Logo

अन्तर्वार्ता

विकासका लागि पालिका सरकार अपरिहार्य छ : छिरिङ क्याप्ने लामा [अन्तर्वार्ता]

अध्यक्ष मुगुम कार्मरोंग गाउँपालिका, मुगु



स्थानीय सरकारको कार्यकाल अन्तिम चरणमा आइपुगेको छ । नेपालमा ७ सय ५३ वटा पालिका छन् । कतिपय पालिकाहरूले जनतालाई प्रत्यक्ष लाभ हुने कामहरू गरेर विकासमा लामो फट्को मारेका छन् । जनतालाई सिंहदरबार गाउँमै आएको आभास भएको छ । तर केही पालिकाहरू भने भौगोलिक विकटताका कारण र जनप्रतिनिधिहरूले पारदर्शी हिसाबले काम नगरेका कारण विभिन्न समस्याहरू देखाएर यथास्थितिमा छन् । पछिल्लो एक महिनादेखि अनलाइनपानाले पालिका सरकारको काम कारबाहीलाई मध्यनजर गरेर यो कार्यकालको परिणाम निकाल्ने हेतुले पालिका बहस कार्यक्रम मार्फत् विभिन्न पालिकाका जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गरिरहेको छ ।

यसै सन्दर्भमा मुगु जिल्लाको मुगुम कार्मरोंग गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामासँग यो कार्यकालमा सम्पन्न भएका कामहरू र सबै गतिविधिको विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको संँपादित अंश :

स्थानीय सरकारको कार्यकाल सकिँदैछ । यो कार्यकालमा तपाईँले मुकुमकार्मारोंग गाउँपालिकामा पूरा गर्नुभएको मुख्य—मुख्य कामहरू के—के हो ?

हामीले निर्वाचित भएर आएपछि सम्पन्न गरेका कामहरूमा गाउँपालिका भवन बानाइयो । ९ वटा वडाहरूमा सबैको वडा कार्यलय भवन बनाएका छौं । सबै वडाहरूमा स्वास्थ्य सामुदायिक भवनहरू बनाएका छौं । ७ वटा वडाहरूमा विद्युत पुराएका छौं । पालिकामा विद्यार्थीहरूलाई बस्न र खानाको सुविधा सहितको एउटा आवासीय विद्यालय बनाएर सञ्चालन गरेका छौं । पालिकाभित्र रहेका सबै विद्यालयहरूमा भवनहरू बनाएर व्यवस्थित गरिएको छ । त्यसैगरी खानेपानी, कृषि, पर्यटन लगायतका क्षत्रमा पनि केही विकास गरेका छौं ।

तपाईँको गाउँपालिकामा निर्माणधिन रहेको योजनाहरू के—के हो ?

गाउँपालिकामा सडकले छुनलाई अझै २४ किलोमिटर बाँकी छ । त्यसमा केन्द्र सरकारले गुरू योजना भनेर भनेको थियो । काम एकदमै सुस्त भएको छ । हामीलाई जिम्मेवारी दिएको भए हामी छिटो बनाउने थियौं । गाउँपालिकामा १५ सैँयाको अस्पताल बनाउँदै छौं । त्यसको काम सुरू भएको छ । टेलिफोनको एउटा टावर बन्दै छ । खानेपानीको क्षत्रमा राम्रो पहुँच हुँदा हुँदै पनि एक घर एक धाराको योजना लागु गरेका छौं । त्यसमा काम भैरहेको छ । ५ वटा वडाहरूमा सम्पन्न भएको छ र बाँकीमा काम भैरहेको छ ।

तपाईँले यो कार्यकालमा गर्नै पर्ने तर गर्न नभ्याउनुभएको कामहरू के—के हो ?

हाम्रो पालिकामा नेपालको ४ धाम मध्य छायाँनाथ धाम हाम्रो पालिकामा पर्छ । त्यसलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन सकिएन् । त्यहाँ भवनहरू र खानेपानीहरू बनाउन बाँकी छ । पर्यटकीय बाटोहरू बनाउन पनि बजेट अभावले गर्दा सकिएन् । कृषि र पशुपालनमा पनि धेरै कामहरू गर्न बाँकी नै छ ।

निर्वाचित भएर आउँदै गर्दा लिनुभएको एजेण्डाहरू सबै पुरा गर्नु भयो की भएन् ? यो कार्यकालबाट तपाईँ सन्तुष्ट हुनुहुन्छ ?

निर्वाचनको बेलामा बनाएको घोषणा पत्र अनुसार त सबै कामहरू भएका छैनन् । कोरोना, हिमपात लगायतका समस्याहरूले गर्दा सोच जति काम गर्न सकिएको छैन् । तर अरू गाउँपालिकाको तुलनामा हाम्रो गाउँपालिकामा धेरै विकास भएको छ । पूर्ण रूपमा सबै कामहरू गर्न नसके पनि घोषणा पत्रको आधारमा ७५ प्रतिशत काम भने पुरा गरेको छु । २५ प्रतिशत भने काम भैरहेको छ । स्थानीय सरकार आएदेखि गाउँ—गाउँमा धेरै विकास भएका छन् । हामी मात्रै होइन् जनता पनि धेरै सुन्तुष्ट छन् हाम्रो पालिकामा ।

संघीयताको नयाँ अभ्यासको पहिलो कार्यकाल पूरा गर्दै हुनुहन्छ । यो कार्यकालमा कस्ता चुनौतीहरूको सामाना गर्न प¥यो ?

