स्थानीय सरकारको कार्यकाल अन्तिम चरणमा आइपुगेको छ । नेपालमा ७ सय ५३ वटा पालिका छन् । कतिपय पालिकाहरूले जनतालाई प्रतयक्ष लाभहुने कामहरू गरेर विकासमा लामो फड्को मारेका छन् । जनतालाई सिंहदरबार गाउँमै आएको आभास भएको छ । तर केहि पालिकाहरू भने भौगोलिक विकटताका कारण र जनप्रतिनिधिहरूले पारदर्शी हिसावले काम नगरेका कारण विभिन्न समस्याहरू देखाएर यथा स्थितिमा छन् । पछिल्लो एक महिनादेखि अनलाइनपानाले पालिका सरकारको काम कारवाहीलाई मध्यनजर गरेर यो कार्यकालको परिाणाम निकाल्ने हेतुले पालिका बहस कार्यक्रम मार्फत विभिन्न पालिकाका जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गरिरहेको छ ।
यसै सन्दर्भमा बागमती प्रदेशको राजधानी मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतसँग यो कार्यकालमा सम्पन्न भएका कामहरू र हेटौंडा उपमहानगरपालिकाको समसामयीक विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको संम्पादित अंश :
हेटौंडा उपमहानगरपालिकामा विकासका कामहरू कसरी अगाडि बढाउनुभएको छ ?
हाम्रो हेटौंडा उपमहानगरपालिका २ सय ६१ दशमलब ५ वर्ग किलोमिटरमा फैलिएको छ । साविकको हेटौंडा नगरपालिकामा ५ वटा गाउँपालिकाहरू समावेश गरेर उपमहानगरपालिका बनाएको हो । हामीले खानेपानी, स्वास्थ्य, शिक्षा र यातायात जस्ता पक्षलाई मुख्य महत्व दिएर हामीले काम गरेर ९० प्रतिशत पुरा गरेका छौं । अब बाँकी काम बाटो फराकीलो पार्ने बाहेक अरू काम हामीले गरिसकेका छौं ।
उपमहानगरपालिकाको ठूला गौरवको योजनाहरूमा बस ट्रमिनल बन्दै छ । त्यसमा ४० प्रतिशत काम भैसकेको छ । हेटौंडा अस्पतालमा निशुल्क डाइलासेस सेवा सुरू गरेका छौं । खेल क्षत्रको पुर्वाधारहरू हामीले १९ वटै वडाहरूमा पुर्याएका छौं । त्यसैगरी बहुउद्देशीय भवन बन्दै छ । त्यसैगरी कर्रा करिडोर सुरू गरिसकेका छौं । यी योजनाहरू हुनाले यो कार्यकालमा नै सकिने कुरा भएन । भोलिका दिनमा यो निरनतर विकास भैरहने छ ।
हामीले विदेशबाट कोरोना महामारीको कारणले फर्केका युवाहरूलाई यही व्यवस्थापन गर्न फेरि विदेश जान नपरोस् भनेर विभिन्न आयमुलक कामहरू गर्न पे्ररित गरेका छौं । जस्तै कृषि क्षत्रमा हामीले यान्त्रिकीकरण गरेका छौं । त्यसैगरी बाख्रा पालन, बङ्गुर पालन, गाई पालनमा पनि व्यवसायिक रुपले सुरू भएको छ । यस विषयमा एउटा उदाहरण वडा १८ मा धेरै गाउँले दिदी बहिनीहरू मिलेर सामूहिक रूपमा बङ्गुर पालन गर्नु भएको छ । भर्खरै हामीले त्यहाँको निरीक्षण गरेर आएको हो । त्यसो हुनाले पूर्वाधार विकासमा मात्रै नभएर हामीले रोजगारीको सृजना गर्नका लागि पनि युवाहरूलाई विदेश पलायन हुनबाट रोकन पनि कामहरू अगाडि बढाएका छौं ।
विकास निर्माणका काम त धेरै गर्यौं भन्नुभयो । यो कार्यकालमा उपमहानगरकाका दिन दुःखी र गरिबहरूको समस्या समाधान गर्नुभयो कि गर्नु भएन ?
