Logo

बागमती प्रदेश

विश्वासको मत नलिदै अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद धरापमा



काठमाडौं । वागमती प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त भएकी अष्टलक्ष्मी शाक्यको पद विश्वासको मत नलिदै धरापमा परेको छ । एमाले विभाजित भएसँगै प्रदेश सरकार पनि अल्पमतमा परेको हो ।

सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनाल र प्रदेश सांसद राजेन्द्रप्रसाद पाण्डे माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेपछि शाक्य नेतृत्वको सरकार एकसातामै संकटमा परेको छ । वागमती प्रदेशसभामा १ सय ९ सांसद छन् । जसमध्ये एमालेका ५६ जना सांसद थिए । दुई जना एकीकृत समाजवादीमा लागेपछि एमालेका ५४ सांसद भएका छन् ।

वागमतीमा बहुमतका लागि ५५ सांसद चाहिन्छ । दुई सांसदले साथ नदिनेबित्तिकै शाक्यको सरकार अल्पमतमा परेको छ ।

भदौ २ गते मुख्यमन्त्री बनेकी मुख्यमन्त्री शाक्यले सरकार जोगाउन केही साना दलहरुसँग सहकार्य गर्नुपर्ने बाध्यता छ । माधव नेपाल समूहको बलियो नेताका रुपमा चिनिएकी शाक्यलाई ओली समूहका डोरमणि पौडेललेनै मुख्यमन्त्री तथा संसदीय दलको नेताबाट राजीनामा दिएर नेतृत्वको जिम्मा लगाएका थिए ।

शाक्य अहिले एमालेकै पुरानो जिम्मेवारीमा फर्किसकेकी छन् । तर, मन्त्री खनालले भने एकीकृत समाजवादीको सनाखत प्रक्रियामा भाग लिएर दल फेरेका छन् ।

चितवन र धादिङबाट २७ हजार बढी मत ल्याएर प्रदेश सभामा निर्वाचित भएका खनाल र पाण्डेकै कारण एमाले नेतृत्व सरकार संकटमा परेको हो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १२:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।