अमेरिकामा बस्दै आउनुभएका कवि तथा कथाकार केशवराज ज्ञवालीको हालसालै बजारमा कथासङ्ग्रह आएको छ । उक्त कथासङ्ग्रहको नाम “अर्को भोर” रहेको छ । यही कथामा रहेर हामीले लेखकलाई केही प्रश्न गरेको छौँ । अन्तर्वार्तामा अनलाइनपानाकर्मी निरज दाहालले लिएको प्रश्नको सम्पादित अंश :
नयाँ कृति आउँदैछ, कथासङ्ग्रह । तपाईंले आफैँ मूल्याङ्कन गर्दा के पृथक् र विशेष छ अर्को भोरमा ?
पृथक वा बिशेषको सही मूल्याकंन पाठकहरूबाट आउला । मेरो आफ्नो मूल्यांकनमा यो मिहिनेतपूर्वक तयार गरिएको कथा कृति हो । यसमा केही तत्वहरूले पाठकलाई अवश्य छुन्छ भन्ने मेरो विश्वास छ ।
कथा साहित्य निकै फस्टाएको समय हो यो । कथामा देखिएको उभारमा के कमी देख्नुभयो र तपाईं आफैँ कथा लेख्न लालायित हुनुभयो ?
अन्यले गरेका काममा कमि देखेकाले होइन । मैले आफ्नो रुचिको कारणले कथा लेखेको हुँ । लेख्दै जाँदा नेपाली साहित्यमा केही थप्न सकेँ भने धन्य हुनेछु ।
तपाईं कथाका विषय कसरी टिप्नुहुन्छ ? घटना देखेपछि त्यसलाई कथामा ढाल्नुहुन्छ कि कुनै विचार मनमा उठेपछि त्यसलाई कथाको रूप दिनुहुन्छ ?
कथा अनुसार यो दुवै किसिमले हुन्छ । कहिलेकाहीँ सानो घटनाले पनि पिरोल्छ र त्यसलाई खोतल खाताल पर्दै जादा कथा जन्मिछ । कहिलेकाहीँ कुनै उत्प्रेरक ( ट्रिगर) ले विचार उठ्छ, त्यही विचारको प्रस्तुति कथामा आउँछ ।
कतिपय समालोचक भन्छन्, नेपालबाहिर लेखिएका नेपाली कथा भाषामा नेपाली र अन्य सबै कुरामा विदेशी हुन्छन् । भाषामा बाहेक नेपाली कथा हुनुको कुनै पनि शर्त तिनले पूरा गर्दैनन् । यसमा तपाईंको भन्नु के छ ?
कुनै कथा विशेष वा कथाकार विशेषमा त्यो कुरा लागु होला तर सामान्यतया त्यस्तो हुन्छ जस्तो मलाई लाग्दैन । कम्तिमा मैले पढेका रचनाहरूमा मैले त्यो समस्या देखको छैन । विदेशमा बसेर कथा लेख्दा, कथाकारले बाँचेको दैनिक जीवनको परिवेश आउनु अस्वाभाविक होइन । कथाहरूले , कथा हुनुको शर्त पूरा नगर्ने समस्या बाहिर मात्रै होइन देशमै बसेर लेखेका कथामा पनि हुन् सक्छ ।
इन्जिनियरिङ क्षेत्रको मान्छे, सिर्जनामा आउनुभएको छ । त्यो प्राविधिक क्षेत्रबाट सिर्जनाको क्षेत्रमा प्रवेश कतिको सजिलो वा अप्ठ्यारो लाग्यो ?
साहित्य मेरो रुचिको विषय भएको हुनाले त्यति अप्ठेरो लागेन । मैले आफूले काममा बिताएको समय बाहेक बाकि पठन र लेखनमै बिताउने प्रयास गर्छु । फरक पेशाबाट आएका सर्जकहरूमा कहिलेकाहीँ सिर्जनाको कर्म मात्रै गरिरहेका लेखक भन्दा भिन्न दृष्टि आउने सम्भावना पनि रहन्छ जस्तो लाग्छ ।
अमेरिकामा बस्नुहुन्छ, किताब नेपालमा छापियो । किताब आएको केही समय लेखक आफू पाठकहरूसँगको प्रत्यक्ष सम्पर्कमा बस्नु, अन्तरक्रिया गर्नु, भेटघाट गर्नु, दुईचार ठाउँ विमर्शका कार्यक्रम गर्नु र अन्तरवार्ता दिनु — किताबलाई चलायमान बनाउनका लागि आवश्यक जस्तै भइसकेको छ । किताब आयो, विमोचन गर्यो र बजारमा पठायो — यसले मात्रै आजको भिडभाडयुक्त साहित्य बजारमा त्यति प्रभावकारी काम गर्दैन । फेरि नयाँ लेखकलाई नामकै भरमा अँगालिहाल्ने खालको बजार पनि छैन । के छ योजना अर्को भोरलाई पाठकसम्म पुर्याउने ?
सबै भन्दा महत्वपूर्ण कुरा , लेखनको गुणवत्ता अनुसारको महत्व ढिलो चाँडो अवश्य आउँछ जस्तो लाग्छ । प्रचार , प्रसारको आफ्नो महत्व अवश्य छ तर त्यो मात्रै सबै कुरा होइन । म अमेरिकामा बस्छ ु। मेरो पेशा व्यवसाय उता छ, यो सत्य हो । यहाँ भएको समयलाई अधिकतम उपयोग गर्ने कोसिस गरिरहेको छु । अहिले डिजिटल माध्यमहरूको पनि प्रशस्त प्रयोग हुन्छ, अमेरिकामै बसेर पनि त्यसको केही उपयोग गर्न सकिएला जस्तो लाग्छ ।
कृतिको अपार सफलताको कामना । अगाडिको साहित्यिक योजना के छ ?
धेरै धन्यवाद । केही कथाका प्लटहरू छन् मनमा, काम गर्न भ्याएको छैन । एउटा उपन्यासको तानाबाना बुन्ने प्रयत्नमा छु । केही फुटकर कविता त अवश्य पनि लेखिने छ ।



















प्रतिक्रिया