काठमाडौँको टुँडिखेलमा आइतबार घोडेजात्रा पर्व मनाइयो । घोडेजात्रापर्वको अवसरमा नेपाली सेना र नेपाल प्रहरीले विभिन्न अश्वकला प्रदर्शन गर्यो । गुरुमापानामक राक्षसको प्रेतात्मालाई घोडाको टापले कुल्चिएर दबाइ राख्न घोडेजात्रा पर्व मनाइने गरेको संस्कृतिविदहरु बताउँछन् ।
घोडचढी प्रतिस्पर्धाका रुपमा लिइने घोडेजात्रा काठमाडौँ उपत्यकाको प्रसिद्ध जात्रा हो । टाँगन घोडा दौड, चार्जर घोडा दौड, शु जम्पलगायतका विभिन्न १० कला प्रस्तुत गरिन्छन । अश्वकला अवलोकन गर्न राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीगण, सुरक्षा निकायका प्रमुखलगायत टुँडिखेल पुग्छन् ।
टुँडिखेलको दक्षिणपूर्वमा एक रुखमा बसेको गुरुमापा राक्षस मारिए पनि त्यसको प्रेतात्मा जागृत नहोस् भनेर घोडाको टापले कुल्चाउन यो जात्रा मनाइन्छ । प्राककालदेखि नै युद्ध यज्ञ आदिमा घोडा प्रयोग गरिन्थ्यो । नेपालमा घोडाको अश्वकलाप्रदर्शनीको सुरुवात राणा प्रधानमन्त्री जुद्धशमसेरले गरेका थिए ।
तात्कालीन राजा सुरेन्द्र विक्रम शाहको राज्यकालमा १९०६ मंसिर ७ गते रिसल्ला नामबाट स्थापित सेनाको क्याभलरीको नाम २००९ सालमा नेपाल क्याभलरी नामाकरण गरिएको थियो । घोडेजात्राका दिन प्रदर्शन गरिने अश्वकलामा यही क्याभलरीका घोडालाई सरिक गराइन्छ । यसरी घोडा प्रयोग गरी उत्कृष्ट स्थान ल्याउनेलाई राष्ट्रपतिले पुरस्कृत गर्ने प्रचलन छ ।
अनलाइनपाना सहकर्मी साजन लामिछानेको क्यामेराले खिचेका दृश्य सामग्री प्रस्तुत छ ।









































प्रतिक्रिया