सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिँदै जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग महत्त्वपूर्ण टेलीफोन वार्ता गरिन वार्तामा कोरोना भाइरसको रोकथामका लागि आपसी सहयोगका लागि कुराकानी भएको भनिएपनि त्यही फोनवार्ता मार्फत नेकपाको आन्तरिक विवादमा चीनको प्रवेश भएको हो ।
उक्त फोनवार्तामा चिनियाँ राष्ट्रपति सी जिङपिङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ अवस्थाबारे चासो राखेको भनिएपनि यो ओलीको पक्षमा चीन रहेको बलियो कुटनैतिक सन्देश रहेको चिनियाँ कुटनैतिक क्षेत्रका जानकारहरूको भनाइ छ ।
नेकपा भित्र आन्तरिक विवाद चलिरहँदा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसँग भिडियो कन्फरेन्समा कुराकानी गरेका थिए । साढेँ तीन घण्टा लामो कुराकानीमा नेकपाका प्रदेश इन्चार्ज समेत सहभागी भएका थिए । उक्त भिडियो कन्फरेन्समा समेत चिनियाँ पक्षले प्रधानमन्त्री ओलीको पक्षमा लविङ गरेको बताइन्छ ।
१७ वैशाखमा नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा मागियो । नेताहरूले फरकफरक तुरुप फाले । बैठक टुंगोमा नपुगेपछि २० वैशाख लागि पुनः बोलाइयो । त्यो तीन दिनमा राजनीतिक सक्रियता बढाउनेमा नेकपाका नेताहरू मात्रै थिएनन् चिनियाँ राजदूत होउ यान्छी पनि थिइन ।
यान्छीले १८ वैशाखको राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरिन् । लकडाउन चलिरहँदा उनको भेटहरु भए । १९ वेशाखको विहान यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारमा र वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरमा भेटिन् । २० वैशाखमा नेकपा सचिवालयले ओलीको सत्ता टिक्ने या नटिक्नेबारे निर्णय गर्नेवाला थियो । राजदुत यान्छीको ठिक त्यसअघिको सक्रियता अर्थपूर्ण बन्यो ।
२० वैशाखमा नेकपा सचिवालय बैठक अघि नै विवादमा आमने सामने भएका दुई अध्यक्ष ओली र प्रचण्डबीच सहमति बनिसकेको थियो । उपाध्यक्ष बामदेव गौतमको बारेमा पनि निर्णय गर्ने तयारीबारे खुलासा भइसकेको थियो ।
नेकपा सचिवालय बस्नुअघि चिनियाँ राजदूत यान्छीको सक्रियताले विवाद मिलाउन चिनियाँ भूमिका रहेको टिप्पणीहरु भएका छन् । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेकपा विवाद मिलाउनमा चिनियाँ भुमिकाबारे उल्लेख गरेका छन् । रेडियो एनआरएनसँगको कुराकानीमा दुई कम्युनिस्ट पार्टी मिलाउन चीनले भुमिका निभाएको बताएका हुन् । उनको तर्कलाई आधार मान्ने हो भने अहिलेको विवाद मिलाउन पनि चीनले प्रत्यक्ष भुमिका खेलेको देखिन्छ ।
अहिले नेकपा विवाद मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संकट टरेको छ । मिलेर जाने सहमति पनि भएको छ । तर, पहिलोपटक नेपालको राजनीतिमा चिनियाँ सक्रियता पर्दाबाहिरै देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको निकट सम्बन्ध र गत वर्ष भएको संयुक्त प्रशिक्षणसँगै नेपालको राजनीतिमा मात्र नभई सत्तारुढ दलमा पनि चिनियाँ प्रभाव देखिएको छ ।





















प्रतिक्रिया