Logo

अन्तर्वार्ता

नेपाली कांग्रेस रूपान्तरित र सक्रिय पार्टी बनेको छ : कर्नेल धनबहादुर राना [अन्तर्वार्ता]

नेपाली कांग्रेसका नेता तथा नेपाल भुतपूर्व सैनिक संघको केन्द्रीय अध्यक्ष



नेपाली कांग्रेको भात्तृसंस्था नेपाल भुतपूर्व सैनिक संघ नेपालका केन्द्रीय अध्यक्ष हुन् कर्नेल धनबहादुर मास्की राना । भुपू सैनिकहरूको हक अधिकारका लागि अगाडि बडिरहेका छन् । भुपू एक नहुदा सम्म केहि गर्न नसकिने बताउँछन् । भुपूहरूलाई आइटि फ्रेन्डली हुन् समेत आग्रह गर्दै आएका छन् ।

भुपूको ईमान्दारीपूर्ण कामले गर्दा नै देश विदेशमा काम पाउनुका साथै देशलाई चिनाएको उनी बताउछन् । मुलुकभर रहेका १ लाख २५ हजार भुपू एक भएर अगाडि बढ्न सके जस्ता काम पनि सम्पन्न गर्न सकिने उनको ठहर छ । नेपाल भुपू सैनिक संघले के कस्ता कामहरू गरिरहेको छ, यी र भर्खरै सकिएको नेपाली कांग्रेसको महाधिवेशनसंग संम्बन्धित रहेर उनै कर्नेल धनबहादुर रानासंग अनलाइनपानाकर्मी रामनाथ कुंवरले गरेको कुराकानीको संम्पादित अंश :

नेपाल भूपू सैनिक संघले के कस्ता कामहरू गरिरहेको छ ?

नेपाल भूपू सैनिक संघ भनेको नेपाली कांग्रेसको सक्रिय भातृसंगठनहरू मध्य एक विस्वाशिलो संगठन हो । देशभरिको ६१ वटा जिल्लामा हाम्रो शाखा संघहरू छन् । यस संघमा नेपाली कांग्रेसमा आबद्ध भएर अगाडि बढ्न चाहाने भूपू सैनिकहरू आबद्ध हुनुहुन्छ । हामी छिटै प्रदेशहरूमा पनि संगठन बनाउदै छौं । नेपाली कांग्रेसको ३१ वटा भातृ संगठनहरू मध्य सबै भन्दा बढी चलायमान भएको संगठन यो हो । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीले हाम्रो संघलाई विस्वास मानेर स्वयं सेवकको जिम्मेवारी दिएको थियो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भूपू सैनिक संघले के—कस्तो भूमिका खेल्यो ?

हामीले स्वयं सेवकमा १ सय ५० जना साथीहरू खटाएका थियौं । मंसिर २४ गतेको उद्घाटनको कार्यक्रमभन्दा अगाडिबाट नै हामीलाई तयारीको जिम्मा दिइएको थियो । उद्घाटनको दिनमा पनि धेरै सक्रिय भएर सुरक्षाको काम गरेको हो । त्यस्तै मनोनयन दर्ता गर्दा, निर्वाचनको दिनहरूमा पनि धेरै काम गरेको हो । तिन ठाउँमा निर्वाचन भएको थियो । त्यहाँ हामीले सबै साथीहरू बाँडिएर काम गरियो । निर्वाचन क्षेत्रमा सिसि क्यामरा जडान गरेको र ड्रोनबाट पनि केही गलत कार्य नहोस् भनेर निरिक्षण गरिएको थियो । हामीले एकदम पारर्शी तरिकाले निर्वाचन सम्पन्न गरियो । सभापतिको दोस्रो चरणको निर्वाचनमा पनि हामीले सक्रिय भएर काम गरियो । शान्तिपूर्ण तरिकाले हामीले काम गरियो ।

महाधिवेशन पूर्ण रूपमा सफल भएको हो ?