चुनौतीको कुरा गर्दा यो नयाँ अभ्यास हो । यसैमा पनि कस्तो गर्दा ठिक होला भन्ने हिसावले काम गर्दै आइयो । नयाँ अभ्यासमा केही उल्झनहरू अवश्य आयो । सुरू—सुरूमा कर्मचारीहरूको अभाव थियो । पछि पनि नयाँ कर्मचारीहरूलाई काम गर्न गारो भएको थियो । धेरै पार्टीहरू भएकाले सबै पार्टीहरूको राजनीतिक पुर्वाग्रहले गर्दा पनि केही समस्या आएको थियो । यसका बाबजुध पनि हामीले धेरै कामहरू गरेका छौं ।

यो कार्यकालमा जनता, संघ—संस्थाहरू, केन्द्र सरकार र प्रदेश सरकारबाट साथ र सहयोग कति पाउनुभयो ?

हामीलाई पुरै कार्यकाल जनताबाट पनि राम्रो सहयोग मिलेको छ । विकास गर्ने क्रममा हामीले जनतासँग नै छलफल गरेर साथ सहयोग लिएर अगाडि बढेका छौं । केन्द्र सरकार र प्रदेश सरकारले पनि नियम अनुसार दिन पर्ने भन्दा कुनै अरू विशेष योजनाहरू हाम्रो पालिकामा दिएको छैन् । हाम्रोमा केही भौतिक निर्माणका कामहरू गर्दा ढुवानी नै धेरै लाग्छ । सरकारले जनसंख्या हेरेर बजेट पठाउँछ । त्यसले गर्दा हामीलाई विकास गर्न बजेट अभाव नै मुख्य समस्या हो ।

स्थानीय सरकार आएदेखि गाउँ—गाउँमा भ्रष्टचार मौलाएको छ भन्ने सुनिएको छ । यसमा के भन्नुहुन्छ ?

कोरोना महामारीको बहानामा धेरै पालिकाहरूमा भ्रष्टचार भएको भन्ने सुनिएको छ । नेपालमा ७ सय ५३ वटा पालिका सरकार मध्य कोरोना महामारी नियन्त्रणमा सबै भन्दा कम खर्च गर्न पालिका मुकुमकार्मारोंग गाउँपालिका हो । हामीले कोरोना महामारीको २ वर्षमा जम्मा ५० लाख रुपैयाँ खर्च गरेका छौं । अन्य पालिकाहरूले करोडौं खर्च गरेका छन् । अन्य विकासको कामहरूमा पनि हामीले नियममा बसेर काम गरेका छौं । कुनै पनि क्षत्रमा भ्रष्टाचार भएको छैन् ।

संघीयता नेपालमा आवश्यक छैन् भन्ने आवाजहरू पनि आएका छन् । अहिलेको समयमा विकासको लागि पालिका सरकार अपरिहार्य नै हो ?

पालिका सरकार जनतालाई एकदमै आवश्यक छ । जनताको समस्या समाधान गर्ने नै पालिका सरकार हो । बिहान बेलुका जति बेलापनि जनतालाई आवश्यक पर्ने नै पालिका सरकार हो । काठमाडाँैमा बसेर विकास गर्छु भन्नु मूर्खता हो । यहाँ विकास गर्न यहीँ हुन आवश्यक छ । भन्न त सिंहदरबार गाउँगाउँमा पु¥याउने भनिएको थियो । तर हाम्रो जस्तो विकट पालिकाहरूमा स्रोत साधनको कमिले गर्दा सिङमाथि नै बस्यो दरबार मात्रै गाउँमा आएको जस्तो भएको छ । माथिबाट आएको सीमित बजेटले सबै क्षत्रमा विकास गर्न सकिएको छैन् । यस्ता कुराहरूलाई ध्यान दिन जरूरी छ । तर समृद्ध नेपाल बनाउन पालिका सरकार आवश्यक छ । पालिका सरकार आउन भन्दा पहिले पनि बजेट त आउँथ्यो तर विकास भएको थिएन् । अहिले धेरै गाउँहरूमा राम्रो विकास भएको छ ।

तपाईँको कार्यकाल सकिँदै छ । अब नयाँ आउने जनप्रतिनिधिहरूलाई कसरी काम गर्न सल्लाह दिनुहुन्छ ?

हामीले सडकको लागि सबै डिपिआर बनाइसकेका छौं । सबै क्षत्रमा विकासको क्रम सुरू गरेका छौं । नियम, कानुन, कार्यविधि सबै बनाएका छौं । त्यसो हुनाले त्यसलाई कार्यन्वयन गर्दै अगाडि बढ्न आग्रह गर्न चाहान्छु । जनता हितका लागि कुनै राजनीतिक पूर्वाग्रह नराखी काम गर्न पर्छ । म जनतालाई धन्यावाद दिन चाहान्छु । यो कार्यकालमा मलाई जनताले धेरै साथ दिनुभएको छ ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १५:२०   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।