Logo

प्रमुख समाचार

बागमतीमा आज नयाँ सरकार, राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै



हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेशको विपक्षी गठबन्धनले बिहीबार नयाँ सरकार बनाउँदैछ । प्रदेशमा बहुमत रहेको गठबन्धनले नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बनाउन लागेको हो ।

बुधबार विश्वासको मतका लागि प्रकृयामा जाने अनुमान भइरहेका बेला अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा दिएकी थिइन् । शाक्यको राजीनामासँगै गठबन्धनलाई सरकार बनाउने बाटो खुलेको हो ।

मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले दलहरुलाई मुख्यमन्त्रीमा दाबी गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका छन् । विपक्षी गठबन्धनका तर्फबाट पाण्डेले बुधबार नै ५९ प्रदेशसभा सदस्यको बहुमत समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।

मुख्यमन्त्री नियुक्त भएपछि पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेको जनाइएको छ । पाण्डेले आज तीन जना मन्त्री नियुक्त हुने र तिहारपछि मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा पाण्डे रहेको बताइएको छ ।

पाण्डे नेतृत्वको मन्त्रिमण्डलमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल, नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान र एकीकृत समाजवादीका कृष्ण खनालले आज मन्त्रीको सपथ लिने तयारी छ । माओवादी केन्द्रले अर्थ मन्त्रालय, कांग्रेसले भौतिक पूर्वाधार विकास वा स्वास्थ्य मन्त्रालय र समाजवादीले मुख्यमन्त्रीसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा दाबी गरिरहेको छ ।

बागमती प्रदेशसभामा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२ र एकिकृत समाजवादीको १३ साँसद सदस्य रहेकाले तीन दलको नै स्पष्ट बहुमत छ । १०९ प्रदेशससभा सदस्य रहेको यस प्रदेशमा बहुमत सावित गर्न ५५ सदस्यको समर्थन आवश्यक पर्छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार ०९:०५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।