Logo

टिप्पणी

पूर्वको फेवाताल अर्थात बर्जुताल (फोटोफिचर)



महाभारतको प्रसंग जोडिएको एउटा अद्भूत र रमणीय बर्जु तालको न त प्रचार प्रसार हुन सकेको छ , न त यसको पूर्वाधारमा अपेक्षित सुधार नै । देशभरि भ्यू टावर बनाउने नाममा अरबौं खर्च भइरहँदा प्रकृतिको यो सुन्दर उपवनको संरक्षण हुन सकेको छैन । स्थानीय निकायले आफ्नो औकातअनुसार संरक्षण गरेपनि संघीय सरकारले भने यसको विकासमा कुनै चासो देखाएको छैन । सुनसरीको दक्षिणवर्ती बर्जु गाउँपालिकामा १ सय ५० बिगाह जमिनमा फैलिएको यो जलाशय प्रकृतिको अनुपम उपहार मानिन्छ । यक्ष र युधिष्ठिरको चर्चित यक्ष प्रश्नको संवाद यही ठाउँमा भएको भन्ने जनविश्वास छ । बर्जु तालको प्रसंग धार्मिक ग्रन्थ महाभारतसँग जोडिएको पाइन्छ । प्राचीन बिराट राजाको दरबार, गौशाला, गाई चरन क्षेत्रसँगै वनवास गएका पाण्डवले यही बर्जु तालको पानी पिएको किम्बदन्ती रहेको छ । 

हिउँदमा साइबेरियाबाट जाडो छल्न आउने चरा कोशी टप्पु हुँदै बर्जु ताल पुग्ने गर्छन । यहाँ विभिन्न प्रजातिका पुतली समेत पाइने गरेको छ । सरकारी सूचीमा मुलुकभरका एक सय गन्तब्य सूचीभित्र यो ठाउँ पनि परेको छ । जलाशय सुकेर चरन क्षेत्र बनिसकेको ताललाई २०७३ सालमा ३ करोड ६३ लाखको लागतमा नेपाली सेनाले सरसफाई र मर्मत गरेको थियो । त्यही पहलले यतिबेला तालको अस्तित्व बचेको छ ।

सुनसरीको सदरमुकाम इनरुवादेखि झन्डै २५ किलोमिटर दक्षिण तथा मोरङको विराटनगरबाट २० किलोमिटर पश्चिममा पर्ने यो ताल धार्मिक तथा पौराणिक महत्वको रूपमा रहेको छ । बर्जु ताल प्रदेश नम्बर १ को सबैभन्दा ठूलो जलाशय भएको ताल हो । धेरै वर्ष पहिले बर्जु चौधरी नाम गरेका एक जमिनदार व्यक्तिले तालको संरक्षण गरेकाले तालको नाम नै बर्जु रहन गएको भन्ने भनाइ समेत छ । 

विशेषगरी यस तालमा चरा अवलोकनसँगै चराको अध्ययन र अनुसन्धानका लागि पनि पर्यटक आउने गरेका छन । यस तालमा चिल्ड्रेन पार्क पर्यटकका लागि मुख्य आकर्षण बन्ने गरेको छ । यसैगरी तालमा नौका विहारका लागि १५ वटा बोट सञ्चालित रहेका छन भने तालको चारैतिर बाटो, ४ वटा पिकनिक स्थल, छातासहितको बस्ने ठाउँ, ३ वटा शौचालय, तालको मध्यभागमा मन्दिर र चरा बस्ने टापुसमेत रहेको छ ।

बर्जुतालमा बाह्रै महिना जमिनमुनिबाट पानी उम्रिने भएकाले यो सिमसार क्षेत्र पनि हो । यहाँ जलचर, थलचर प्राणीको बासस्थानसमेत रहेको छ । बर्जु ताल जैविक विविधताले भरिपूर्ण रहेकोले यहाँ विभिन्न प्रजातिको चराहरू आउने गरेका छन । यस तालमा भएको एक अध्ययनले अन्तर्राष्ट्रियस्तरका र कोसी टप्पुमा आउने मौसमी चराहरू बर्जु तालमा समेत आउने गरेको रेकर्ड रहेको छ । यो वर्ष चरा विशेषज्ञ आएर यस तालमा गणना गर्दा १ सय ४ प्रजातिका करिब १० हजारको संख्यामा चराको गणना गरेको थियो । यति धेरै प्रजातिका चरा नेपालको कुनै पनि सिमसार क्षेत्रमा नपाइने विज्ञहरु बताउँछन । जाडो याममा यस ताल परिसरमा विदेशी चराहरूले अन्डा कोरली गर्मीयाम शुरु हुनसाथ फर्किने गरेका छन् । 

फोटोहरुमा हेरौं :

Burjutal.jpgBurjutal 1.jpgBurjutal 2.jpgBurjutal 3.jpgBurjutal 4.jpgBurjutal 5.jpgBurjutal 6.jpgBurjutal 7.jpg

 

प्रकाशित मिति : चैत्र १९, २०७७ बिहीबार  ६ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।