स्थानिय सरकारको कार्यकाल अन्तिम चरणमा आइपुगेको छ । नेपालमा ७ सय ५३ वटा पालिका छन् । कतिपय पालिकाहरूले जनतालाई प्रतयक्ष लाभहुने कामहरू गरेर विकासमा लामो फट्को मारेका छन् । जनतालाई सिंहदरबार गाउँमै आएको आभास भएको छ । तर केहि पालिकाहरू भने भौगोलीक विकटताका कारण र जनप्रतिनिधिहरूले पारदर्शी हिसाबले काम नगरेका कारण विभिन्न समस्याहरू देखाएर यथा स्थितिमा छन् । पछिल्लो एक महिनादेखि अनलाइनपानाले पालिका सरकारको काम कारवाहीलाई मध्यनजर गरेर यो कार्यकालको परिाणाम निकाल्ने हेतुले पालिका बहस कार्यक्रम मार्फत् विभिन्न पालिकाका जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गरिरहेको छ ।
यसै सन्दर्भमा दुई नम्बर प्रदेशमा स्थित रौतहट जिल्लाको गढीमाई नगरपालिकाका अध्यक्ष श्यामप्रसाद यादवसँग यो कार्यकालमा गढीमाई नगरपालिकाको अवस्था र सम्पन्न भएका कामहरूको विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको संम्पादित अंश :
कोरोना नियन्त्रण कसरी गरिरहनुभएको छ ?
कोरोना महामारी फैलिँदै गर्दा सुरूमा हामीले क्वारेन्टाइनहरूको व्यवस्था गरेका थियो । एउटा आइसुलेसनको पनि व्यवस्था गरिएको थियो । हामीले कोरोना फैलन नदिनको लागि जनचेतना फैलाउन पनि धेरै प्रयासहरू गरेको हो । सबै कामहरू गर्दा गर्दै पनि हाम्रो नगरपालिकामा १३ जनाको कोरोनाको कारणले मृत्यु भयो । यसमा हामी अत्यन्त दुखी छौं । मृत्यु हुने १३ जना मध्यमा १० जना युवाहरूको मृत्यु भएको हो ।
नगरबाट बिरामीहरूलाई विरगञ्ज, भरतपुर र काठमाडौं पठाउनको लागि हामीले दुईवटा एम्बुलेन्सको व्यवस्था गरिएको थियो । फेरि तेस्रो लहर आउने चर्चा परिचर्चा मिडियाबाट आइरहेको छ । यो झन् खतरनाक भनिएको छ । धेरै स्वास्थ्य सम्बन्धी सावधानीहरू अपनाउन जनतालाई यस अगाडि नै थाहा भएको छ । हामीले नगरवासीलाई त्यो भन्दा पनि बढी सर्तकता अपनाउन आग्रह गरिरहेका छौं । अहिले सबै वडाहरूमा सतर्क रहन जनचेतना कार्यक्रम नै चलाइरहेका छौं ।
गढीमाई नगरपालिकामा विकासको गति कसरी अगाडि बढिरहेको छ ?
