Logo

राजनीति

राजनीतिक पार्टीहरूको महाधिवेशन : कसको कति खर्च, कति छन् क्रियाशील सदस्यहरू ?

सत्यको दृष्टिले मुलुकलाई नियाल, महाधिवेशन गर्नै पर्दैन



यतिबेला दलहरूलाई महाधिवेशनको चटारो छ । सङ्घीय संसद्मा रहेका अधिकांश दल यतिबेला आ–आफ्नो राष्ट्रिय महाधिवेशनमा सक्रिय भएका छन् । महाधिवेशनमा खर्च जुटाउन दलहरूले विभिन्न उपाय अवलम्बन गरेका छन् । कोभन्दा को कम भन्दै, भड्किलो र देखावटी खर्च गर्नमा सबै दलहरू माहिर छन् । यतिबेला दलहरूलाई आ–आफ्नो पार्टीको क्रियाशील सदस्यको संख्या जसरी भए पनि बढीभन्दा बढी देखाउनु छ ।

दलहरूको आर्थिक खर्च व्यवस्थापन पारदर्शी नहुने गरेको तथा भड्किलोे कार्यक्रम हुने गरेकोजस्ता चर्चासमेत हुने गरेको भए पनि नेताहरूले निर्वाचन खर्चलाई मितव्ययी र पारदर्र्शी हुने दाबी गरिरहेका छन् । सत्तारूढ नेपाली काँंग्रेस, नेकपा (माओवादी केन्द्र) देखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्र्टी नेपाल लगायतका दल यतिबेला महाधिवेशनमा व्यस्त छन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण दलहरूले निर्धारित समयमा अधिवेशन गर्न सकेका थिएनन् । यतिबेला दलहरूको अधिवेशनको चहलपहलसमेत बढेको हो । कुन दलले कति गर्दैछन् त खर्च ? थोरै चर्चा गरौं ।

एमाले महाधिवेशन

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा ७ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । चितवनको नारायणी किनारमा यही मङ्सिर १० गते उद्घाटन र ११ तथा १२ गते सौराहामा बन्दसत्र हुने सो महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समिति अन्तर्गतको आर्थिक समितिका संयोजक विष्णु रिमालले केन्द्रीय कमिटीको दायित्वमा उक्त रकम पर्ने अनुमान गरेका छन् । महाधिवेशनको बन्दसत्र पनि सौराहाको सेभेन स्टार होटलमा भइरहेको छ ।

सेभेन स्टार होटलमा करिब हजारदेखि १२ सयसम्म प्रतिनिधिका लागि व्यवस्थापन गरिएको छ भने थप प्रतिनिधिका लागि अर्को छुट्टै व्यवस्थापन मिलाइएको छ ।

संयोजक विष्णु रिमालले महाधिवेशनमा लाग्ने खर्चको अनुमान गर्न नसकिने बताएका छन् । उनी भन्छन्– ‘यो महाधिवेशनमा कति खर्च लाग्ला भन्ने आँकलन हामीले यसअघिका तीन वटा महाधिवेशन र एउटा विधान महाधिवेशनलाई हेरेर गरेका छौ । उनका अनुसार ७ करोड ५० लाखसम्म खर्च हुने अनुमान छ ।

आठौँ महाधिवेशनमा करिब रु २ करोड २५ लाख र नवौँ महाधिवेशनमा रु ४ करोड २५ लाख खर्च भएको थियो । गत असोजमा ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनमा ६ हजार ४३५ प्रतिनिधिको उपस्थिति हुँदा करिब रु ५ करोड खर्च भएको थियो ।

नेपाली कांग्रेसको महाधिवेशन

नेपाली कांग्रेसले १३ औं महाधिवेशन सम्पन्न गर्न झन्डै साँढे चार करोड खर्च लागेको जनाएको छ । सार्वजनिक प्रतिवद्धता विपरीत महाधिवेशन सम्पन्न भएको दश महिना बित्दासमेत आम्दानी र खर्च सार्वजनिक नगरेको कांग्रेसले बिहीबार निर्वाचन आयोगमा आर्थिक प्रतिवेदन बुझाउँदै ४ करोड ३२ लाख ९ हजार ८ सय २ रुपैयाँ खर्च देखाएको हो ।

