Logo

सम्पादकीय

ओमिक्रोनको झंकार विश्वभर



कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण विभिन्न देशमा पुष्टि भइसकेको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिअन्टलाई त्यहाँका वैज्ञानिकहरूले सम्भावित चिन्ताको विषय मानेका छन् । दर्जनौँ देशमा कोरोनाभाइरसको यो नयाँ प्रकार फैलिसकेको छ । तीमध्ये धेरै देशले यात्रामा प्रतिबन्ध लागु वा कडाइ गर्दै यसको सम्भावित प्रकोपबाट सुरक्षित रहने प्रयास थालेका छन् ।

ओमिक्रोन विश्वभरि फैलिएको कसरी थाहा हुन्छ ?

ओमिक्रोनको आशङ्का गरिएको र नतिजामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको पीसीआर परीक्षणको स्वाब ‘जीनोम सीक्वन्सिङ‘ भनिने पूर्ण आनुवंशिक विश्लेषणका लागि प्रयोगशालामा पठाइन्छ । यसरी गरिएको परीक्षणले केही मानिसहरू वास्तवमै यो नयाँ भेरिअन्टबाट सङ्क्रमित रहेको पुष्टि गरेको छ । भाइरसको आनुवंशिक तत्त्वको प्रयोगशालामा गरिने यस्ता विश्लेषणहरू नयाँ भेरिअन्ट पत्ता लगाउन र तिनले कस्तो व्यवहार गर्छन् भन्ने पहिल्याउन महत्त्वपूर्ण हुन्छन् । यस्तो परीक्षण गर्न दुई साताजति लाग्ने भएकाले ओमिक्रोनबाट भएका धेरै सङ्क्रमणहरू पहिचान भएका छैनन् ।

के हुन् ओमिक्रोनबाट सङ्क्रमण हुँदाका लक्षणहरू ?

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमण हुँदा देखिने लक्षणहरू अन्य भेरिअन्टको सन्दर्भमा भन्दा फरक नभएको जानकारी उपलब्ध नभएको जनाएको छ । यद्यपि खोकी र ज्वरो आउनु तथा स्वाद र गन्ध हराउनु यो भेरिअन्टसँग सम्बन्धित लक्षण हुन सक्छन् । दक्षिण अफ्रिकामा पूर्ण खोप लगाएका मानिसमा पनि ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ ।

उनीहरूमा देखिएका लक्षणहरू सामान्य छन् । दक्षिण अफ्रिकाका अस्पतालहरूमा जटिल लक्षणसहित धेरै वयस्क व्यक्तिहरू भर्ना भएका छन्। तीमध्ये अधिकांश खोप नलगाएका वा खोपको एक मात्रा मात्र लगाएका मानिस छन् । यसले के सङ्केत गर्छ भने पूर्ण मात्रामा खोप लगाउनु र अतिरिक्त ‘बूस्टर’ मात्रा लगाउँदा नयाँ वा उस्तै भेरिअन्टहरूले निम्त्याउने समस्याबाट जोगिन सकिन्छ ।

ओमिक्रोन र अन्य भेरिअन्टबीच कस्तो भिन्नता छ ?

ओमिक्रोन भेरिअन्टमा अहिलेसम्म नदेखिएका र अन्य भेरिअन्टमा भएका उत्परिवर्तहरू देखिएका छन् । तीमध्ये अधिकांश उत्परिवर्तनहरू भाइरसको सतहमा देखिने स्पाइक प्रोटीनमा छन् । अहिले उपलब्ध खोपहरूले स्पाइक प्रोटीनलाई नै लक्षित गर्छन् र अहिलेको मुख्य चुनौती यही हो ।

विशिष्टीकृत परीक्षणहरूमा ओमिक्रोनमा ‘एस–जीन ड्रपआउट’ भनिने आनुवंशिक जानकारी भेटियो जसले यो भेरिअन्ट पत्ता लगाउन सहज हुने देखियो । तर सबै एस–जीन ड्रपआउट भाइरस ओमिक्रोन हुँदैनन्। ओमिक्रोन निर्क्योल गर्न जीन सीक्वन्सिङ नै गर्नुपर्छ ।

ओमिक्रोन कति छिटो फैलिरहेछ ?

यसको उत्तर ‘धेरै छिटो’ हुनसक्छ । र यो पहिले कोभिड अत्यधिक भएर वा धेरै खोप लगाएर प्रतिरोधी क्षमता विकास भएको स्थानमा पनि छिटो फैलिरहेको देखिन्छ । एक महिनाअघि दक्षिण अफ्रिका डेल्टा भेरिअन्टको लहरको अन्त्यतिर थियो र प्रतिदिन औसतमा ३०० नयाँ सङ्क्रमणको हिसाब गरिरहेको थियो । अहिले प्रतिदिन १०,००० भन्दा बढी सङ्क्रमण हुँदै गर्दा ओमिक्रोनले चौथो लहर बनाइरहेको देखिन्छ ।

यसले कति बिरामी बनाउँछ ?

