विश्व इतिहासका महानायक नेपोलियनलाई एकपटक कसैले सोध्यो– ‘तपाईंको अन्तिम इच्छा के छ ?’ उनले तत्काल उत्तर दिए– ‘ म एकछिनको लागि भएपनि पनि केटाकेटीको उमेरमा फर्कन चाहान्छु ।’ केटाकेटी र गिलो माटोलाई समान मानिन्छ । निश्चल र अबोध त्यो समय भविष्यको सूचक पनि हो । सानामा बालबालिकाले कस्तो सपना देख्छन् ? त्यो नै भविष्यको निर्णायक क्षण ठहर्छ । यसै प्रसंगमा अमेरिकी पूर्व राष्ट्रपति जोन अफ केनेडीसंगको प्रसंग रोचक छ ।
उनी प्राथमिक स्कुलमा पढ्थे । एकदिन स्कुलले शैक्षिक भ्रमणका लागि घुमाउन ह्वाईट हाउस लग्यो । सवै विद्यार्थीहरुले रुचिपूर्वक ह्वाईट हाउसको भ्रमण गरे । घुमिसकेपछि अनुभव लेख्न एउटा पुस्तिका राखिएको रहेछ । सवैले ह्वाईट हाउसको बखान लेखे । बालक केनेडीले भने ह्वाईट हाउसबारे यस्तो लेखिदिए– ‘भविष्यमा म आएर बस्ने ठाउँ राम्रै रहेछ ।’ आखिर तिनै बालक केनेडी भविष्यमा अमेरिकाको राष्ट्रपति बने ।
भारतका पूर्व राष्ट्रपति अब्दुल जे. कलाम वर्षेनी आफ्नो जन्मोत्सव बालबालिका बीचमा मनाउँथे । बालबालिकाको संगतबाट आफूलाई काममा ठूलो उर्जा मिल्ने उनको अनुभव थियो । अमेरिकी राष्ट्रपति जर्ज बुस, बाराक ओबामा, डोनाल्ड ट्रम्प बालबालिकासंग रमाउने गरेका छन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बालबालिकासंगको भेट र घोडचढीबाट आफूलाई सर्वाधिक मनोरञ्जन मिल्ने गरेको सगौरव बताउँछन ।
भोलि यो देश हाँक्ने पुस्ता बालबालिका नै हो भन्ने आत्मबलको विकास गराउन ठूलाबडा र बालबालिकाबीचको उठबस फलदायी हुने गरेको छ । ठूलाबडालाई आफ्नो बालापनमा फर्काउने र सानालाई भविष्यमा ठूलो मानिस बन्न सकिन्छ भन्ने आत्मविश्वासको विकास गर्न यस्तो थलोले सहजकर्ताको काम गर्ने पक्का छ ।
केही वर्षयता नेपालमा पनि यो प्रचलन फस्टाएको छ । बालदिवस या अन्य सन्दर्भ पारेर विभिन्न संघसंस्थाहरुले राष्ट्र प्रमुख र सरकार प्रमुखसंग बालबालिकाको भेट गराउने गरेका छन् । त्यति मात्र कहाँ हो र ? कवि, साहित्यकार, कलाकारसंग पनि बालबालिकाले अन्तरक्रिया गर्ने गरेका छन् ।
बालदिबसका दिन चकलेट बाँड्ने परम्परा चिर्दै आएको यो नौलो शैली फलदायी बन्ने गरेको बाल विश्लेषकहरुको ठहर छ । पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, राष्ट्रकवि माधवप्रसाद घिमिरे बालबालिकासंग अन्तरक्रिया गर्नेमा अग्रणी देखिएका थिए ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीले समेत यो क्रमलाई निरन्तरता दिएका छन् । यस्ता अन्तरक्रियाहरुमा बालबालिकाले ठूलाबडाको बाल्यकाल, उनीहरुको रुचि, प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदानका विषयमा सुरुचिपूर्वक सोध्ने गरेका छन् । कतिपयले भविष्यमा आफू राष्ट्रपति, प्रधानमन्त्री बन्न चाहेकाले त्यसको उचित बाटो देखाइदिन पनि आग्रह गर्ने गरेका छन् । दृष्टिविहीन र शारीरिक अपाङ्गता भएका बालबालिकाहरुले त यो अवसरलाई आफ्नो हक माग्ने दिनका रुपमा पनि उपयोग गर्ने गरेका छन् ।
क्षेत्रीय, जातीय, लिंगीय दृष्टिले समेत समानुपातिक उपस्थित रहने यसखालको अन्तरक्रियामा कर्णाली क्षेत्रका बालबालिकाले त्यहाँको शैक्षिक, भौगोलिक अवस्थाका बारेमा जानकारी गराउँदै दुर्गम भेगका बालबालिकाको हक अधिकारका विषयमा राज्यसंग जिज्ञासा राख्ने गरेका छन् ।
गरिबी र पछौटेपनका कारण शिक्षा र स्वास्थ्यमा पहुँच स्थापना हुन नसक्दा आफूहरुले पाएको पीडाका विषयमा उनीहरुको विशेष चासो रहने गरेको छ । बालमनोविज्ञानले टिपेको कुराले सामाजिक चेतना पैmलिने र त्यो समाजको हितका लागि रामवाण हुने मनोविश्लेषकहरुको ठहर छ । बाल मस्तिष्कमा राष्ट्रिय भावना र राष्ट्रिय चेत जगाउन सके त्यो चिरस्थायी हुने स्पष्ट छ ।
देश सञ्चालनको विधि र प्रक्रिया बारे बालबालिका जानकार भए भने भोलि आउने पुस्ता स्वतः देशप्रति कर्तव्यनिष्ठ हुन मद्दत पुग्ने अपेक्षा राख्न सकिन्छ । यही सत्य मनन् गरी खासगरी भारतीय विद्युतीय सञ्चारमाध्यमहरुले आध्यात्मिक सिरियलहरु पनि बालकथामा आधारित बनाउन थालेका छन् ।
त्यतिमात्र हैन रामदेवजस्ता विख्यात योग गुरुहरुले पनि बालबालिका केन्द्रित योग शिविरहरु सञ्चालन गर्न थालेका छन् । बालबालिकामा गरिएको लगानी खेर नजाने विश्वासका कारण बाल केन्द्रित कार्यक्रमहरुले प्राथमिकता पाउने गरेका हुन् ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे त झन् आफ्ना दुई छोरी शान्ति र कान्तिप्रति अगाध स्नेहका कारण आपूmले पत्नी वियोग मुक्ति पाएको मात्र हैन, आफ्नो अत्यन्त लोकप्रिय कृति जन्मिनुमा तिनै अबोध छोरीहरुको हात रहेको बताउने गरेका थिए । बालअधिकारका धेरै विषयमा बहस भएपनि बालबालिकाका नाममा देखिने यस्ता केही दृश्यले भने कालो बादलमा थोरै नै किन नहोस् , आशाको चाँदीको घेरा देखिएको पक्कै हो ।















प्रतिक्रिया