महाधिवेशनका लागि विभिन्न व्यक्ति, संघसंस्थाबाट ३ करोड २१ लाख ६० हजार ३ सय ७३ रुपैयाँ चन्दा संकलन भएको उल्लेख गर्दै आर्थिक वर्ष २०७२÷०७३ मा ५ करोड ८८ लाख ३९ हजार ८१ रुपैयाँ कमाएको जनाएको छ । चन्दालाई पारदर्र्शी बनाउने जनाउँदै महाधिवेशन अघि इ–बैंकको अवधारणा सार्वजनिक गरेको कांग्रेसले आयोगमा पनि त्यसको स्रोत खुलाएको छैन ।

पार्टी क्रियाशील सदस्यता वितरण र नवीकरणका साथै उम्मेदवारी मनोनयनसहितका शीर्षकबाट चालू आर्थिक वर्षमा २ करोड ६६ लाख ७८ हजार ७ सय ८ रुपैयाँ आम्दानी देखाएको छ । उसले गतवर्ष ८ करोड ११ लाख ९२ हजार ६ सय ३९ आम्दानी देखाएको कांग्रेसले चालू आर्थिक वर्षमा ८ करोड ३७ लाख ३८ हजार ८ सय ९ रुपैयाँ खर्च भएको जनाएको छ ।

नेपाली कांग्रेसले अहिले क्षेत्रीय अधिवेशन सकेर जिल्ला अधिवेशनको तयारी गरिरहेको छ ।
काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्न हाल सातै प्रदेशमा अधिवेशन जारी छ । अधिकांश क्षेत्रको मत परिणाम पनि सार्वजनिक भइसकेको छ । कुल चार हजार पाँच सयको हाराहारीमा महाधिवेशन प्रतिनिधिले कांग्रेसको भावी नेतृत्व चयन गर्नेछन् ।
कांग्रेसले महाधिवेशनका लागि आर्थिक समिति संयोजकमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिएको थियो । कार्कीले आर्थिक समितिले पूर्णता पाएसँगै १४औँ महाधिवेशनको व्यवस्थापन पक्षलगायत आय तथा खर्च विवरणको अनुमानित रकम तय हुने जानकारी गराएका दिए ।

कांग्रेसले महाधिवेशनमा आवश्यक आर्थिक स्रोत जुटाउनका लागि पार्टीका क्रियाशील सदस्य तथा महाधिवेशन प्रतिनिधिबाट सङ्कलन गर्दै आएको छ । क्रियाशील सदस्य तथा महाधिवेशन प्रतिनिधिबाट झन्डै नौ लाख संकलन गरेपछि अपुग रकम कांग्रेसको आन्तरिक स्रोतबाट सङ्कलन गर्ने जनाइएको छ । कांग्रेसले महाधिवेशनका लागि आवश्यक पर्ने ढुवानी, सजावट, होटल खाना, आवास, स्टेसनरी सामान लगायतको खर्चका लागि लागत अनुुमान भइरहेको जनाएको छ ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन र वडाधिवेशन

सत्तारूढ दल नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौंमा हुने निश्चित भएको छ  । सम्मेलनको आर्थिक लगायतको व्यवस्थापनबारे स्थायी समितिको बैठकले तय गर्ने नेता गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् ।
माओवादीको वडा र अधिकांश पालिका अधिवेशन सम्पन्न भइसकेको छ । यसैगरी राष्ट्रिय सम्मेलनमा झन्डै एक हजार छ सयको हाराहारीमा प्रतिनिधि सहभागी हुने बताइएको छ  ।

राप्रपाको महाधिवेशन

राष्ट्रिय प्रजातन्त्र पार्र्टी नेपालले पनि यही मङ्सिर १५ देखि १७ सम्म काठमाडौंमा महाधिवेशन गर्दै छ  । पाँचौँ पटकसम्म कार्यतालिका परिवर्तन भएको राप्रपाको महाधिवेशनलाई एकता महाधिवेशन भनिएको छ  ।

पशुपति शमशेर नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा लोकतान्त्रिक पार्टीको एकीकरणपछि हुन लागेको यो महाधिवेशनमा झन्डै चार हजार चार सय महाधिवेशन प्रतिनिधि सहभागी हुने प्रचार समितिको अनुमान रहेको छ  । राप्रपाले महाधिवेशनका लागि झन्डै दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

कहाँबाट आउँछ पैसा ?

