साझा यातायातले रात्रिकालीन बस सेवा सुरु गरेको छ । काठमाडौंका तीन रुटमा साझाले रात्रि सेवा सुरु गरेको हो । पहिलो चरणमा साझाले राति १० बजेसम्म सेवा दिने साझा यातायातका प्रवन्धक महेन्द्रराज पाण्डेयले बताए । न्यूरोड गेटबाट टिचिङ हस्पिटल हुँदै नारायण गोपाल चोक–नयाँ बसपार्कमा बस सेवा सुरु गरेको हो ।
न्यूरोड गेटबाट नयाँ बानेश्वर–एयरपोर्ट–चावहिल हुँदै नयाँ बसपार्क र न्यूरोड गेटबाट एनएसी–रत्नपार्क हुँदै त्रिपुरेश्वर–टेकु–कालीमाटी–कलङ्कीसम्म राति १० बजेसम्म साझाले बस चलाएको हो । यी रुटमा चल्ने बसहरु सोही रुटबाट फिर्ता हुने पाण्डेयले जानकारी दिए ।
अन्य रुटका बस भने राति नौ बजेसम्म सञ्चालन हुँदै आएका छन् । साझाले एउटा सेमिलोफ्लोरसहित ७१ वटा बस सञ्चालन गर्दै आएको छ । जसमध्ये चारवटा बस उपत्यकाबाहिर सञ्चालन हुने गरेका छन् ।
थप कम्पनीले पनि चलाउने
काठमाडौंमा रात्रिबस सञ्चालन हाललाई ट्रायलका रुपमा राखिएको प्रवन्धक पाण्डेयले बताए । “अन्य बसहरु हाल नौ बजेसम्म सञ्चालन भइरहेका छन् । यात्रुको चाप हेरेर आवश्यकताअनुसार थप रात्रिकालीन बस सञ्चालन गर्नेर्छौं,” पाण्डेयले भने ।
काठमाडौं महागनरपालिकाले स्थानीय राजपत्रमा प्रकाशित सवारी तथा यातायात व्यवस्था ऐनअनुसार यातायात कम्पनीसँग रात्रिकालीन बस सञ्चालन गर्न थप छलफल गर्ने भएको छ ।
ऐन राजपत्रमा प्रकाशित भएर आइसकेकाले चाँडै कार्यान्वयन गरिने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । रात्रिकालीन बस सञ्चालनका लागि अन्य यातायात व्यवसायी, यातायात कम्पनी र यातायातसम्वद्ध पक्षसँग महानगरले छलफल गर्ने डङ्गोलले जानकारी दिए ।




















प्रतिक्रिया