काठमाडौ । गत असोज २५ गते प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज उक्त प्रक्रियालाई अगाडि नबढाउने भएकी छिन् । नेकपा (एमाले)को कार्तिक ६ र ९ गते देशैभर हुन लागेको वडा र इलाका अधिवेशनलाई कारणको बहाना बनाउँदै शाक्यले बिहीबारको प्रदेशसभामा विश्वासको मत नलिने भएकी हुन् ।
बिहीबारको प्रदेशसभा बैठकमा शाक्यले उनी नेतृत्वमा आएदेखि हालसम्म सरकारले गरेका कामहरुको उपलब्धिका बारेमा मात्र कुरा राख्ने बताइएको छ । यसअघि एमाले बागमती प्रदेश संसदीय दलले आजका लागि बोलाइएको प्रदेशसभा बैठक कात्तिक ११ गतेसम्म सार्नका लागि अनुरोध गर्दै पत्राचारसमेत गरेको थियो । तर, संसद सचिवालयले बैठक नसारेपछि आज बैठक बस्न लागेको हो।
बागमती प्रदेश सभामा एक सय नौ सदस्य छन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद आवश्यक पर्छ । हाल सत्तारूढ नेकपा एमालेसँग ४३ जना सांसदमात्र छन् । उनलाई १२ जना अन्य दलका सांसदले समर्थन गरे मात्रै विश्वास पाउने सम्भावना रहन्छ ।
यता सत्ता गठबन्धनसँग भने स्पष्ट बहुमत छ । जसमा नेकपा (माओवादी) केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा (एकिकृत समाजवादी)का १३ गरी तीन दल मात्र मिल्दा पनि ५८ जना पुग्छन् ।





















प्रतिक्रिया