Logo

सम्पादकीय

यूकेमा नेपाली नर्स गएपछि नेपालमा विदेशी नर्स आउने सम्भावना



अबको केही समयपछि त्यसको स्पष्ट खाका तयार हुने र चाँडै नै नेपाली नर्सहरूलाई यूके पठाउने क्रम सुरु हुने प्रक्रिया अगाडि बढिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले चाहिँ अबको दुई महिनाभित्र नर्सहरू पठाउन सुरु गरिसक्ने बताइरहेको छ ।

यूकेले नेपाली नर्स लैजाने चासो राखेपछि यसको विविध योजना अगाडि सारिएको हो । प्रस्ताव अनुसार सरकारी स्तरबाटै शून्य लागतमा नेपाली नर्सहरूले वैदेशिक रोजगारीका लागि यूके जान पाउनेछन् । कतिपयको भनाइमा भने यो कुरा नेपाली नर्सको लागि अवसर हो भन्ने व्यख्या गरिन्छ । तर विज्ञहरू भने आगामी दिनमा स्वास्थ्य क्षेत्रको असर नेपालमा नै देखिने बताउँछन् ।

यूकेमा नेपाली नर्सहरूको तलब कति हुन्छ भन्ने विवरण आइसकेको भने छैन । यद्यपि मासिक दुई लाख ५० हजार नेपाली रुपैयाँको हाराहारी पारिश्रमिक हुने खबरहरू आएका छन् । विदेशबाट थप ज्ञान सीप सिकेर आउँदा त्यसले फाइदै पनि पुग्न सक्छ । विदेशमा काम गरेका नर्सहरूले आफ्नो सञ्जाल प्रयोग गरेर अरू अवसरको ढोका खोल्नसक्ने अवस्था रहन्छ । अदक्ष कामदारहरू विदेशमा गएर उनीहरूले पठाएको रेमिट्यान्सले देश धानिएका बेला नर्सहरू भनेका त दक्ष हुन् । उनीहरूले पठाउने रेमिट्यान्सले नेपालमा थप बल पुग्ने देखिन्छ ।

ठूलो मात्रामा नेपाली नर्सहरूलाई विदेश पठाउँदा नेपालमै नर्सको अभाव हुनसक्ने चिन्ताको विषय पनि विद्यमान रहेको छ । गत वर्ष पनि त्यस्तैखाले प्रस्ताव आउँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समेत महामारीका बेला नेपालमै नर्सहरूको अभाव हुनसक्ने भन्दै विदेश नपठाउन सुझाव दिएको थियो ।

नयाँ मापदण्डले नर्सको उत्पादन कम हुन गइरहेको छ अनि विदेश पठाउन प्रोत्साहन गर्ने नीतिले धेरै विदेशिने अवस्था बन्दैछ । यस्तो अवस्थामा भोलि नेपालमा ठूलो अभाव हुनसक्छ। अभाव बढ्दै गएर अहिले नेपाली नर्सको माग विदेशमा भएजस्तै नेपालमा विदेशी नर्स ल्याउनुपर्ने अवस्था पनि आउन नसक्ला भन्न सकिन्न ।

व्यक्तिगत रूपमा विदेश गएकाहरूलाई छाडेर तथ्याङ्क हेर्ने हो भने हालसम्म २५००० भन्दा बढी नर्स विदेशी स्वास्थ्य क्षेत्रमा गइसकेका छन् ।

प्रकाशित मिति : पुष ४, २०७८ आईतबार  २ : १३ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।