कोरोना महामारीका कारण बन्द भएका फिल्म हल अब असोज २१ (घटस्थापना) देखि सञ्चालन हुने भएका छन् । घटस्थापनाको अवसर पारेर २१ गतेबाट फिल्म हल खोल्न नेपाल चलचित्र संघ तयार रहेको महासचिव अशोक शर्माले जानकारी दिए ।
देशभरका हल खोलेर असोज २१ देखि फिल्म प्रदर्शन सुरु गर्दैछौ’ शर्माले भने ‘सुरुवातको चरणमा ठुला, चर्चित भन्दा पनि मध्यम बजेटको फिल्म लगाउने ।’ शर्माले २१ गते निर्देशक शोभित बस्नेतको फिल्म ‘डाँडाको बरपिपल’ लाग्न सक्ने सम्भावना भएको बताए ।
फिल्मले माहोल तताएपछि राम्रा नेपाली फिल्म पनि लाग्नेछन्’ शर्माले अगाडि थपे ‘अव नियमित हल चल्नेछन् । फिल्मको समस्या छैन । समस्या दर्शक आउँछन्, आउँदैनन् भन्ने हो ।’
विगत डेढ वर्षदेखि बन्द रहेको फिल्म प्रदर्शनलाई सञ्चालन गर्दा अब एउटा नेपाली फिल्म प्रदर्शन भएको दुई सातापछि मात्रै अर्को फिल्म प्रदर्शन गर्न पाइने प्रावधान चलचित्र संघले गरेको छ । अबको तीन महिनासम्म स्वदेशी तथा विदेशी फिल्म प्रदर्शन गर्दा हलले निर्मातालाई पहिलो सातामा ५५ प्रतिशत र दोस्रो सातामा ५० प्रतिशत सेयर रकम भुक्तानी गर्ने र नेपाली फिल्मको प्रदर्शन मिति तोकिएको समयमा विदेशी फिल्म प्रदर्शन नगर्ने चलचित्र संघले जानकारी दिएको छ ।





















प्रतिक्रिया