हामीले उपमहानगरपालिकामा ठुला—ठुला योजनाहरू मात्र होइन, गरिवहरूको पनि समस्याहरू समाधान गरेका छौं । उपमहानगरपालिकामा हामीले कोही पनि बालबालिकाले आर्थिक अभावको कारणले शिक्षाबाट बन्चित हुन नपरोस भनेका छौं । हामीले छात्रावृत्तमा धेरै बजेट छुटाएर अभिभावक नभएका बालबालिका र आयस्रोत नभएका एकल महिलाका बालबालिकाहरूलाई उसले पढ्ने विद्यालय र क्याम्पसमा पैसा पठाएर पढाएका छौं । घर नभएका गरिबहरूलाई घर बनाइदिएका छौंं ।
वडा नम्बर ९ मा परिवार नभएको र घरबारविहीन एक जना आमालाई घर बनाएको २ वर्ष भयो । चौघोडामा एक जना एकल महिलालाई, रातो माटेमा एकजना अपाङ्गलाई घर बनाइरहेका छौं । यसरी हामीले दिनदुःखीहरूलाई पनि सहयोग गरेका छौं । जनप्रतिनिधिले नगरको अभिभावकत्व ग्रहण गरेर हरेक क्षत्र हेर्न पर्छ । नगरमा पुर्वाधार विकाससँगै नगरवासीलाई के कस्तो समस्या छ भनेर पनि हामीले हेरेका छौं ।
कोरोना महामारीलाई यस अगाडि कसरी नियन्त्रण गर्नुभयो र अबको योजना के छ ?
यो कोरोना महामारीले लामो समयदेखि ग्रसित बनाएको छ । हामीले आफैले आइसुलेसन चलाएका छौं । अब पनि फेरि महामारी विकराल रुपमा आउने सम्भावना कायमै रहेकोले हामी स्वास्थ्यकर्मी र इकुप्मेन्टसहित तयारी अवस्थामा छौं । यसमा हामीले विपद वयवस्थापन भनेर बजेट पनि छुटाएका छौं । हामीले मान्छे बाँच्न पाउनु पर्छ भन्ने कुरा पहिलो हो भन्ने बुझेका छौं । पुर्वाधार विकासहरू निरन्तर चल्ने कुरा हो । त्यसो हुनाले हाम्रो नगरवासीको ज्यानको रक्षालाई पहिलो प्रथामिकतामा राखे र हामीले हिँजो पनि तयारी अवस्थामा थियौं । आज पनि तयारी अवस्थामा छौं ।
कोरोना महामारीको नियन्त्रणमा हामीले केन्द्र र प्रदेश सरकारको मुख नताकी आफैँले बजेट विनियोजन गरेर काम सुरू गरेको हो । नेपालको ७ सय ५३ वटा पालिका मध्य हेटौंडा उपमहानगरपालिकाले पहिलो अक्सिजन पलान्ट राख्न सफल भयौं । यसमा उपमहानगरपलिकाले पनि पैसा हाल्न परेन मेरो साथीहरूले यसमा पैसा सहयोग गर्नुभयो । अहिले हेटौंडा अस्पतालका त्यो अक्सिजन पलान्टबाट १८ देखि २० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । पछि उद्योग संघले पनि सुरू गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाले यो कार्यकालमा जनता, संघ सस्थाहरू, प्रदेश सरकार र केन्द्र सरकारबाट के कस्तो साथ सहयोग पाउनुभयो ?