एमालेले महाधिवेशनका लागि रसिद काटेर आर्थिक सङ्कलन नगरी पार्र्टी सदस्य र शुभेच्छुकबाटै अनलाइन प्रणालीबाट स्वेच्छिक सहयोग सङ्कलन गर्‍यो । एमालेले प्रत्येक पार्र्टी सदस्यलाई न्यूनतम सय रुपैयाँका दरले पार्र्टीको खातामा रकम जम्मा गर्न आह्वान गरेको थियो । एमालेमा पछिल्लोपटक नवीकरण भएका पार्र्टी सदस्यको सख्या ८ लाख ५५ हजार ४ सय ५३ छ । आर्थिक समितिका संयोजक बिष्णु रिमालका अनुसार महाधिवेशनमा ७ करोड ५० लाख खर्च भएको आँकलन गरिएको छ ।

यस्तै, कांग्रेसले महाधिवेशनमा आवश्यक आर्थिक स्रोत जुटाउनका लागि पार्टीका क्रियाशील सदस्य तथा महाधिवेशन प्रतिनिधिबाट सङ्कलन गर्दै आएको छ  । क्रियाशील सदस्य तथा महाधिवेशन प्रतिनिधिबाट झन्डै नौ लाख संकलन गरेपछि अपुग रकम कांग्रेसको आन्तरिक स्रोतबाट सङ्कलन गर्ने जनाइएको छ  । कांग्रेसको १४औं महाधिवेशनका लागि ७ लाख ५२ हजार ७ सय १२ जनालाई क्रियाशील सदस्यता प्रदान गरिएको । जसमा नयाँ ४ लाख ४३ हजार ६ सय ७८ र नवीकरण गरिएका ४ लाख ९ हजार ३३ जना छन् ।

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौंमा हुदैछ । केन्द्रको राष्ट्रिय सम्मेलनका लागि माओवादीले पनि आवश्यक आर्थिक स्रोत जुटाउनका लागि पार्टीका क्रियाशील सदस्य तथा महाधिवेशन प्रतिनिधिबाट सङ्कलन गरिरहेको छ । बाँकी अपुग रकम पार्टीको आन्तरिक स्रोतबाट खर्च गरिने उसले बताएको छ । हाल नेकपा माओवादी केन्द्रको क्रियाशील सदस्य संख्या ८ लाखको हाराहारीमा पुगेको छ ।

यसैगरी, अध्यक्षत्रय पशुपतिशमशेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा लोकतान्त्रिक पार्टीको एकीकरणपछि हुन लागेको यो महाधिवेशनमा झन्डै चार हजार चार सय महाधिवेशन प्रतिनिधि सहभागी हुने प्रचार समितिको अनुमान रहेको छ  । यस्तै, राप्रपाले महाधिवेशनका लागि झन्डै २ करोड रुपियाँ खर्च हुने अनुमान गरेको छ । राप्रपाले आवश्यक आर्थिक स्रोत जुटाउनका लागि पार्टीका क्रियाशील सदस्य तथा महाधिवेशन प्रतिनिधिबाट सङ्कलन गरिरहेको छ  । बाँकी अपुग रकम पार्टीको आन्तरिक स्रोतबाट खर्च गरिने बताएको छ ।

सत्यको दृष्टिले मुलुकलाई नियाल, महाधिवेशन गर्नै पर्दैन

अहिले सबै दलहरू महाधिवेशन भन्दै, अरु पार्टीभन्दा आफ्नो ठूलो पार्टी देखाउन जथाभाबी खर्च गरिरहेका छन् । तर, आफ्नो अगाडिको जनसागरभन्दा पर कुनै दलको दृष्टि पुगेको छैन ।

यतिबेला, बाढीपहिरोका पीडितहरू चिसोमा पाल टाँगेर बसिरहेका छन् । कर्णालीका बासिन्दाहरूले एक हप्ताको बाटो हिँड्दा पनि चामल पाउन सकेका छैनन् । चामल भने गोदाममै कुहिन थालेको । यता बेरोजगार युवाको संख्या दिनानुदिन बढिरहेको छ । किसानले आफ्नो उत्पादित वस्तुको बजार पाउन नसकेर खाल्डोमा पुर्नुपर्ने अवस्था छ, उता खर्बौंको सामान बाहिरबाट आयात भइरहेको छ ।

कमसेकम आफ्नै देशमा वस्तु उत्पादन गरी विदेशी वस्तु निरुत्साहित गर्न, बजार विस्तार गर्न र प्रत्येक नेपालीलाई रोजगारीको व्यवस्था गर्न सरकार लागिपर्ने हो भने, स्वतः दलहरुको पक्षमा जनता रहनेछन् । यसरी भड्किलो खर्चको रवाफ देखाएर महाधिवेशन गरिराख्नै पर्दैन । मात्र, भड्किलो महाधिवेशनका नाममा खर्च गरिने रकम विकास कार्यमा लगाए पुग्छ ।

प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार  १२ : ३८ बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।