नेपालले नयाँ प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र लागु गरेको यो पहिलो कार्यकाल सकिँदै छ । गाउँ-गाउँमा सिंहदरबार पुर्याउने सोचले नेपालमा यो प्रणाली लागु भयो । जनताको नजिक रहेको सरकार भनेर स्थानीय सरकारलाई चिनिन्छ । यो कार्यकालको उत्तरार्धमा आइपुग्दा कतिपय पालिकाहरूमा विभिन्न महत्वका जनतालाई प्रत्यक्ष प्रभाव पर्ने कामहरू पनि भएका छन् ।
कुनै-कुनै पालिकाहरू भने विभिन्न विवाद र उल्झनमा फसेर यो पाँच वर्ष त्यसै खर्चिएको देखिएको छ । हामी कुन पलिकाले कति, कस्ता, कसरी विकासहरू गरिहेका छन् भनेर पालिका सरकारका प्रमुखहरूसँग अन्तरवार्ता गरिरहेका छौं । यसै सन्दर्भमा लुम्बिनी प्रदेश बाँके जिल्लाको कोहलपुर नगरपालिका मेयर लुटबहादुर रावतसँग नगरपालिकाको विकासको क्रम र समसामयीक विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको संम्पादित अंश :
नगरपालिकामा कोरोना महामारीको नियन्त्रण कसरी गरिराख्नु भएको छ ?
कोरोना नियन्त्रण गर्न हामीले सुरूमा कोरेन्टाइन स्थापना गरियो । त्यस्तै आइसुलेसन स्थापना गरियो । यो २ वर्षको लामो भोगाइले धेरै सिकाएको छ । हाम्रो धेरै योजना र एजेण्डाहरू अवरुद्ध भए । हामीले पालिकामा आफ्नै अस्पताल सञ्चालन गरेका छौं । हाम्रो पालिकामा ७३ जनाले कोरोनाको कारण ज्यान गुमाउन पर्यो । आवश्यक पर्ने ओषधिहरू, अक्सिजन सिलिन्डरहरू, स्वास्थ्य सामग्रीहरू विभिन्न संघसस्थासँग मिलेर नगरपालिकाले व्यवस्थापन गरियो । यसरी नै कोरोना महामारीलाई नियन्त्रण गर्दै अगाडि बढिरहेका छौं ।
पालिका सरकारको कार्यकाल सकिँदै छ । यो कार्यकालबाट कति सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट छैन । किनकि जनताबाट निर्वाचित भएर आएको यो पहिलो अवधि हो । निर्वाचित भएर नगरपालिकामा प्रवेश गर्दैगर्दा नगरपालिकामा कर्मचारी थिएनन् । कर्मचारीमा पनि महत्वपूर्ण योजनाहरू सञ्चालन गर्ने प्राविधिक थिएनन् । नियम नियमावली, निर्देशिका आफैँ निर्माण गर्न पर्ने भएकोले, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका सबैको व्यवस्थापन गर्न नयाँ अनुभवको साथ गर्दा केही समय लाग्यो । नगरपालिकामा कर्मचारी समायोजन गरेर काम गर्ने वेलामा कोरोना, लकडाउन जस्ता समस्याहरू आइपर्यो । यसले गर्दा हामीले जति योजना बनाएका थियौं, जति लक्ष्य लिएका थियौं त्यो अनुसार काम गर्न सकेनौं ।
अहिले केही योजनाहरू सक्न हामी लागेका छौं । प्रमुख प्रसाशकीय अधिकृतको फेरबदलले गर्दा केही योजनाहरूमा अुसर पुगेको छ । म असन्तुष्ट हुनुको मुख्य कारणहरू यस्तै हो । हामीले सोच्दैमा विकास हुने होइन रैछ । राम्रो समय, ठीक प्राविधिक र सही जनप्रतिनिधि भए मात्र विकासले गति लिन्छ । पूर्णरूपले सन्तुष्ट त छैन म तर पनि हामीले विकासको जग भने बसालेका छौं ।
कोहलपुर नगरपालिकाको विकास कसरी अगाडि बढिरहेको छ ?
हामीले विभिन्न समस्याका बावजुद पनि विभिन्न महत्वपूर्ण योजनाहरूको करिब—करिब अन्तिम चरणमा पुगेका छौं । पूर्व—पश्चिम, उत्तर—दक्षिणकै यात्रुहरूलाई सुविधा हुने गरी कोहलपुरमा अत्याधुनिक बसपार्कको निर्माण गरिरहेका छौं । त्यो अन्तिम चरणमा पुगेको छ । त्यस्तै वडा नम्बर ११ कोहलपुर बजारमा भ्यू टावर स्थापना गरिरहेका छौं । त्यसले कोहलपुरमा आउने आन्तरिक र वाह्य पर्यटकहरूलाई आकर्षण गर्न बनाइएको हो । त्यसमा ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । यो ३ महिना भित्रै त्यसलाई सम्पन्न गर्ने लक्ष्य लिएका छौं ।
त्यस्तै अर्को महत्वपूर्ण कुरा प्रावि तहको शिक्षकले माविसम्मको विद्यालय सञ्चालन गरेर बसेको अवस्था थियो त्यसमा हामीले जुन—जुन तहको विद्यालय छ त्यही तहको स्थायी शिक्षक दिएर विद्यालय सञ्चालन गरेका छौं । कोहलपुर नगरपालिकामा हाम्रो सरकार आउनु अगाडि शिक्षामा एक दमै अस्तव्यस्त थियो, अनियमितता थियो । त्यसलाई हामीले दरबन्दी मिलानदेखि लिएर हरेक व्यवस्थापनका कामहरू सुधारेर शिक्षामा सुधार गरेका छौं ।
त्यस्तै हाम्रो नगरपालिकामा वडा कार्यलयहरू सुरूमा सबै भाडामा थिए । नगरपालिकामा १५ वटा वडाहरू छन् । ती मध्य आधाको आफ्नै भवन बनिसकेको छ । अबको ३ महिनामा सबै वडाहरूले कार्यलय भवन आफ्नै प्रयोग गर्न पाउने बनाउने छौं । त्यसैगरी स्वास्थ्यमा, कृषिमा, पशुपालनमा पनि विभिन्न कामहरू भैरहेका छन् ।
कृषिमा मुख्य—मुख्य कामहरू के—के गर्नुभयो यो कार्यकाल भरिमा ?
