Logo

बागमती प्रदेश

मुख्यमन्त्रीबाट राजीनामा दिंदै शाक्यले भनिन्ः संस्कारयुक्त बनौं, द्वन्द्व कम गरौं



बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभामा विश्वासको मत विभाजन नभइकनै राजीनामा दिएकी छन् । उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको जनाउँदै राजीनामा दिएकी हुन् ।

शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको बताउँदै प्रदेशसभामा द्वन्द्व कम गर्न आफू मतविभाजनमा जान नचाहेको बताइन् ।

उनले भनिन्– ‘हामी संस्कारयुक्त बनौं, द्वन्द्व कम गरौं । प्रदेश बनाउन मिलेरै काम गरौं । आफ्नो पदीय दायित्व होला । तर आखिरमा प्रदेश बनाउन हामी नमिली सुखै छैन ।’ मुख्यमन्त्री शाक्यले आगामी दिनमा मिलेर अघि बढ्न अहिले राजीनामा दिने बाटो नै आफूलाई ठीक लागेको बताइन् ।

शाक्यले हिजाको परम्परागत सोच त्याग्न आग्रह गर्दै प्रतिपक्ष भएपछि विरोध गर्नैपर्ने, सत्तापक्षले जस्तो भए पनि पास गरेर जानुपर्छ भन्ने सोच त्याग्नुपर्ने बताइन् । संस्कारयुक्त बागमती प्रदेश बनाउन आलोचना र आत्मालोचनाको बानीको विकास गर्नुपर्ने पनि शाक्यले बताइन् ।

नेकपा एमाले विभाजित भई नेकपा (एकीकृत समाजवादी) बनेपछि अल्पमतमा परेको शाक्यको सरकारले विश्वासको मतसम्बन्धी प्रस्ताव असोज २४ गते प्रदेशसभा सचिवालयमा पेश गरेको थियो ।

त्यसपछि उक्त प्रस्तावमा कात्तिक ४ गते प्रदेशसभामा छलफल भएको थियो । त्यसपछि मतविभाजनका लागि बुधबारसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । बागमती प्रदेशसभामा १०९ सदस्यमध्ये मुख्यमन्त्री शाक्यलाई नेकपा एमालेका ४३ सांसदको समर्थन छ । नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यमध्ये १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।

शाक्य बागमती प्रदेशमा एकल बहुमतमा रहेको दलको नेताको रुपमा भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार १४:५७   :  बजे

414
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।