गण्डकी प्रदेशमा पर्ने हिमालपारीको जिल्लाको नामबाट चिनिने गरेको जिल्ला मुस्ताङको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष हुन् सुवर्णकुमार विष्ट । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका लोमान्थाङ, छोसेर र छोन्हुप गाउँ विकास समितिहरूलाई समेटेर लोमान्थाङ गाउँपालिका घोषणा गरिएको थियो । लोमान्थाङ गाउँपालिकाको क्षेत्रफल ७२७ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १,८९९ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा चीन, पश्चिममा चीन, उत्तरमा चीन र दक्षिणमा दालोमे गाउँपालिकासम्म छ ।
गाउँपालिकाको आजको अवस्था, विकास निर्माणका कार्यहरु, कोरोना र वाढी पहिरो नियन्त्रणमा भएका पहलहरु र समग्र गाउँपालिकाको समसामयिक विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको सम्पादित अंश :
लोमन्थाङ गाउँपालिकामा कोरोना नियन्त्रणका लागि के कस्ता कार्यहरु भैरहेका छन् ?
सर्वप्रथम कोरोना संक्रमण फैलीदै गर्दा हामीले गाउँवासीलाई कोरोना नफैलियोस भनेर जनचेतना फैलाउने काम गरियो । त्यस्तै सेनिटाइजर माक्स लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरियो । सरसफइलाई पनि हामीले ध्यान दियौं । दुर्गम गाउँपालिका भएकोले अस्पताल लैजान गारो हुने हुनाले गाउँमै स्वास्थ्य केन्द्र स्थापना गरेर उपचार प्रदान गरियो ।
जनतासँग गरेको प्रतिवद्धता कति पुरा गर्नुभयो ?
हामीले भोट लिने बेलामा जे जे भनेका थिर्यौ अर्थात प्रतिवद्धता गरेका कुराहरु ८० प्रतिशत पुरा गरिसकेका छौ । यो बाँकी समयमा बाँकी २० प्रतिशत पनि अवश्य पुरा गर्ने छौं । विकास निर्माणका कार्यहरुको साथै सांस्कृतिक र एेतिहासकि क्षेत्रहरुको पनि संरक्षण गरेका छौं । यो पर्यटकीय क्षेत्र भएकोले हामीले त्यही अनुसारका कार्यहरु गरिरहेका छौं ।
गाउँपालिकामा विकासका योजनाहरु कसरी अगाडि बढाउनुभएको छ ?
हामीले सबै विकासका कामहरु जनसहभागितामूलक तरिकाले गरिरहेका छौं । जनताको सहभागीतामा नभएको विकासको अर्थ नहुने र दिगो पनि नहुने भएकोले हामीले जनताको मागलाई ध्यानमा राखेर जनतासँग सहमती र सहकार्यमा गरेर काम गरेका छौं । हाम्रो पालिकामा बजेट भाषण भन्दा अगाडि टोल टोलमा छलफल गरिन्छ ।
गाउँपालिका र नागरिकबीचको सम्बन्ध कस्तो छ ?
गाउँपालिका र नागरिकबीचको सम्बन्ध नङ र मासुको जस्तो छ । हामीले जुनसुकै कार्यहरु नागरिकको सहकार्यमा गर्ने भएकोले प्रगाढ नै छ ।
आगामी योजनाहरु के-के छन् ?
पालिकामा भौतीक पूर्वाधार निर्माणका कार्यहरु लगभग पूरा भएको छ । हाम्रो गाउँपालिका चिनसँग सिमाना जोडिएको छ । लोमन्थाङ केरला नाका देखी भैरहवा सम्मको करिडोरलाई पूरा गर्ने योजना रहेको छ । राष्ट्रिय प्रशारणको लाइनलाई पनि पुरा गर्ने योजना छ । यसमा कामहरु भैरहेका छन् ।
केन्द्र र प्रदेश सरकारबाट के कस्तो सहयोग पाउनुभएको छ ?
करिडोरमा पनि सहयोग मिलेको छ । कोरोना महामारीको कारण बन्द भएको केरला नाका खुलाउन पनि केन्द्र सरकारले पहल गरिरहेको छ ।
बाडी पहिरो रोकथामको लागि के कस्ता कार्यहरु गर्नुभएको छ ?
नदिको नियन्त्रण गर्ने कामहरु गरेका छौं । पहिरो जोखिम क्षेत्रका जनतालाई जनचेतना वृद्धि गर्ने सचेत गराउने लगायतका कार्यहरु गरेका छौं ।
यो कार्यकालमा के कस्ता समस्याहरुको समाधान गर्नुपर्यो ?
भौगोलिक दृष्टिकोणले अनकन्टार ठाउँभएकोले विकास गर्न धेरै गाह्रो भयो । कुनै पनि काम गर्दा सामग्री ढुवानी गर्दामै बजेट सिद्धिने समस्या हुन्छ । तर पनि मुक्तिनाथ क्षेत्र र सदरमुकाम भने धेरै राम्रो भएको छ । काम गर्नसक्ने युवाहरु व्यरोजगारीको कारणले गर्दा विदेश जान्छन् । गाउँमा सबै बुढापाका मात्रै छन् । यसले गर्दा पनि विकास गर्न गारो भएको छ । गाउँपालिकाको धेरै जसो वडामा स्याउ खेती हुन्छ युवाहरु नहुनाले यसमा पनि नयाँनयाँ योजना र उत्पादन गर्न सकिएको छैन् ।
अन्त्यमा, यो कार्यकालमा गाउँपालीकामा गर्नुभएको मुख्य कामहरु के-के हुन् ?
हामीले गाउँपालिका कार्यलय भवन, प्रत्येक वडाहरुमा वडा कार्यलय भवन निर्माण गरेका छौं । त्यसै गरि ३ वटा स्वास्थ्य चौकी भवन निर्माण गरियो । ५० सैयाको अस्पताल निर्माणाधिन रहेको छ । गाउँपालिका भित्र ८ वटा सडकपुल निर्माण र सबै वडाहरुमा सडक सञ्जाल पुर्याएका छौं । एक जना विद्यार्थी ३ जना शिक्षक भएका जस्ता विद्यालयहरुलाई समायोजन गरियो । टाढाका विद्यार्थीहरुलाई गाउँपालिकाकै बजेटबाट निसुल्क होस्टेलको व्यवस्था गरेका छौं । गाउँपालिकाले नै मातृभाषा शिक्षक राखेको छ । यसो गर्दा विद्यालयमा विद्यार्थीको संख्या बढेको छ । हामीले गाउँपालिकाबाट ११, १२ पढ्न जाने विद्यार्थीलाई प्रतिव्यक्ती ५० हजारको दरले छात्रावृती प्रदान गरेका छौं ।



















प्रतिक्रिया