Logo

प्रमुख समाचार

काठमाडौं साक्षर जिल्ला घोषणा, ९६.८८ प्रतिशत साक्षरता



वागमती प्रदेश सरकारले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेको छ । काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रममा वागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरे । उनले काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्न पाउँदा धेरै खुशी मिलेको भन्दै अझै पूर्ण साक्षर बनाउन लागि पर्ने बताए । मन्त्री सुवेदीले ललितपुर शतप्रतिशत साक्षर जिल्ला भएको भन्‍दै काठमाडौंलाई पनि पूर्ण साक्षर बनाइनु पर्नेमा जोड दिए ।

शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौती रहेको बताए । उनले श्रोत र साधन पर्याप्त भएपनि यसलाई व्यवस्थापन गर्न नसकेको बताए ।

त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा शाखामा काम गर्ने शिक्षा अधिकारीहरुलाई शिक्षालाई व्यवस्थित बनाएर लैजान अनुरोध गरे । उनले प्राविधिक शिक्षा क्षेत्रमा बढी भन्दा बढी रकम लगानी गर्न अनुरोध गरे।

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत व्यवस्था रहेकोछ । सोही आधारमा काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १७:१९   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।