हामीले केही ठाउँमा खानेपानिको सुविधा पुर्याइसकेका छौं । दुईवटा योजनाहरूको ट्यांकी निर्माण भैरहेको छ । नगरपालिका भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हाम्रो पालिकामा ९ वटा वडाहरू मध्य ४ वटा वडाहरूको वडा कार्यलय भवन बनाइसकेका छौं । ५ वटाको भने निर्माणधिन अवस्थामा छ । ती वडाहरूले भाडामा बसेर काम गरिरहेका छन् । हामीले सबै वडाहरूमा सडक पुराएका छौँ । हामी निर्वाचित भएर आउनु भन्दा पहिले बनेका सडकहरूलाई पनि स्तर उन्नती गरेका छौं । नगरपालिकाका केही सडकहरूमा ग्राबेल गरेका छौैँ भने केहीमा कालोपत्रे नै गरेका छौँ ।
पालिकाको ९ वटा वडा मध्ये ६ वटामा स्वास्थ्य चौकी भवन बनिसकेको छ भने ३ वटामा बन्दै छ । कृषिको विकासका लागि बढि उत्पादन कसरी गर्ने भनेर किसानहरूलाई तालिम दिइरहेका छौं । कृषि सामग्रीहरू वितरण गरेका छौं । सिचाइँको पक्षमा बागमतीको नहर र कुलोले नभेट्ने ठाउँमा बोरिङ स्थापना गरेर गरिरहेका छौं । पालिकाको ६ वटा वडाहरू बागमती नदीको किनारमै पर्छ । त्यहाँ हामीले तटबन्ध गरेका छौं ।
तराईमा शीतलहरले जनतालाई धेरै कष्ट हुन्छ । जनताको नजिकको सरकार तपाईँहरू हो । शीतलहरको समस्या समाधान गर्न के—के गर्दै हुनुहुन्छ ?
हाम्रो अहिले तत्कालै धेरै शीतलहर भएको छैन् । अब पर्न सुरू भएको छ । नगरपालिकामा धेरै गरिब जनताहरू पनि हुनुहुन्छ । उहाँहरूलाई न्यानो लुगा र ओडने लुगाको अभाव हुन्छ । हामीले पालिकाबाट एक टोली बनाएर अनुगमन गर्न लगाउँछौं । मापदण्ड बनाएर सबैको समस्या बुझेर हामीले कपडा वितरण गर्ने गरेका छौं । गत वर्ष पनि हामीले पालिकामा शीतलहरले समस्यामा परेकालाई सहयोग गरेको हो ।
गढीमाई नगरपालिकामा नगरवासी र नगरपालिकाबिचको सम्बन्ध कस्तो छ ?
यहाँ नागरिक र नगरपालिकाबीचको सम्बन्ध एकदमै राम्रो छ । हामीले विकास निर्माणका क्रममा पनि सबैबाट राम्रो सहयोग पाएका छौं । योजना बनाउदा नगरीकको समस्या पहिचान गर्ने र उहाँहरूको राय बमोजिम योजना बनाउने गरेका छौं । नगरबाट जनतालाई गर्नुपर्ने काम कर्तव्यहरू सबै गरेको जस्तो लाग्छ । नगरवासीले पनि हामी जनप्रतिनिधिहरूलाई पूर्ण रूपमै सहयोग गर्नुभएको छ । हाम्रो नगरमा यो कार्यकालमा कुनै किसिमको विवाद आएन । कुनै किसिमको अप्रिय घटना भएको छैन् । त्यसैले हाम्रो गढीमाई नगरपालिकामा जनता र जनप्रतिनिधि बिच धनिष्ट सम्बन्ध छ ।
यो कार्यकालमा केन्द्र र प्रदेश सरकारबाट के—कस्तो सहयोग पाउनुभएको छ ?
केन्द्र सरकारले नियम अनुसारको सहयोग गरिरहेकै छ । प्रदेश सरकारबाट भने खासै सहयोग भएको छैन् । प्रदेश सरकारमा राजनीतिक चलखेल धेरै भएको देखिएको छ । नियम अनुसार दिनै पर्ने बजेट पनि समयमा दिएको छैन । समय सकिएपछि दिएर हामीले काम गर्न सकिँदैन । बजेट फ्रिज हुन्छ । प्रदेशले अरू योजनाहरू ल्याउने कुरा त यस्तै भयो जति दिन पर्ने हो त्यसमा पनि सयमा नहुँदा हामीलाई धेरै गाह्रो भएको छ । केन्द्र सरकारबाट पनि यो कार्यकालमा विशेष योजनाहरू आएनन् ।
नेपालले संघीयताको यो नयाँ अभ्यास गर्यो । तपाईँ पालिका सरकारको प्रमुख भएर काम गर्नुभयो । पालिका सरकार आएदेखि गाउँगाउँमा भ्रष्टचार भयो भन्ने चौतर्फी रूपमा आएको छ । यसमा के भन्नुहुन्छ ?