विपक्षी पार्टीहरू जस्तो सुकै आलोचना गरे पनि हाम्रो १४ औं महाधिवेशन पूर्ण सफल भएको छ । यसमा हामी सबैको भूमिका रहेको छ । कुनै पनि विवाद रहित, धाँधली रहित ढंगले एकदमै राम्रो महाधिवेशन भयो । सबैले भातृत्वकायम गर्नुभयो, विधि र विधान अनुसार महाधिवेशन सम्पन्न भएको छ । यसमा म पार्टी सभापति शेरबहादुर देउवा, उप सभापति पूर्णबहादुर खड्का र सबै नेता कार्यकर्ताहरूलाई धन्यवाद दिन चाहान्छु । महाधिवेशनमा सबै प्रतिनिधिहरूलाई खान र बस्नको राम्रो व्यवस्था गरिएको थियो । यस्तो राम्रो लोकतान्त्रिक तरिकाले महाधिवेशन गरेको देशका जनता र अन्तराष्ट्रिय स्तरमा पनि नेपाली कांग्रेसको चर्चा भएको छ ।

महाधिवेशन शान्तिपूर्ण ढंगले गर्नमा सहयोग गर्नुहुने सम्पूर्ण भूपू सैनिकका साथीहरूलाई पनि धन्यवाद दिन चाहान्छु । त्यस्तै पदाधिकारीमा र केन्द्रीय सदस्यमा निर्वाचित भएर आउनुभएको सम्पूर्ण साथीहरूलाई पनि यही अन्तरर्वार्ताबाट बधाई दिन चाहान्छु । यो महाधिवेशनबाट नयाँ नेतृत्वहरू आएका छन् । अब कांग्रेस सक्रिय भएर अगाडि जान्छ भन्ने हामीले आसा मात्रै होइन पूर्णविस्वास गरेका छौं । नेपाली कांग्रेस नेपालको गर्विलो इतिहास बोकेको पार्टी हो । त्यसैले यसले अब नेपाललाई साचिकै नयाँ नेपाल बनाउने छ ।

१४ औं महाधिवेशनपछि नेपाली कांग्रेस बलियो र सक्रिय पार्टी भएको हो ?

नेपाली कांग्रेसले विगतका गल्ति कमी कम्जोरीहरूलाई सुधारेर अगाडि जानेमा म पूर्णरूपमा विस्वस्थ छु । पदाधिकारीमा पनि नयाँ र सक्रिय व्यक्तिहरू निर्वाचित हुनुभएको छ । आगामी निर्वाचनमा नेपाली कांग्रेसले जनतामाझ आफ्नो एजेण्डाहरू लगेर जनतालाई विश्वास दिलाएर अगाडि जाने छ । कम्युनिस्टहरूले देशलाई बर्बाद पारेको यथार्थ जनतालाई बुझाएर देशको विकास र रक्षा गर्ने नेपाली कांग्रेस मात्रै हो भन्ने विश्वास दिलाउन सक्ने छ । जनताले बुझिसकेका छन् । आगामी निर्वाचनमा हामीलाई जिताउने छन् । नेपाली कांग्रेसले देश र पार्टी दुबैलाई नयाँ बनाउने छ ।

आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै मैदानमा जान्छ कि गठबन्धनको सहयोग लिन्छ ?

हाम्रो पार्टीको उदेश्य, सिद्धान्त अरूको भन्दा पृथक छ । त्यसैले हामीले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धामा जान पर्छ भन्ने मेरो मात्र होइन सबैको धारणा छ । जनताले पनि त्यही भनिरहेका छन् । गठबन्धनमा निर्वाचनमा गयौं भने हामीले धेरै समस्याहरू झेल्न पर्छ । देश र जनताको हितमा काम गर्नको लागि नेपाली कांग्रेस यो निर्वाचनमा एक्लै मैदानमा जान पर्ने हामीले निर्णय गरिसकेका छौं । हाम्रो बहुमत आउने निश्चित छ ।

आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउन के—के गर्नु पर्छ ?

कांग्रेसले बहुमत ल्याउन विगतका गल्तीहरू सुधार्न पर्छ । एमाले, माओवादी, समाजवादी जस्ता पार्टीहरूले जनतालाई धोका दिइरहेको हुनेले उनीहरूको गल्तीहरूलाई जनतासामु पर्दाफास गर्नु पर्छ । समय र जनताको माग अनुसार हामीले चुनावी घोषणापत्र बनाउन पर्छ । पार्टी हमेसा जनताको नजिक हुनपर्छ । घोषणा पत्रमा उल्लेख गरेको कुराहरू पुरा गर्न सधैं सक्रिय हुन पर्छ । यसरी कांग्रेस अब नयाँ ढंगले अगाडि बढ्छ । देशको पनि चौतर्फी रूपमा विकास हुन्छ ।

प्रकाशित मिति : १२ पुष २०७८, सोमबार ११:३४   :  बजे

237
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।