नेपाल टेलिकमले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर ज्येष्ठ नागरिकलाई निःशुल्क सिम वितरण गर्ने भएको छ । यही असोज १५ गतेदेखि २५ गतेसम्म देशैभरका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क सिम वितरण गर्ने भएको हो ।
टेलिकमले वितरण गर्ने सिममा रु. १० ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्न सकिने, २० वटा सन्देश पठाउन मिल्ने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा दिएको छ ।
उक्त सुविधा एक महिनासम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । उनका अनुसार टेलिकमको देशभरका काउन्टरबाट ज्येष्ठ नागरिकले उक्त सुविधा लिन सक्नेछन् ।
टेलिकमले दिएको सुविधा प्रयोजनका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र बुझाउनु पर्नेछ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकलाई उपलब्ध गर्ने निःशुल्क सिमको सुविधाले जेष्ठ नागरिकलाई दूरसञ्चार र सूचना प्रविधिको पहुँचमा ल्याउन सहयोग पुग्ने टेलिकमले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक असोज १५ गते(आज) परेको छ ।





















प्रतिक्रिया