ओमिक्रोनको सङ्क्रमण बढ्यो भने त्यसको अर्थ के हुन्छ ? वैज्ञानिकहरूले पहिलो पटक यो भेरिअन्ट देख्दा उनीहरूको चिन्ता भनेको यसको बनावट थियो। यसमा यति धेरै उत्परिवर्तन भएको थियो कि खोप बनाउँदा देखिएको भाइरसभन्दा यो निकै फरक देखिन्थ्यो र खोपले काम नगर्ने जस्तो थियो । तर अहिले हामीसँग प्रयोगशालामा गरिएका सुरुवाती परीक्षणका नतिजा छन् । त्यसले पूर्ण मात्रा खोप लगाएका मानिसको शरीरमा भाइरसलाई हटाउन सक्ने एन्टीबडीको क्षमतामा २० देखि ४० गुणासम्म ह्रास आउने देखिएको छ ।

प्रयोगशालाका नतिजाभन्दा बाहिरी विश्वमा नतिजा फरक हुनसक्छ तर एन्टीबडी कम हुनुको अर्थ हामीलाई सङ्क्रमण हुनसक्ने सम्भावना धेरै हुनु हो । तर एउटा राम्रो समाचार पनि आयो। फाइजर–बायोएनटेकको परीक्षणले खोपको बुस्टर मात्राले एन्टीबडीमा व्यापक वृद्धि हुने देखिएको छ। यसको अर्थ दुई मात्राले पुराना भेरिअन्टविरुद्ध जति काम गर्थ्यो त्यति काम तीन मात्राले ओमिक्रोनविरुद्ध गर्छ भन्ने हो ।

ओमिक्रोन सङ्क्रमण कति गम्भीर छ ?

ओमिक्रोनको सङ्क्रमण कति गम्भीर हुन्छ भन्ने प्रश्नको अझै स्पष्ट उत्तर छैन । तर दुई मात्रा मात्रै खोप लगाएको भए पनि वा पहिले सङ्क्रमण भएको भए महामारीको सुरुवातमा भन्दा अहिले हामीसँग ओमिक्रोनसँग भिड्ने क्षमता धेरै छ । एन्टीबडी भाइरससँग जुध्ने शरीरको विशाल र जटिल प्रतिरोधी प्रणालीको एउटा अंश मात्रै हो । सङ्क्रमण भएपछि बन्ने टी–कोषले एन्टीबडीभन्दा धेरै भाइरललाई हटाउँछन्। तर यो ओमिक्रोनविरुद्ध कति प्रभावकारी छ भनेर अस्पताल भर्ना भएका मानिसहरूको अध्ययनले मात्रै देखाउन सक्छ ।

अब के हुन्छ त ?

अहिलेका लागि ओमिक्रोन सङ्क्रमणको लहर आउने र खोपले मानिसहरूलाई गम्भीर बिरामी हुनबाट जोगाउने दुवै सम्भावना छ । तर समस्या के हो भने “हामीमध्ये धेरैलाई” यसले गम्भीर असर नगर्नुको अर्थ “हामी सबैलाई” ठिक हुनु होइन । हामीमध्ये कोही कमजोर छौँ, कतिपयसँग प्रतिरोधी क्षमता छैन र कतिपयले खोप पाएकै छैनन् । डेल्टा भेरिअन्टबाट हामी धेरैलाई केही नभए पनि केही मानिसहरू अझै अस्पताल भर्ना भइरहेका छन् । त्यसैले सङ्क्रमणमा ह्वात्तै वृद्धि हुँदा अस्पताल भर्ना हुनेको सङ्ख्या पनि ह्वात्तै बढ्न सक्छ ।

अहिलेसम्म ओमिक्रोनबारे यथेष्ट तथ्याङ्क नभएकोले यसै हुन्छ भन्न सकिन्न । ओमिक्रोन कति छिटो फैलिन्छ वा यसले कति सिकिस्त बिरामी पार्छ वा खोपलाई यसले कति छल्छ भन्ने स्पष्ट कुरा अगाडि छैन । वारविक विश्वविद्यालयका प्राध्यापक माइकल टिल्डेस्ले भन्छन्, “हुनसक्छ कुनै लहर नै आउँदैन वा जोखिम नै नहुने लहर आउँछ वा विध्वंस हुने लहर आउँछ। समस्या के हो भने अहिले ठूलो अन्यौलता छ ।”

प्रकाशित मिति : पुष १३, २०७८ मंगलबार  ३ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।