननै तिनैको कारण जनता लाई आभाष हुन दिइएन । फरक के पाएँ भनौत मैले ? पहिलेको शासक र अहिलेको शासकमा ! स्वतन्त्रता भनौं भने ! तिम्रा भजन नगाउने आवाजलाई बन्देज गर्न खोज्छौ ।
न्याय ,सम्मान, पारदर्शिता त झनै कसरी भनौं ? आफ्नै श्रीमानको हत्या हुँदा हत्यारा पत्ता लगाउन नचाहने श्रीमती लगाएतको शासन बाट । समानता भनौं भने तिम्रा आची गिलो हुँदा २४सै घण्टा तैनाथ रहने एअर एम्बुलेन्स र झन्डै ८० लाख युवाले विदेशमा रगत पसिनाले कमाएर जम्मा गरिदिएको राज्यको ढुकुटी तयारी हुन्छ तर जनताले डाक्टरलाई भेट्नकै लागि जनयुद्ध गर्नुपर्छ । रोगहरू आफू ठ्याक्कै को हुँ भनेर चिनिन चाहँदा पनि गरिब जनतामा लागेको त्यो रोगले चिनिने अवसरनै पाउदैन ।
गरिबले दशैं–दशैंमा मात्र खसी खाने चलन भएजस्तो अस्पताल देख्न पनि गरिबलाई छुट्टै दशै आउनुपर्छ । अनुभव र अनुमान फरक कुरा हुन महोदय ! तपाई हाम्रो पिडा त्यहाँ नपुग्दा सम्म मात्र बुझ्नु हुन्थियो तर अब तपाई लाई बुझ्न जरुरीनै परेन ।
हाम्रा आँखा यति रोगी भइसकेका छन् कि यिनीहरूले सपना पनि धमिलो देख्छन् । हामीजनता सबैसँग छाती पनि छ । अलि बलियो गरी खोक्यो भने भत्कीजालाजस्तो छाती । तर तपाईंको त अहिले बलियो भएको छ । यति हाम्रा धमिला आँखाले पनि ठम्याए महोदय ।
हामीलाई अब मिलेर राज्यलाई चुस्ने किर्नाहरु हैन ।
जनता हाँस्दा सगै हाँस्ने (रुँदा सगै रुँने व्यक्ति जो आफूलाई मर्न हैन जनता मर्न डराउने अनि सधै सबै जनता, जननी, जन्मभुमि लाई आफ्नो प्राण भन्दा माथि राख्ने व्यक्तिको जन्म चाहिएको छ । देशले बोलिमा हैन व्यबहारमा परिवर्तन, विकास र समृद्धि खोजेको छ । हो यस्तै काम पूरा गर्न सक्ने सुयोग्य नेतृत्व जन्म होस् भन्ने चाहेको हो । हरेक धर्म ले एउटा अदृश्य शक्तिलाई मान्दछ । त्यसैलाई शक्तिशाली ढान्दछ । यदि साच्चै त्यो अदृश्य शक्ति छ भने नेपाल र नेपालीका लागि चाहिएको योग्य नेतृत्वको जन्म होस् ।
उदयपुर (लेखानी), हालः दक्षिण कोरिया
















प्रतिक्रिया