यसमा हामीले आफूले गर्ने व्यवाहार र कर्तव्यमा पनि भर पर्छ । हामीले यो कार्यकालमा सबैबाट राम्रो सहयोग पाएका छौं । विकास निर्माणका काममा कसैले पनि राजनीतिक आग्रह पुर्वाग्रह कसैले गर्नुभएन । सबै राजनीतिक दलहरूले सहयोग गर्नुभएको छ । उपमहानगरपालिकाका कर्मचारी साथीहरूले पनि धेरै सहयोग गर्नुभयो । मेयर, उपमेयर, वडा अध्यक्षहरू र अरू जनप्रतिनिधिहरूमा पनि अत्यन्तै सौहार्दतापूर्ण व्यवाहार भयो । यो कार्यकालभरी हामीमा कुनै किसिमको विवाद भएन् । प्रदेश र संघीय सरकारबाट पनि राम्रो सहयोग रहेको छ । यो कार्यकालमा सबै क्षत्रबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सबैले सहयोग गर्नुभएको छ । म यो अनलाइनपानाबाट नै सबैलाई कृतज्ञता व्यक्त गर्न चाहान्छु र आभारी पनि छु ।
स्रोत साधनको उपभोग र अधिकारको विषयमा केन्द्र र प्रदेश सरकारसँग विवाद भयो कि भएन यो कार्यकालमा ?
स्थानिय तह आफँैमा स्वायत्त संस्था हो । विकास निर्माणको काममा हामीलाई कसैले रोकन मिल्दैन । तर कानुनी झन्झट भने अझै छ । अहिले पनि धेरै कुराहरूको केन्द्र सरकारले बदल्न पर्छ । एउटा उदाहरण म निर्वाचित भएर आउँदा लगाएको ठेक्का अहिलेसम्म ब्याल्क लिस्टमा परेको छैन् । ५ वर्ष बितिसक्दा पनि । ठेकेदारको कानुन अत्यन्तै बदमासी र झन्झटिलो छ । त्यसलाई बदल्न जरूरी छ । हामीले १ करोडभन्दा तलको योजनामा उपभोक्ता मार्फत जान पाउँछौं । यदि सबै योजनाहरू ठेक्का प्रक्रियामा लगाएको भए कहीँ पनि केही पनि बन्ने थिएन् ।
धेरै योजनाहरू हामीले जनतालाई नै जिम्मा दिएकोले यो अवस्थामा पुगेको हो । सबै योजनाहरू ठेक्का प्रक्रियामा गएको भए विकास एकदमै सुस्त हुन्थ्यो । म यो अनलाइनपाना मार्फत केन्द्र सरकारलाई ठेक्काको ऐन कानुन यथासीघ्र फेर्न आग्रह गर्दछु । त्यसैले म फेरि पनि दोहोर्याएर भन्छु साना योजनाहरू उपभोक्ता समितिबाट गर्दा धेरै राम्रो हुन्छ । त्यसैले यो कार्यकालमा मेरो केन्द्र र प्रदेश सरकारसँग कुनै किसिमको विवाद भएको छैन् ।
संघीयता लागु भएपछि गाउँ—गाउँमा सिंहदरबार पुराउने भनियो तर सिंहदरबार मात्र होइन पालिकाहरूमा छोटे राजाहरूको शासन सुरू भयो भन्ने आएको छ । कोरोना महामारीदेखि अन्य विकास निर्माणको बहानामा भ्रष्टचार मौलाएको बाहिर आएको छ । यस विषयमा के भन्नुहुन्छ ?
समग्र स्थानीय तहमा भ्रष्टचार भएको छैन् । कुन स्थानीय तहमा भ्रष्टचार भएको छ, कुनमा अनियमितता भएको छ त्यसमा सम्बन्धित निकायले अनुगमन गर्ने कार्वाही गर्ने गर्न जरुरी छ । त्यसैले सबैमा भ्रष्टचार भयो भन्न पाइन्छ ? तपाइहरूलाई पनि हेटौंडा उपमहानगरपालिकामा आएर बुझनलाई आवहन गछौं । आउनुस् बुझनुस् । एउटा स्थानिय तहले गलत गर्दा सबैलाई मुछ्न मिल्दैन ।
विकासको लागि स्थानिय तह अत्यन्त आवश्यक छ । जहाँसम्म संघीयताको कुरा छ, मेरो यो अनुभवले र मैले जनताको आवज बोल्न चाहान्छु, प्रदेश सरकार कामै छैन । सबै कामहरू केन्द्र र स्थानीय तहले गर्ने हुनाले प्रदेश सरकारको औचित्य देखिएन् । त्यसैले स्थानीय तहलाई बलियो र सक्षम बनाउने । संघ र स्थानिय सरकार भए पुग्छ । नचाहिँदो करहरू थुपारेर प्रदेश सरकारको औचित्य देखिएन् ।
भ्रष्टचारको कुरामा हाम्रो हेटौंडा उपमहानगरपालिकामा सबै खाले कामहरू नियम प्रक्रियामा रहेर भएका छन् । हामीले निरन्तर अनुगमन गरेका छौं । सबै कामहरू सबैसँग छलफल गरेर गर्ने गरेका छौं । सञ्चार माध्यमहरूलाई सधैँ आएर बुझन आवहन गरेका छौं । हाम्रोमा भएका कमिकमजोरीहरू औंल्याइदिनुस् । काम गर्ने क्रममा केही कमिकमजोरी भएका होलान तर नियतबस भएको होइन् । सबै कामहरू पारदर्शी ढंगले भएको छ ।
तपाईँले उपमहानगरपालिकामा गर्नै पर्ने तर गर्न नभ्याउनुभएको कामहरू के—के हुन् ?