कृषिमा खासगरि विभिन्न उन्नत जातका बीउविजनहरू किसानहरूलाई उपलब्ध गराउने, च्याउ खेतीमा हाम्रो नगरपालिका आत्मनिर्भर बनेको छ । तरकारीहरूको उत्पादनहरू राम्रो भएको छ । हामीले सिचाइँ र यान्त्रिकरणलाई पनि अगाडि बढाएका छौं । पशुमा पनि हामीले जंगलसँग जोडिएका वडाहरूका विपन्न वर्गका किसानहरूलाई बाख्रा वितरण गरेर खोर पनि निर्माण गरिदिएका छौं । किसानको आर्थिक स्तरलाई वृद्धि गर्न र नगरपालिका मासुमा पनि आत्मनिर्भर होस् भनेर यसरी अगाडि बढेका छौं ।
केन्द्र सरकार र प्रदेश सरकारसँग कस्तो सहयोग पाउनुभयो ?
जति साथ र सहयोग हुनुपथ्र्यो त्यति चै हुन सकेन, संघीयताको यो नयाँ अभ्यास भएकोले पनि हो यो अझै पनि सहयोग र अधिकारहरू मिलिसकेको छैन् । हाम्रो नगरपालिकामा यो कार्यकालमा प्रदेश सरकार र संघ सरकारले खासै ठुलोे योजनाहरू त लागु गरेको छैन् । हामीले माग गरेको कतिपय योजनाहरू अहिलेको सरकार फेरबदलले पुर्वाग्राही ढंगले कटौंति गरिएको छ । त्यसो गर्न नहुने हो ।
नगरपालिकामा कोरोना महामारी नियन्त्रण गर्ने बाहानामा भ्रष्टचार भयो भनिएको छ । यो सत्य हो ?
यस्ता कुराहरू बाहिरबाट बोल्नेले जे बोलिदिए पनि हुन्छ । भ्रष्टचार भएको हाम्रो आँखाले देखेको छैन् । सबै कामहरू नियममुताविक प्रक्रियाबाट गरेका छौं । सबै कामहरू विधिवत नै भएका छन् । विरोधिहरूले कुनै प्रमाण विना नै आरोप लगाउनु स्वभाविक हो तर हाम्रोमा त्यस्तो भएको छैन् ।
कोहलपुर नगरपालिकामा विकासको प्रक्रियामा जनसहभागिता कस्तो छ ?
जनसहभागिता कति पनि छैन् । हामीले योजना लैजाने निर्माण गर्ने गरिरहेका छौं । जनचेतनाको कमिले गर्दा जनताको विकासमा जनसहभागिता पटकै छैन । हामीले पटक—पटक अनुरोध गरेका छौं । छलफल गर्न अनुरोध गरेका छौं तर जनताहरूले लागत सहयोग जस्ता कुनै पनि पक्षमा साथ दिएका छैनन् ।
तपाईको सरकारको कार्यकाल सकिँदैछ । यो कार्यकालमा गर्न नभ्याउनुभएको कामहरू के—के हुन् ?
यस्ता धेरै योजनाहरू छन् । हामीले प्रत्येक वडाबाट कोहलपुरसम्म पक्की सडक जोडने योजना बनाएका थियौं । त्यो पुरा हुन बाँकी छ । कृषिमा पनि केही कामहरू त सुरुवात भएको छ तर पुरा भएको छैन् । हाम्रो नगरपालिकाको बिचबाट बग्ने गुडुवा खोला छ त्यसले दुबै तर्फ कटान गरेर ठूलो नोक्सान गरेको छ । यो त्यसको सबै तटबन्धन गर्न नसक्दा कटान भैराखेको छ । जनताका खेतबारीदेखि घरहरू पनि भत्किराखेकोको छ । त्यसलाई पुरा गर्न नसक्दा हामी सन्तुष्ट छैनौं ।
कोहलपुर नगरपालिकामा अब निर्वाचित भएर आउने जनप्रतिनिधिहरूलाई के भन्नुहुन्छ ?
हामीले धेरै विकास गर्न नसके पनि सबै क्षेत्रमा विकासको जग बसालेका छौं । जस्तो यातायात, शिक्षा, भौतिक संरचनाहरू, कृषि, पशुपालन, स्वास्थ्य सबै क्षत्रमा हामीले विकासका कामहरू सुरूवात गरेका छौं । नगरपालिकाको राम्रो विकासको लागि त्यसको निरन्तरता दिन म अब आउने सम्पूर्ण जनप्रतिनिधिहरूलाई अनुरोध गर्छु । यही जगलाई टेकेर अगाडि जाँदा मलाई लाग्छ दोस्रो—तेस्रो कार्यकालसम्म यो संघीय लोकतान्त्रिक गणतन्त्रको परिणाम बल्ल जनताले देख्नेछन् । समृद्धिको सुरुवात भएको छ । यसलाई निरन्तरता दिन जरुरी छ ।



















प्रतिक्रिया