पालिका सरकार नआउँदा सबै कुराहरू लथालिङ्ग थियो । सडकको अवस्था, विद्यालय त थियो तर व्यवस्थापन राम्रो थिएन्, धेरै विद्यार्थीहरू विद्यालय बाहिर थिए । स्वास्थ्यमा, कृषिमा, खानेपानीमा त्यस्तै थियो । अहिले हाम्रो सरकारले सबै क्षेत्रमा धेरै विकास गरेर अगाडि बढिरहेको छ । पालिका सरकारले गरेको काम देखेर धेरै चकित भएका छन् ।
कसरी गर्यो, कहाँबाट गर्यो भनेर विभिन्न खाले आलेचनाहरू, विना प्रमाणका भ्रष्टचार गरेको भनेर विरोधीहरूले भनिरहेका छन् । हामीले सबै कामहरू नियममा गरेका छौं अनि कहाँबाट भ्रष्टचार हुन्छ । सबै योजनाहरूको हामी अनुगमन गरिरहेका छौं । प्रक्रियागत हिसाबले काम गर्दा भ्रष्टचार हुने गर्दैन । विरोधीहरूले अन्दाजको भरमा हल्ला फैलाएर भ्रष्टचार गरेको भन्ने आएको हो । पालिका सरकार जनतालाई एकदमै आवश्यक छ । हल्लाको पछाडि कोही लाग्न हुँदैन् । पालिका सरकारले गाउँ-गाउँको मुहार फेरेको छ ।
पालिका सरकारको यो पहिलो कार्यकाल सकिँदै छ । यो कार्यकालमा गर्न नभ्याउनुभएको मुख्य कामहरू के—के हो ?
सबैतिर खानेपानीको पहुँच पुराउन बाँकी छ । उच्च माद्यमिक विद्यालयको लागि भवन बन्दै छ । त्यो पनि पूरा गर्न यो कार्यकालमा सकिएन् । अहिले सकिनै लागेको कामहरू धेरै छन् । कोरोनाको तेस्रो लहर आयो भने हाम्रो धेरै कामहरू प्रभावित हुन्छन् । यदि त्यस्तो भएन भने हामीले सुरू गरेको योजनाहरू ७५ प्रतिशत पूरा हुन्छ ।
२५ प्रतिशत काम भने निर्माणधिन अवस्थामा रहन्छ । सडकहरू पनि सबै कालोपत्रे बनाउन बाँकी छ । बागमती नदीले कटान गर्ने ठाउँमा थोकर बनाउने काम बाँकी नै छ । यस हिसाबले हामीले धेरै कामहरू पूरा गर्न बाँकी भए पनि विकासको प्रक्रियाको सुरूवात भने गरेका छौं ।
स्थानीय तहको निर्वाचन नजिक आएको छ । अब गढिमाई नगरपालिकामा नयाँ आउने जनप्रतिनिधिहरूलाई कसरी काम गर्न सल्लाह दिनुहुन्छ ?
हामीले सुरू गरेको कामहरूलाई निरन्तरता दिँदै, विकासमा अझै कसो गर्दा रोम्रो हुन्छ भनेर दिगो विकास गरेर अगाडि बढ्न आग्रह गर्दछु । जनताको माग र आवश्यकतालाई पहिचान गरेर अगाडि बढ्दा नगरको विकास हुन्छ । गर्न पर्ने धेरै कामहरू छन् । तर कामहरूको प्रथामिकताको आधारमा विकास गरेर अगाडि बढ्न आग्रह गर्छु । समयलाई महत्व दिएर जनताको आवश्यक्ताको आधारमा पारर्शी ढंगले विकास गर्न आगामी आउने जनप्रतिनिधिहरूलाई आग्रह गर्न चाहान्छु ।



















प्रतिक्रिया