मैले निर्वाचित भएर आउँदै गर्दा यो नगरलाई जति सुन्दर र सफा बनाउँछु भनेको थिएँ । त्यो अझै पनि पुरा भएको छैन् । यसमा सबैको साथ आवश्यक छ । हामीले यहाँ फोहोरको व्यवस्थापन ठाउँको अभावले गर्दा गर्न सकेका छैनौं । यस्ता केही कामहरू गर्न बाँकी छन् । तर विकास निरन्तर चल्ने प्रक्रिया हो । १५-१६ वर्ष सम्म स्थानीय निर्वाचन नभएकोले व्यवस्थापन लथालिङग भएको थियो । त्यसमा सुधार्न हामीलाई केही समय लाग्यो । त्यसो हुनाले यो कार्यकालमा चाहेको सबै गर्न सकिएन् । तुलनात्मक हिसाबले अन्यत्र भन्दा राम्रो विकास गरेका छौं । यो मैले भन्दा पनि सबैले देख्ने कुरा हो ।
आगामी स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ जनप्रतिनिधिहरूलाई कसरी बिकास गर्न सुझाब दिनुहुन्छ ?
नयाँ आउने जनप्रतिनिधिहरूलाई म सबैसाग समन्वयकारी भूमिका निभाउन पर्छ भन्छु । सबैको आ—आफ्नो अधिकार, मानसम्मान हुन्छ त्यसलाई पनि सम्मान गर्नु पर्छ । जनप्रतिनिधिलाई जनताले जिताउने हुनाले पहिलो प्रथामिक्ता जनतालाई दिन पर्छ । त्यसैगरी कर्मचारी साथीहरूसँग समन्वय गरेर अगाडि जान पर्छ । जनप्रतिनिधिहरूले सिंहदरबार गाउँगाउँमा पुग्यो भनेर अधिकारको घमण्ड नगरी, अधिकारलाई व्यक्तिगत लाभमा प्रयोग नगर्ने, अधिकारलाई जनता र नगरको पक्षामा प्रयोग गर्ने गर्नु पर्छ । म तपाईँको मिडिया मार्फत भन्न चाहान्छु, नेपालमा राजनीतिको व्यापारीकरण भएको छ । पैसा कमाउने हो भने व्यवसाय गर्नुस् । जनप्रतिनिधिहरूले पैसा ठुलो नमानी जनतालाई सर्वपरी मानेर इमानदारको साथ काम गर्नुपर्छ ।
अन्त्यमा, हेटौंडा उपमहानगरपालिकाका नागरीकलाई के भन्न चाहानुहुन्छ ?
म सबै नगरवासीलाई कृतज्ञता व्यक्त गर्न चाहान्छु । निर्वाचनमा सबै एकातिर लाग्दा पनि मलाई अमुल्य मतदान गरेर जिताउनुभयो । पूरा कार्यकालभरी राम्रो साथ दिनुभयो । सधैँ नगरवासीको साथमा हुनेछु ।



















प्रतिक्रिया